Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

Friday, August 31, 2012

मध्यरातमा १२ लाखको धनमाल लुटपाट

भक्तपुर, भदौ १५– नचिनेका मानिसको समूहले बिहीबार राती भक्तपुरको दधिकोटमा गोपालप्रसाद पाठकको घरबाट१२ लाख रुपैयाँको धनमाल लुटेको छ । राती १ बजे आएका नकाबधारी ५ जनाले खुकुरी र रड देखाई परिवारका सदस्यलाई नियन्त्रणमा लिएर धनमाल लुटपाट गरेको महानगरीय प्रहरी बृत्त थिमीले जानकारी दिएको छ ।
लुटेरा समूहले पाठकको घरबाट १० तोला सुन, ७ किलो चाँदी, ५ थान मोवाइल र ८० हजार नगद लुटपाट गरेको पीडित परिवारले जानकारी दिएका छन् । लुटेराको बारेमा अनुसन्धान गरी खोजतलास भईरहेको प्रहरी बृत्त थिमीका प्रहरी निरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।

Thursday, August 30, 2012

साउदीमा १३ वर्षदेखि दुई नेपाली कामदार अलपत्र

रियाद । साउदी अरबको पुर्बी क्षेत्रको तारूतमा दुई नेपाली कामदार विगत १३ वर्ष देखि साउदीमै अलपत्र परेका छन् । स्पेस ओभरसिज, बानेश्वरवाट साउदी अरब गएका बिदुर, नुवाकोटका कृष्ण बहादुर तामाङ बिगत १३ बर्षदेखि र गल्फ म्यानपावर, पुल्चोकवाट गएका दर्बाङ­-३, म्याग्दीका बल बहादुरगुरूङ १० बर्षदेखि बन्धक बन्दै आएका छन् । स्वेदेश फर्किने तिब्र चाहना हुंदा हुंदै पनि आंफ्नो कानूनी हैसियत गुमाउन पुग्दा र रोजगारदाता कम्पनीले पनि स्वदेश फिर्ताको प्रकृया नमिलाई दिदा उनीहरूले यस्तो नियति भोग्नु परेको हो ।
अलपत्र दुई नेपाली कामदारले गैरआवासिय नेपाली संघ साउदी अरवसामू आफ्ना व्यथा पोखेपछि एनआरएन साउदीले उद्धाराको पहल थालेको छ । पहल स्वरुप एनआरएन साउदी अरबले संघका तर्फवाट सरकारी कुटनैतिक पहल गरिदिनका लागि नेपाली दूतावास रियादलाई गत १६ अगस्टमा पत्राचार गरेको भएपनि अहिलेसम्म दूतावासले पहल गरेको छैन ।
यसैवीच नेपाली दूतावासका श्रम सहचारी चण्डेश्वरआचार्यले एनआरएनएबाट पीडित कामदारबारे जानकारी पाउने बित्तकै दूतावासले पीडित कादारहरूका रोजगारदातासंग सम्पर्क गरेको र उद्धार प्रकृया शुरू भैसकेको जानकारी दिनुभएको छ । केही समय अघि मोरङ डांगीहाटका होमनाथ बास्कोटा पनि यसैक्षेत्रमा पीडित बनेका थिए र नेपाली दूतावास र एनआरएनए साउदीको सहयोगमा उनको उद्धार भएको हो । म्यानपावर कम्पनीले ७० हजार मात्र क्षतिपुर्ति दिई उम्किन खोजेकोमा अन्ततः होमनाथले पुरै करीब २ लाख क्षतिपूर्ति पाएका थिए ।

सजिलो छैन काम पाउन नेपालीलाई विदेशमा

दोहा । कामको खोजी र केही धन कमाएर परिवारलाई सुखका साथ राख्ने अभिलासा वोकेर विदेशीने नेपालीहरुको संख्या दिनहुँ बढ्दै गएको छ । नेपालको बढ्दो बेरोजगारी, राजनितिक अस्थिरता, बन्द हडताल अनि कसैको लहलहैमा लागेर विदेशीएका नेपालीहरु लाखौको संख्यामा छन् । घरको आर्थिक अवस्था कमजोर तथा परीवारलाई सुखि अनि खुशि पार्न नेपालमा रोजगारीको नमिलेपछि एक लाखभन्दा वढि रुपैयाँमा लगानी गरेर प्रदेशिएका युवाहरु वर्षौसम्म विदेशमै बस्नुपर्ने बाध्यता छ।
कम्पनीले दिनहँु १२-१३ घण्टा काम लगाएपनि २ वर्षको करार अवधि हुने भएकाले दुई वर्ष कटाउनु पर्ने बाध्यता कामदारमा रहेको छ। १० वर्ष यताबाट प्रदेशी जिवन काटिरहेका नुवाकोट-५, लातेवाजका राजकुमार श्रेष्ठ नेपालमा छदा सुपादेउराली टुर एण्ड ट्राभ्सलमा सहचालकको रुपमा काम गरेका श्रेष्ठ दिल्लीमा केहि वर्ष र अहिले कतारमा ५१ महिना काटिसकेका छन्।
देशमा बढदो बेरोजगारी र राजनिति खिचातानि र बन्द हडतालले गर्दा जिविको पार्जन गर्न नसकेपछि उनी विदेशीएका हुन् । कतारको एक कम्पनिमा इलेक्ट्रीसियनको हेल्परमा आएका श्रेष्ठ अहिले काम जानेर इलेक्ट्रीसियन काम गर्दै छन् । मासिक १२ सय रियल तलब बुझ्दै आएपनि उनी शुी हुन सकेका छैन्न । यहाँ आएर काम सिकेको र कतारको ड्राईभर लाईसेन समेत निकालेको उनले बताए। कम्पनिले ड्राईभरको काम दिएको छैन अब घर फर्किएर अन्य देशमा जाने विचार गरेको छुँ, उनले भने ।
उनी भन्छन्,’प्रदेशमा कमाउन आएको हो यति थोरै पारिश्रमिकमा काम गर्न जागर छैन। कतिले हातमा सिप नभएर मासिक ७-८ सयमा पनि काम गरेका छन् आफुले शिप जानेर पनि काम पाएको छैन्। अब घर फर्किने विचार गरेको छु। हेरौ कम्पनिले ड्राईभर काम नदिए छिट्टै नेपाल फर्किने श्रेष्ठले बताए। श्रेष्ठ मात्र नभई धेरै नेपालीहरु विदेशमा भनेको काम र दाम नपाएर पनि बसेका छन्। एक लाख भन्दावढि लगानी विदेशीएर दैनिक १२-१३ घण्टा काम गर्दा नेपालीहरुको हालत कस्तो होला? त्यस्तै अर्का एक पोखराका बावुराम सुवेदी पनि दुई वर्ष पहिले कतार आएका हुन् । सुवेदी अहिले घर जान भनि दुई महिना यताबाट कोठामा बसिरहेका रहेछन्। तर कम्पनिले भने आज दुई महिना बितिसक्दा पनि घर पठाएको छैन्। उनी भन्छन घर जान भनि बसेको छुँ, कम्पनिमा कहिले पठाउँछस मलाई घर भन्दा भोली पर्सि भन्दै दुई महिना बितिसक्यो यहाँ बसेको पैसा पनि दिदैन न त घरपठाउँछ, उनले भने । यो कम्पनिले म मात्र नभई अन्य साथिहरुलाई पनि दुई तीन महिना बसालेर मात्र घर पठाएको थियो, उनीले गुनासो गर्दै भने ।
मलाई कहिले पठाउने हो दुई वर्षको करार अवधि पुरा गरेर पनि घरमा जानु छैन घरको धेरै याद आएको र अब कहिल्यै विदेश नफर्किने उनले वताए । यसोत प्रवासमा कति त लुकेर बसेका छन् भने कोही त जेल नै चलान भएका छन् ।

Thursday, August 23, 2012

सहमति गर्न नसक्ने प्रमलाई राष्ट्रपतिले घोक्र्याएर निकाल्नुपर्छः बिजुक्छे

काठमाडौ, भदौ ७ (नागरिक)- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले राष्ट्रपति रामवरण यादवले प्रधानमन्त्री बाबुराम भट्टराईलाई बर्खास्त गरेर आफ्नै नेतृत्वमा सरकार गठन गरेर मुलुकलाई निकास दिनु पर्ने बताएका छन्।
रिपोर्टर्स क्लबका पत्रकारहरुको टोलीसँग कुरा गर्दै बिजुक्छेले तत्काल दलहरुसँग छलफल गरेर राष्ट्रपतिले आफ्नै नेतृत्वमा सरकार गठन गर्नु पर्ने धारणा राखे।
अहिले समन्वयकारी शक्तीको रुपमा मुलुकमा मिटिङ प्वाइन्ट राष्ट्रपति रहेकोले सहमति गर्न नसक्ने प्रधानमन्त्रीलाई घोक्र्याएर निकाल्नु पर्ने उनले बताए। अटेर गर्दै सत्तामा टाँसिएर बसिरहेका प्रधानमन्त्रीलाई पद छाड्न बाध्य बनाउन सन्चारमाध्यम र कर्मचारीहरुले बहिस्कार गर्नु पर्ने तर्क गरे।
उनले भने-'राष्ट्रपति यसरी चुप लागेर बस्न मिल्दैन। अब कदम चाल्नु पर्छ।'
उनले संविधानसभा विघटन गराएरअध्यादेशबाट शासन सञ्चालन गरी सत्ता कब्जा गर्ने रणनीतिका साथ माओवादी आगाडि बढेको दावी गर्दै राष्ट्रपतिले चुप नलागी हस्तक्षेप गर्नु पर्ने बताए।

पङ्खा जोड्न लाग्दा करेन्ट लागेर मृत्यु

रुपन्देहीको बसन्तपुर-८ बालापुर बस्ने २६ वर्षीय रामवचन नाउ आज मध्याह्न आफ्नै घरमा पंखा जोड्न लाग्दा अचानक करेन्ट लागी मृत्यु भएको छ।
करेन्टको झट्का लागेर घाइते भएका नाउलाई उपचारको लागि भीम अस्पताल भैरहवातर्फ लैजाँदै गर्दा बाटोमै मृत्युभएको प्रहरीले बताएको छ।
त्यसैगरी रुकुमको हुकाम-४ बस्ने १९ वर्षकी पम्फा घर्ती सदरमुकाम जाने क्रममा ढुंगाले लागी घाइते भएकी छिन्। स्यालपाखा-९ स्थित काउछेको भीरमा माथिबाट खसेकोढुंगाले लागेर उनका तीन वर्षका छोरा उमेश घर्तीको घटनास्थलमै मृत्यु भएको छ।
पम्फालाई भने गम्भीर घाइते अवस्थामा जिल्ला अस्पताल रुकुम लगिएको छ।

मिस नेपालले यसरी सुनाइन्चीन अनुभव (भिडियोसहित)

काठमाडौं, भदौ ७ (नागरिक)- मिस वर्ल्ड २०१२ मा नेपालको प्रतिनिधित्‍व गर्दै चीन पुगेकी मिस नेपाल सृष्टि श्रेष्ठ काठमाडौं फर्केकी छन्। प्रतियोगितामा टप ३० र 'बिच ब्युटी'को टप टेनमा परेकी उनले मिस वर्ल्डमा सहभागी भएर आफूले धेरै कुरा सिकेको अनुभव सुनाइन्। प्रतियोगितका दौरान सहयोग गर्ने साथीभाइ, परिवार र सम्पूर्ण फ्यानलाई उनले धन्यवादसमेत दिइन्। श्रेष्ठसँग नागरिकन्युज ले गरेको कुराकानी हेर्नुस् :
भिडियो हेर्नुस् :http://www.nagariknews.com/ent/movies/45163-2012-08-23-10-54-53.html

Wednesday, August 15, 2012

के गर्दैछन् भ्रष्टाचारी खुमबहादुर ?

३१ साउन, काठमाडौं । जाने बेला भएको मान्छे सिद्धियो भने उसका आफन्त, परिवार, छरछिमेकी तथा शुभचिन्तकले एकछिन शोक मनाउँछन् । कति रुवाबासी गर्छन् । कति न्याउरो अनुहार मात्र लगाएर शोक प्रकट गर्छन् । पछि विस्तारै सबैले आफूलाई सम्हाल्छन् । जाने बेला भएको थियो, गयो भनेर चित्तबुझाउँछन् । पूर्वमन्त्री एवं कांग्रेस नेता खुमबहादुर खड्काको भ्रष्टाचार प्रकरणमा पनि झण्डै यस्तै भएको छ ।
यसअघि चिरञ्जीवि वाग्ले, गोविन्दराज जोशी, जयप्रकाशप्रसाद गुप्ताको जस्तै हालत खड्काको पनि हुन्छभन्ने कुरा सबैलाई राम्रैसित थाहा थियो । स्वयं खड्का र उनको परिवार पनि सर्वोच्चको फैसला विपक्षमै आउँछ भन्ने मनस्थितिमा थिए । तर फैसलालाईप्रभावित पार्न सकिन्छ कि भनेर खड्काले ठूलै हल्लीखल्ली गरे । समर्थकलाई सडकमा उफारे । सर्वोच्चको फैसला लगत्तै उनका समर्थकले सर्वोच्च आसपासको सडकमा रमिता पनि देखाए । सर्वोच्चको बिरोध गरे । खड्काको समर्थनमा जिन्दावादको नारा घन्काए । समर्थक र कार्यकर्ता मात्रै होइन, कांग्रेसका नेता कार्यकर्ता पनि सर्वोच्चको फैसलाप्रति आक्रोशित भए । अदालतले कांग्रेसलाई मात्र हेप्छ भन्दै केटाकेटी कुरा गरे । खड्काको गृहजिल्ला दाङमा बुधबार बिहान उनका समर्थकले केहीबेर बन्द गर्ने प्रयास पनि गरे । तर एकछिन उफ्रेपछि उनीहरुको रहर पुग्यो ।
ढिलोचाँडो खोरतिर जानुपर्ने खड्का अब जानेभए भनेर उनका समर्थकले पनि चित्त बुझाउन थालेका छन् । मान्छे मरेपछिको एकछिनको रुवाबासी झैं खड्का समर्थकहरुको आक्रोश र चिन्ता पनि मत्थर हुन थालेको छ ।
समर्थकहरुको साथ त विस्तारै घट्न थालेको छ । तर, सुरक्षाकर्मीको साथ चाहिं हटेको छैन । पूर्व गृहमन्त्रीको हैसियतमा खड्काले अझै सुरक्षा लिइरहेका छन् । उनको निवासमा खटिएका सुरक्षाकर्मी फिर्ता भएका छन् । दुईजना असई सहित झण्डै आधी दर्जन प्रहरी खड्काको सुरक्षामा पहिलेदेखि नै खटिँदै आएका छन् ।
खड्का परामर्शमै
सर्वोच्चको फैसला आज आउँछ भनेर खड्कालाई मंगलबार बिहानदेखि नै छटपटी थियो । व्यापक बिरोध गर्नु भनेर उनले समर्थकलाई अह्राउँदैथिए । ललितपुर सानेपामा रहेको उनको घरमा मान्छेको आऊजाऊ मंगलबारदेखि नै शुरु भयो । दिउँसोसम्म त्यहाँ पुगेकाले उनलाई चिन्ता नलिन भने । कसैकसैले त हाम्रै पक्षमा फैसला आउँछ भनेर पनि शान्त पार्न खोजे । जब फैसला खड्का बिरुद्ध आयो, कोही आक्रोशित भए । कोही निराश । सर्वोच्च आसपासमा भएका एकछिन उफ्रे । खड्काको घरमा भएकाले सान्त्वना दिन थाले । मान्छे मरेको घरमा परिवारका अरुलाई सान्त्वना दिन गए झैं कांग्रेसका नेता, कार्यकर्ता मंगलबार बेलुकादेखि नै खड्का निवासमा आइजाई गर्न थाले । यो क्रमले बुधबार पनि निरन्तरता पाएको छ ।
सर्वोच्चको फैसलालाई अन्यायपूर्ण भनेका खड्काले फैसला अध्ययन गरेपछि मात्र थप प्रतिकृया दिने बताएका छन् । उनले सर्वोच्चमा पुगेर आत्मसमर्पण गर्ने तयारी त गरेका छन् । तर कहिले भन्ने टुंगो लागेको छैन । ‘उहाँ अझै छलफल र परामर्शमा हुनुहुन्छ’ खड्काका एक सहयोगीले बताए । कांग्रेसका शेरबहादुर देउवा लगायतका नेता निवासमै पुगेर खड्कासित छलफल गरिरहेका छन् । धेरैले सर्वोच्चको फैसलालाई सम्मान गर्दै अदालतमा उपस्थित हुन भनेका छन् । तर सर्वोच्चले आफ्नो पार्टीकालाई मात्र निशाना बनायो भन्ने चाहिं उनीहरुको गुनासो र आरोप छ ।
सहकर्मी र समर्थकको कुराले खड्का कहिले उत्साही र कहिले निराश जस्ता देखिन्छन् । ‘खड्काजी अहिले निकै निराश हुनुहुन्छ, बोल्न तयार हुनुहुन्न’ हाम्रो जिज्ञासामा उनका सहयोगीले भने ।

Tuesday, August 14, 2012

९ वर्षीया बालिका बलात्कृत

महेश्वर चामलिङ राई, कटारी (उदयपुर), साउन ३०- एक ६५ वर्षीय वृद्ध स्थानीय ९ वर्षीया बालिकालाई बलात्कार गरेर फरार भएका छन्। सिन्धुलीको ककरुठाकुर गाविस ८ का मानबहादुर तामाङले गाउँकै बालिका प्रीतिकला राई (नाम परिवर्तन)लाई घरमै बलात्कार गरेर फरार भएको प्रहरीले जनाएको छ।
घट्ना १८ दिनअघि घटेको भएपनि सार्वजनिक भने भर्खरै भएको हो। दैनिक ज्यालामजदुरी गरेर परिवार चलाउने बाबुआमा दाउरा बेच्न कटारी बजार आएको मौका पारेर बालिकालाई घरमै डरधम्की दिएर बलात्कार गरी गम्भीर घाईते बनाएको पीडित परिवारले जनाएको छ। घट्नापछि कसैलाई नभन्न पनि पीडकले धम्की दिएका थिए। धम्कीका कारण पीडितले बाबुआमा र छिमेकका कसैलाई पनि सातादिनसम्म घट्ना गोप्य नै राखेकी थिईन्। स्थानीय नमूना क्लवका केही सदस्यले यसको जानकारी पाएपछि घट्नाको रहस्य खुलेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। इप्रका प्रमुख निरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार अत्यन्तै गरिब परिवारकी पीडितका बाबु कृष्ण र आमा समिता दिनहु जंगलबाट दाउरा संकलन गरी बेच्न तीनघण्टा लामो पैदल यात्रा गर्दै कटारी बजार आउने गरेका छन्। आर्थिक अवस्था कमजोर भएकैले जंगल गएर घण्टौसम्म दाउरा संकलन गर्नु र बजार लगेर बेच्नु नै पीडित परिवारको जिविकोपार्जनको मुख्य आधार हो।
त्यही दाउरा बेच्न गएको मौका पारेर तामाङले छोरीमाथि राक्षसी व्यवहार देखाएको बाबु कृष्णलेबताए। स्थानीयका अनुसार धम्कीले डराएर आफ्नो पीडा कसैलाई नबताए पनि दिनदिनै झोक्राउने, नबोल्ने र विरामी परेजस्तो गर्न थालेपछि साथीसँगीले सोधखोज गर्दा घट्नाबारे जानकारी पाएका हुन्। तर, घट्नाको जानकारी पाए पनि पीडकका छोरा जददिशलगायत तामाङ परिवारले उल्टै घट्नाबारे कुरा नफैलाउन पीडित परिवार र गाउँलेलाई दबाब दिदै आएका थिए। यस्तो कुरा थाहा पाएपछि पीडितलाई उपचार र पीडकलाई कारबाहीका लागि प्रक्रिया अघि बढाएको नमूना क्लवका अध्यक्ष गणेश कार्कीले बताए।
पीडित विरामी हुँदै गएपछि भने क्लवकै अगुवाईमा घट्नालाई प्रहरीसम्म पुर्‍याउन र पीडितको उपचारगर्ने तारतम्य क्लवबाट मिलाएको कार्कीले बताए। बलात्कारका कारण गहिरो गरी च्यातिएको पीडितको योनीको घाउमा इन्फेक्सन भएर अहिले गम्भीर विरामी परेकी छिन्। उनलाई क्लवले कटारी ल्याएर पहिले सगरमाथा हस्पीटलमा उपचारार्थ सोमबार विहान भर्ना गरेको थियो। तर, उपचार खर्च महँगो लाग्ने भएपछि विरामीलाई हाल सरकारीस्तरको कटारीअस्पतालमा स्थानान्तरण गरेर उपचार गर्न थालिएकोछ।
घट्ना सार्वजनिक भएको थाहा पाएलगत्तै पीडक तामाङ फरार भएको गाउँलेले बताएका छन्। अहिले छोरीको उपचारका लागि पीडितका बाउआमा लिएर क्लवले अग्रसरता देखाउको आमा सविताले बताइन्। पीडितका मावली हजुरबुबामार्फत तीनहजार रकम दिएरघट्ना साम्य पार्ने प्रयास तामाङ परिवारले गरेको थाहा पाएपछि प्रहरीमा खवर गरेको क्लवका सचिव नारायण न्यौपानेले बताए। गरिब दुखी भनेर हेप्नु हेपेको बताउँदै सविताले सहयोग गर्ने क्लवलाई धन्यवाद दिदै भनिन् 'गाउँमा क्लव भएकाले छोरीको उपचारसम्म हुने आस लागेको छ।' उनले बलात्कारीलाई हदैसम्मको कारबाही गर्न माग पनि गरेकी छिन्।
बालिकाको स्वास्थ्य परीक्षण गरी त्यसको प्रतिबेदन सिन्धुली प्रहरीलाई पठाइदिएको तथा बालिकाको कटारीमै उपचार भइरहेको निरीक्षक फुयालले बताएका छन्।
http://www.nagariknews.com/society/nation/44703-2012-08-13-14-12-35.html

Saturday, August 11, 2012

यातायात व्यवसायीको बन्द फिर्ता

२७ साउन, काठमाडौं । आन्दोलनरत् यातायात व्यवसायी र सरकारबीच आज भएको वार्ता सहमतिमा पुगेपछि भोलिदेखि सार्वजनिक सवारीका साधन पूर्ववतरुपमा सञ्चालनमा आउने भएका छन् ।
सिंहदरबारस्थित भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालयमा आज झण्डै छ घण्टा चलेको वार्तामा दुवै पक्ष एकअर्काका मागप्रति सकारात्मक बनेको र दुई दिनदेखि बन्द रहेको सार्वजनिक सवारीका साधन भोलिदेखि सञ्चालनमा आउने भएका हुन् ।
यातायात व्यवसायी र सरकारबीच विगतमा भएका सहमति कार्यान्वयन गर्ने, छुट्टै यातायात मन्त्रालय गठन गर्न र ट्राफिक प्रहरीलाई ‘ठाउँको ठाउँ’ सवारीसाधनमाथि कारबाही गर्ने अधिकारका विषयमा छुट्ट्रै कार्यदल बनाइ अगाडि बढ्ने, यातायात व्यवसायलाई उद्योगका रुपमा स्थापित गर्ने, सुरक्षित यातायात व्यवस्था प्रत्याभूत गर्ने र बीमाको व्यवस्था गर्ने लगायतका १५ बुँदे मागप्रति सरकार सहमत भएपछि आन्दोलन स्थगित गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डोलराज खनालले जानकारी दिनुभयो ।
यसअघि दुई चरणमा भएका वार्ता सहमतिमा पुग्न नसक्दा शुक्रबार र शनिबार सार्वजनिक सवारी साधन चल्न सकेका थिएनन् ।
वार्तामा मन्त्रालयका तर्फबाट सचिव तुलसी सिटौला समेतका सरकारी अधिकारी र महासङ्घका पदाधिकारीहरुको सहभागिता थियो ।

विदेश पठाउने भन्दै डेढ करोड ठगी

काठमाडौ, श्रावण २७ - अमेरिका, क्यानाडा र नर्वे पठाएर जागिरसमेत दिने लोभ देखाउँदैराजधानीको एक शैक्षिक परामर्शदाता संस्थाले ४४ युवाबाट १ करोड ५५ लाख रुपैयाँ ठगी गरेको छ । शैक्षिक परामर्श गर्ने संस्थालाई वैदेशिक रोजगारका लागि कामदार पठाउन इजाजत हुँदैन ।
नक्साल नागरोडस्थित ग्लोबल पार्टनरसीप प्रालिका सञ्चालक जोडी महेन्द्र भट्टराई, उनकी श्रीमती आशिषा थापा, सोही संस्थाका लेखापाल नवीन पराजुली नाम बताउने गणेशबहादुर पराजुलीले ती युवालाई ठगेका हुन् । पीडितहरूको उजुरीका आधारमा प्रहरीले पराजुलीलाई पक्राउ गरेको छ । जोडी फरार छन् ।
तिनीहरूले ३ वर्षदेखि विभिन्न भिसामा अमेरिका, क्यानडा, नर्वेलगायतका देश पठाएर कामसमेत दिने भन्दै लोभ्याको पीडितहरूले बताए । 'कल्चरल एक्चेन्ज प्रोग्रामअन्तर्गत ४५ दिनमै अमेरिका पठाइदिन्छु भनेपछि मैले तत्काल ३ लाख ५० हजार दिएँ,' स्नातक अध्ययनरत बौद्ध निवासी पासाङ खेल्दु लामाले कान्तिपुरलाई भनिन्, 'केको अमेरिका पठाइदिनु ? अहिले मोबाइल पनि उठ्दैन ।'
लामाले आफू र आफ्नी दिदी (ठूलोबुवाकी छोरी) कारसाङ लामाले ग्वोबलकी आशिषा थापालाई ३ लाख र साढे ३ लाख बुझाएको बताइन् । अर्की पीडित सिन्धुली भद्रकालीले निर्मला कार्कीले आफूलगायत ७जनालाई नर्वेमा 'चाइल्ड केयर' का लागि पठाइदिने भनेर आशिषाले नै पैसा लिएको दाबी गरिन् । '३/४ लाख रुपैयाँ लाग्छ भनेकोमा मैले ६७ हजार ५ सय र अरूले १ लाख २५ हजारका दरले पेस्की बुझाएका थिए,' उनले भनिन् ।
सबैभन्दा बढी ठगिनेमा क्यानडा जाने सपना देख्ने परीक्षा घिमिरे देखिएको विभागका एक अधिकारीले बताए । 'घमिरेले २३ लाख बुझाएको पाइयो,' विभागका अनुसन्धान अधिकृत बाबुराम पाण्डेले भने, 'श्रीमान् क्यानडा भएकाले श्रीमती र छोरालाई पठाइदिने भनेपछि रकम दिएको देखिन्छ । पैसा दिँदा पनि परिवार नआएपछि परीक्षाका श्रीमान् केशवले आएर उजुरी दिएको पनि पाण्डेले जनाए ।
पीडितहरूको उजुरीका आधारमा प्रहरीले गणेशलाई कार्यालयका सामान, ल्यापटप र कागजात लिएर भाग्दै गरेको अवस्थामा असार २७ गते पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेका पराजुलीलाई प्रहरीले जिल्ला सरकारी वकिलकार्यालयमा पठाएको थियो । वैदेशिक रोजगार ठगी मुद्दा भएकाले यसलाई विभागले शुक्रबार न्यायाधिकरणमा पेस गरेको छ । विभागले सञ्चालक जोडी र लेखापाल पराजुलीबाट ठगिएको बिगो र त्यसको ५० प्रतिशत हर्जनासहित कुल २ करोड ३३ लाख ८ हजार रुपैयाँ पीडितलाई भराइदिन न्यायाधिकरणमा मुद्दा दर्ता गरेको छ । उनीहरू तीनै जना आँपपीपल-१, गोरखा निवासी हुन् ।
पराजुलीले विभागलाई दिएको बयानअनुसार आफू संस्थाको कर्मचारी भएकाले कहिलेकाहीं रसिद काट्ने गरेको स्वीकार्दै सञ्चालक भट्टराई र थापाले मानिसहरूलाई स्टुडेन्ट प्रोगामअन्तर्गत पठाउने भनेर रकम उठाउने गरेको बताएका छन् । विभागले भट्टराई र थापाको नाममा रहेको बैंक खाता र जग्गा जमिन रोक्काका लागि पत्राचार गरिसकेको छ । भट्टराईको नाममा किस्ट बैंकमा खाता भेटिएको छ भने जग्गा जमिनको विवरण दिइएको छैन । कान्तिपुरलाई प्राप्त सञ्चालक दुवैको मोबाइल नम्बरमा सम्पर्क हुन सक्दैन । विदेश पठाएर काम लगाइदिने भन्ने उक्त संस्थाले कामदार पठाउने इजाजत नपाएकाले मिसिलसहित अभियोग पेस गरेको विभागले जनाएको छ । 'अर्कै कामका लागि खोलिएको संस्थालेवैदेशिक रोजगार व्यवसाय गर्नपाउँदैन,' विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले भने, 'हामीले हदैसम्मको माग दाबीसहित मुद्दा दायर गरेका छौं ।' ठगी गर्नेलाई ७ वर्षको कैद सजाय छ । विभागले ठगीमा दायर गरेको यो महिनाको सबैभन्दा ठूलो रकमको मुद्दा यही हो ।

चौबीस दिनमा २४ दुर्घटना, ३०को मृत्यु

२७ साउन, गजुरी । चालकको लापरबाही र लामो दूरीमा एकमात्र सवारी चालकको व्यवस्था गर्ने गर्दा राजमार्गमा दिनानुदिन दुर्घटना बढ्दै गएको छ । पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको धादिङखण्डमा साउन २५गतेसम्म मात्र १४ वटा सानाठूला दुर्घटना भएका छन् । दुर्घटना परी ३० जनाले ज्यान गुमाइसकेको र ५० भन्दा बढी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
राजमार्गमा अत्यधिक सवारीको चाप, तीव्र गति, भत्केको सडक दुर्घटनाको मुख्य कारण बन्न पुगेको छ । साँघुरो सडक, घुमाउरा मोड त्यसमा पनि उत्तेजितप्रकारका होर्डिङबोर्ड राखिनु पनि दुर्घटनाको अर्काे कारण हो । सडकको बिग्रँदो अवस्था, सवारी साधन पुरानो हुनु, रात्रिकालीन र लामो दूरीमा गुड्ने सवारीमा एकजना मात्र चालक हुनुजस्ता कारणले पनि सवारी दुर्घटना बढेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक विनोद घिमिरेको भनाइ छ ।
चालकको लापरबाहीका कारण पनि दैनिकजसो दुर्घटना हुने गरेको छ । चालकलाई उचित मात्रामा तालिम नदिनु र सडकको बिग्रदो अवस्थालाई बेलैमा मर्मत नगरिनु सवारी दुर्घटनाको अर्को कारण रहेको जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रमुख एवम् प्रहरी निरीक्षक हेमन्त थापा बताउनुहुन्छ । नदीका किनारबाट सडक निर्माण भएको र सडकका छेउमा प्याराफिट र ग्याबीन नराखिनाले दुर्घटना बढी भएको उहाँको भनाइ छ ।
राजमार्गको छेउबाट कच्ची सडक निर्माण तथा ठूला मोड र तीव्र गतिले गर्दा वषर्ायाममा बढी दुर्घटना हुने गरेको स्थानीयवासी बताउँछन् । त्रिभुवन राजपथको पिपलमोडदेखि नौबिसे र पृथ्वी राजमार्गको नौबिसेदेखि मौवाखोलासम्मको ८४ किलोमिटरभित्र गत आवमा ६३ वटा सवारी दुर्घटना भएको थियो । दुर्घटनामा चार बालक, चार बालिका, आठ महिला र ३६ पुरुष गरी ५२ जनाले ज्यान गुमाएका थिए । सानाठूला गरी भएका यस्ता दुर्घटनामा ९५ जना गम्भीर घाइते र ७९ जना सामान्य घाइते भएका थिए ।
सवारी दुर्घटना बढ्दै गर्दा कोसोक नेपालले राजमार्ग क्षेत्रमा राजमार्ग स्वयम्सेवकको परिचालन गर्दै आकस्मिक उद्धारका लागि सहयोग पुर्‍याउँदै आएको र दुर्घटनापछि प्राथमिक उपचारर उद्धारमा सहयोग गरेको कोसोक नेपालका प्रताप खरेलले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पनि विशेष अभियान सञ्चालन गर्ने बताए पनि कार्यक्रम गर्नका लागि केही समय लाग्ने कार्यालयका प्रहरी निरीक्षक थापाको भनाइ छ । रासस

Friday, August 10, 2012

कामदार सप्लायरबाट तलब उठाउनै धौ-धौ

दोहा (कतार), श्रावण २६ - काममा लगाउने नेपाली सप्लायरबाट महिनौ काम गरेको तलब नपाएपछि ५० जना नेपाली कामदारको जीवनयापन कठिन बनेको छ ।
उनीहरूलाई नेपाली व्यवसायी सरोज पुडासैनीले एउटा सुरक्षा कम्पनीलाई सप्लाई गरी तलब नदिएका हुन् । तलब माग्न आफूहरूले निकै 'शारीरिक र मानसिक तनाब' झेल्नु परेको उनीहरूले बताए । आफूहरू 'भोकभोकै' न्याय खोज्दै हिँडेको उनीहरूले उल्लेख गरे । 'हामीले तलब त पाएनौं । तलब लिन खेपेका यातना, सास्तीको मूल्य छैन,' पीडितमध्येकाएक नेपालगन्जका प्रेमबहादुर रानाले भने ।
तलब दिलाइदिन ती कामदारले महिनाअघि नै यहाँस्थित नेपाली दूतावासमा उजुरीसमेत हालेका थिए । दूतावासको भूमिका प्रभावकारी नभएको भन्दै गैरआवासीय नेपाली संघ, कतारका अध्यक्ष अमृत गुरुङको नेतृत्वमा एक टोली बुधबारसमेत दूतावास पुगेको थियो । टोलीले पीडक 'नेपाली' भएकै आधारमा छुट नदिन दूतावासको ध्यानाकर्षण गरेको छ ।
राजदूत मायाकुमारी शर्माले व्यवसायी पुडासैनीले आफूलाई समेत झुक्याएको उल्लेख गर्दैअब सार्वजनिक सूचना जारी गर्न लागेको बताइन् । 'सुरुमा दूतावाससँग समय मागेको थिएँ । तर त्यो समयभित्र तलब दिनुको सट्टा दूतावासलाई झुक्याउने काम गरे,' उनले भनिन्, 'आज गर्छु, भोलि गर्छु भन्दै दूतावासँगसमेत खेल्नेले कामदारसँग कति खेल्यो होला ?' केही दिनभित्रै तलब नदिए कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने राजदूत शर्माले बताइन् ।
दूतावाससँग पीडकहरू नडराएकोमा एनआरएनका दीपक पुडासैनीले आश्चार्य प्रकट गरे । 'यस्तो हैसियतमा कसरी प्राप्त भयो ?' उनले भने, 'पहिला यस्तो थिएन ।'
पीडित कामदारको बस्ने ठाउँसमेत छैन । आफूहरूले २ देखि ६ महिनासम्मको तलब नपाएको उनीहरूले दूतावासमा दिएको उजुरीमा उल्लेख छ । विभिन्न स्थानमा कार्यरत कामदारलाई पुडासैनीले केही महिनाअघि सुरक्षाकर्मीको काममा लगाएको अर्का पीडित काठमाडौं बलराम शाक्यले बताए । 'हामी उसबाटसुरक्षाकर्मी भएर गयौं । तलब नपाए पनि काम गरिरहेका थियौं,' उनले भने, 'पछि कम्पनीले सप्लाइको कामदार नराख्ने भन्दै आफ्नै कामदार राखेपछि हाम्रो बिचल्ली भएको हो ।'
व्यवसायी पुडासैनीले कामदारको तलब नदिने आफ्नो नियत नभएको बताए । 'कम्पनीबाट पेमेन्ट नआएकाले केही समय रोकिएको हो,' उनले कान्तिपुरलाई भने, 'आइतबारदेखि पेमेन्ट आइसकेको छ । तलब दिन कामदारलाई खोज्दै हिँडिरहेको छु ।'http://www.ekantipur.com/nep/2069/4/26/full-story/352645.html

Thursday, August 9, 2012

प्रचण्ड र वावुराम पतन भइसके : विप्लव

२५ साउन, दाङ । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री समेत रहेका उपाध्यक्ष बाबुराम भट्टराई सवै क्षेत्रवाट पतन भइसकेको वताउनु भएको छ । सचिव चन्दले प्रचण्ड र बाबुराम राजनैतिक तथा नैतिक रुपमा पतन भइसकेकाले आफुहरुले उनीहरुलाई कारवाही गरि पार्टीलाई पुर्नःगठन गरेको दाबी गर्नु भयो ।
विहीवार विहान रिपोटर्स कल्वदाङले दाङको तुलसीपुरमा आयोजना गरेको साक्षात्कार माओवादी सचिव चन्दले प्रचण्डर वावुरामले गल्ती स्विकारी मोहन वैद्य किरणको नेतृत्व स्वीकारे चाही पार्टी एकिकरणहुन सक्ने वताउनुभयो । ठुला दलका शीर्ष नेताहरुको अकर्मनयताले देशमा शान्ति र संविधान बन्न नसकेको वताउदै उनीहरु पुर्ण रुपमा नेतृत्वमा असफल भएको वताउनुभयो ।
नेता चन्दले देशलाई राजनैतीकसंकटको निकासका लागि विगतको १२ बुँदे शान्ति सम्झौतालाई कार्यान्वयन गर्नु पर्ने वताउनुभयो । ‘अवको निकास भनेको १२ बुद्धे कार्यान्वयनहो’ चन्दले भन्नुभयो । उहाँले संकट समाधानको अर्काे विकल्पभनेको बृहत राजनैतिक सहमति गरेर पनि जान सकिने वताउनुभयो । ‘बृहत सहमति भनेको प्रचण्ड, सुशील, झलनाथ, बाबुराम र गच्छेदारले बन्द कोठामा गरेर जनातालाई तानाशाह लाद्ने सहमति नभई,सवै राजनैतिक दल, संविधान सभामा सहभागि दल, नागरिक समाज आम नागरिक सहीत भएको गोलमेच सम्मेलनबाट मात्रै निकास निक्लने वताउनु भयो ।
अर्काे एक प्रसङगमा चन्दले संविधान सभाको पुनसथापना कुनै पनि हालतमा हुन नसकने वताउनुभयो । सचिव चन्दले सविधान सभाको पुर्नस्थापन गर्नु भनेको मरेको शरीरलाई अस्पतालमा फर्काउनु भएको टिप्पणी गर्नुभयो ।

Wednesday, August 8, 2012

कालो झन्डा देखाउने १२ विद्यार्थी घाइते

टेकनारायण भट्टराई, पाल्पा, साउन २४- शिक्षा मन्त्री दिनानाथ शर्मालाई कालो झण्डा देखाउने क्रममा प्रहरीसँग झडप हुँदा १२ जना विद्यार्थी नेताहरु घाइते भएका छन्। बुधबार तानसेनको महेन्द्रबोधी माविको स्वर्ण महोत्सव उद्‌घाटनका लागि आएका मन्त्री शर्मालाई नेविसंघ, अखिल, अखिल छैठौं र अनेरास्ववियु क्रान्तिकारीले विरोध गर्दै कालोझण्डा देखाएका हुन्।
कार्यक्रमको मञ्चमा बसेका शर्माको सामुन्नेका घरका छतमा चढेर विद्यार्थीले विरोध गरेका थिए। तत्कालै प्रहरीले हस्तक्षेप गरेर विरोधमा उत्रेका विद्यार्थीलाई तितरवितर पारेको थियो।
छौठौंका केन्द्रिय सदस्य रेशम कंडेलका अनुसार प्रहरीको लाठिचार्जबाट ३ जनाको हात भाँचिएको छ। १० जना मिसन अस्पताल र ३ जनालाई जिल्ला सरकारी अस्पतालमा उपचारका लागि पठाइएको कंडेलले बताए। प्रहरीले लाठीचार्ज गरेपछि घरको छतबाट हाम फालेका विद्यार्थी घाईते भएका छन्।
प्रहरी दमनको विरोध भन्दै दिउसो दुईबजेदेखि ४ बजेसम्म दुई घण्टे पाल्पा बन्दको घोषणा गरेको अखिलका केन्द्रिय सदस्य दिपक विकले बताए। प्रहरी र विद्यार्थीबीच आधा घण्टासम्म तनाव भएको थियो।

विनाअप्रेसन मुटुको उपचार भन्दै ठग्नेहरुको विगविगी

२४ साउन , काठमाडौं। स्वास्थ विज्ञानमा अहिलेसम्म सम्भव नै नदेखिएको ‘विनाअप्रेसन सम्पूर्ण मुटुरोगको उपचार’ भन्दै भ्रामक प्रचार गरेर एक संस्थाले सर्वसाधारणलाई ठगी गरिरहेको छ । दरबारमार्गस्थित शेर्पा मलमा सञ्चालित हिलटेकसाओल हेल्थ सेन्टर प्रालिले स्वास्थ्यजस्तो संवेदनशील विषयमा एक वर्षदेखि ठगीको धन्दा चलाउँदा पनि सम्बन्धित निकाय भने मौन छ ।
‘सम्पूर्ण मुटुरोगको जादुगरी उपचार’ भन्दै हिलटेकले भ्रामक प्रचार–प्रसार गरिरहेको छ । होर्डिङ बोर्डदेखि पत्रपत्रिकासम्ममा उसले हृदय रोगबाट मुक्ति, हार्ट अटयाक, बाइपास सर्जरी, एन्जिओप्लास्टी र ब्लाकेजको विनाअप्रेसन उपचार भनेर प्रचार गरिरहेको छ । त्यसबापत उसले एक बिरामीबाट एक लाख २५ हजार रुपियाँसम्म असुलिरहेको छ ।
स्वास्थ्य मन्त्रालयको निजी तथा गैरसरकारी स्वास्थ्य संस्था स्थापना, सञ्चालन नीति, मापदण्ड एवं पूर्वाधार निर्देशिका २०६१ मा मुटु उपचारको सेन्टरका लागि विशेषज्ञ चिकित्सकसहितको अत्याधुनिक उपकरण हुनुपर्ने व्यवस्था गरिएको छ । तर, हिलटेकमा दुईजना एमबिबिएस चिकित्सक र इन्ह्यान्स एक्स्ट्रनल काउन्टर पल्सेसन (इइसिपी) नामको एउटा सामान्य मेसिन मात्रै छ ।
चिकित्सकहरूका अनुसार हिलटेकले दिने इइसिपीको उपचार पद्धतिले छातीको दु:खाइ मात्रै कम गर्ने हो। शारीरिक अवस्थाका कारण मुटुको शल्यक्रिया गर्न सम्भव नहुने, नसामा स्टेन्ट राख्न नमिल्ने वा सर्जरीपश्चात् एन्जाइनाका कारणले छाती दुख्ने बिरामीका लागि विकल्पको रूपमा मात्रै इइसिपी पद्धतिबाट उपचार गरिन्छ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अध्यक्ष तथावरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले इइसिपी पद्धति बाइपास सर्जरीको विकल्पनभएको बताए । ‘यो पद्धतिले रोग निर्मूल हुने नभई बिरामीको छातीको दु:खाइ मात्रै कम गर्न सहयोग पुर्‍याउने हो,’ उनले सौर्यसँग भने । उनका अनुसार यो पद्धति अपनाउनै परे पनि मुटुरोग विशेषज्ञको निगरानीमा मात्रै गरिन्छ । तर, हिलटेकमा एमबिबिएस पास गरेका चिकित्सक मात्रै छन् ।
स्वास्थ्यजस्तो संवेदनशील विषयमा हिलटेकले सर्वसाधारणलाई ठगी गरिरहेको जानकारी स्वास्थ्य मन्त्रालयलाई गराउँदासमेत कुनै सुनवाइ नभएको डा. रेग्मीले बताए । ‘हिलटेकले विनाशल्यक्रिया एन्जियोप्लास्टी गर्ने प्रचार गरी नेपाली बिरामीहरूलाई भ्रममा पारेर अर्थोपार्जन गर्ने काम गरिरहेको छ,’ डा. रेग्मीले भने, ‘यसको हामीले पहिलेदेखि नै विरोध गरिरहेका थियौँ तर स्वास्थ्य मन्त्रालय अहिलेसम्म चुप लागेर बसेकोछ ।’
नेपालमा मुटुरोग उपचारका लागि ख्याति कमाएको गंगालाल अस्पतालका निर्देशक डा. मनबहादुर केसीले पनि इइसिपी पद्धतिबाट छातीको दु:खाइ मात्रै कम हुने बताए । उनका अनुसार बाइपास सर्जरीको कुनै विकल्प नै नभएका मानिसलाई दु:खाइ कम गर्न यो उपचार विधि अपनाइन्छ । गंगालालमा पनि इइसिपी मेसिन छ । एकजना बिरामीबाट १४ हजार रुपियाँ लिएर गंगालालले उपचार गर्छ ।
स्वास्थ्य मन्त्रालयका सहसचिव डा. तीर्थराज बुर्लाकोटीले विनाअप्रेसन मुटुको उपचारका नाममा ठगी गरिरहेको विषयमा आफूले पनि सुनेको र सोसंस्थाको खोजी भइरहेको बताए । ‘शल्यक्रिया नै नगरी मुटुको सम्पूर्ण उपचार गर्छु भन्ने सेवा अहिलेसम्म विश्वमा नै सम्भव भएको छैन,’ उनले सौर्यसँग भने । सर्वसाधारणलाई झुक्याएर ठगी गर्ने त्यस्ता संस्थालाई जिल्ला प्रशासन कार्यालयको सहयोगमा कारबाही गरिने बुर्लाकोटीले बताए । ‘सम्भव नै नभएको विषयमा झुठोप्रचार गरेर काम गर्नु सरासरी ठगी हो । यस्ता संस्थालाई तुरुन्त कारबाही गरिन्छ,’ उनले भने ।
कुनै पनि उपभोग्य वस्तु वा सेवाको प्रयोग, उपभोग र प्रभावकारिताको विषयमा भ्रमपूर्ण प्रचार–प्रसार वा विज्ञापन गरी अनुचित व्यापारिक क्रियाकलाप गरेमा उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार कसुर मानी कारबाही हुन्छ । ऐनको दफा १० मा यस्ता क्रियाकलाप गर्नेलाई पाँच वर्ष कैद वा एक लाख जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यसका साथै मानिसको ज्यान र उपचारसम्बन्धी सेवा भएकाले स्वास्थ्य ऐनअनुसार यसरी ठगी गर्ने संस्थालाई ज्यान मुद्दासमेत लाग्छ ।
वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिँडारीका अनुसार कुनै उपभोग्य वस्तु वा सेवालाई अर्को उपभोग्य वस्तु वा सेवा हो भनी वा निम्नस्तरको उपभोग्य वस्तु वा सेवालाई उच्चस्तरको उपभोग्य वस्तु वा सेवा हो भनी ढाँटी वा झुक्याई बिक्रीवितरण गर्नेलाई ऐनअनुसार जेलसजाय र जरिवाना हुन्छ ।
‘कुनै उपभोग्य वस्तु वा सेवाको प्रयोग, उपयोगिता वा प्रभावकारिताको सम्बन्धमा झुट्टा वा भ्रामक प्रचारप्रसार वा विज्ञापन गर्ने किसिमले अनुचितव्यापारिक क्रियाकलाप गर्न पाइँदैन,’ उनले भने, ‘यस्तो कार्य गर्ने जुनसुकै संस्था वा व्यक्तिलाई हामीले प्रशासनमा मुद्दा हाली कारबाही गर्छा ।’
सौर्यले जानकारी लिन मंगलबार हिलटेकको ४२२५४६७ नम्बरमा फोन गर्दा जिम्मेवार व्यक्ति कोही भेटिएनन् । फोन उठाउने महिला कर्मचारीका अनुसार ‘जिम्मेवार व्यक्तिहरू एक साताका लागि बाहिर गएका’ छन् । उनले हिलटेकले दिने सेवाबापत एकजनाबाट एक लाख २५ हजार रुपियाँ लिने गरेको बताइन् । ‘हामीकहाँ डा. प्रवीण र अमिना दुईजना डाक्टर हुनुहुन्छ, उहाँहरूले नै बिरामीको उपचार गर्नुहुन्छ,’ उनले भनिन्, ‘एकजना बिरामीको उपचार ३५ दिनको प्याकेजमा हुन्छ र एक लाख २५ हजार रुपियाँ लाग्छ ।’ आजको शौर्य दैनिकले समाचार छापेको छ ।

Monday, August 6, 2012

साढे २९ लाख नक्कली भारुसहित पाकिस्तानी पक्राउ

केपी ढुंगाना, काठमाडौँ, साउन २२- न्युरोडको क्लासिक होटलबाट साढे २९ लाख नक्कली भारतीय रुपियाँसहित दुई पाकिस्तानी नागरिक मोहम्मद मिमुल्लाह र सोहिम मोहम्मदलाई प्रहरीले नेपाली सहयोगीसहित पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले बाराका बसिर मियाँलाई पाकिस्तानी नागरिकहरुसहित पक्राउ गरेको हो।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले भर्खरै उनीहरुलाई पक्राउ गरी परिसरको हिरासतमा राखेको छ।
यसअगाडि नेपाललाई ट्रान्जिट बनाउँदै पाकिस्तानबाट नेपाल हुँदै नक्कली भारु भारत पुग्ने गरेको छ। प्रहरीले यसअघि नेपाली सहयोगी पक्राउ गर्दै आएकोमा यस पटक पाकिस्तानी नागरिक नै पक्राउ परेकोले मुख्य समूहसम्म नै पुग्न सकिने प्रहरी स्रोतले बतायो।
करिब चार महिनाअघि प्रहरीले कुरियरमार्फत् नेपाल भित्र्याएको नक्कली भारुसहित नेपाली नागरिकलाई पक्राउ गरेको थियो। पाकिस्तानी र नेपाली नागरिकमाथि प्रहरीले निगरानी बढाएपछि रुट र क्यारियर दुवै बदल्दै आएका कारोबारीले पुनः पाकिस्तानी नागरिकलाई नै सक्रिय बनाएको देखिएको अनुसन्धानमा रहेका एक प्रहरी अधिकारीलेबताए।

Sunday, August 5, 2012

बन्दको नयाँ शैली

२१ साउन, काठमाडौं । जस्तासुकै माग पूरा गर्न पनि बन्द गर्ने संस्कृतिलाई नेपालीहरुले अझै छाड्न सकेका छैनन् । तर बन्दको शैली र परम्परामा भने परिवर्तन आउन थालेको छ । पछिल्ला समयमा कार्यालय समय अवधिभर मात्र बन्द गर्ने परम्परा चल्न थालेको छ । अर्थात बेलुकी ५ बजेपछि बन्द फिर्ता भयो भनेर प्रायः सबै आयोजकले घोषणा गर्छन् ।
कार्यालय समय अवधिभर बन्द गर्ने परम्पराबाट पनि अझ अघि बढ्दै युवा संघले बिहान मात्र बन्द गर्ने नयाँ कार्यक्रम शुरु गरेको छ । एमाले भ्रातृ संगठन युवा संघ नेपालले आइतबार र सोमबार उपत्यका बन्द तथा मंगलबार र बुधबार नेपाल बन्द आहृवान गरेको छ । तर बन्द पुरै दिनको लागि होइन, बिहान चारघण्टाको लागि मात्र । यसअनुसार आइतबार बिहान ६ बजेदेखि बिहान १० बजेसम्म चक्काजाम भयो । युवासंघको बन्दलाई नेपाली कांग्रेस, नेकपा-माओवादी लगायतका विपक्षी दलका युवा संगठनहरुले पनि समर्थन जनाएका छन् ।
कामगरी खाने वर्गलाई सुविधा होस् भनेर बन्दको अवधि घटाइएको युवा संघले दावी गरेको छ । ‘हामीले सरकारको बिरोध गर्दै साँकेतिक रुपमा मात्र केही समय चक्काजाम गरेका हौं’ युवा संघका अध्यक्ष महेश बस्नेतले भन्नुभयो -’हाम्रो आन्दोलनले दिउँसो काम गरेका जीविका गर्नेलाई अप्ठेरो पर्दैन ।’
बिहान चाहिं असर गर्दैन ?
जनताको हितको लागि थोरै समय मात्र चक्काजाम गरेको युवासंघको दावी छ । तर बिहान काम विशेषले हिँडडूल गर्ने चाहिं जनता होइनन् र ? युवासंघको चक्काजामले बिहान पढाई हुने स्कूल र क्याम्पस बन्द भए । तरकारी किनबेच गर्नेहरुले सास्ती खेपे । दिउँसो जस्तै बिहान काम गरेर गुजारा गर्नेहरु पनि उत्तिकै छन् । तर युवा संघले जनताको हितकै लागि बन्द गरेको दावी गर्छ ।
बन्द गर्नु हुँदैन भनेर कराउनेमा एमालेकै नेताहरु पनि पर्छन् । तर उसकै युवा संगठन भने नयाँशैलीको बन्द भन्दै सडकमा रमिता देखाउँदैछ । यो बन्दले सरकारलाई त उस्तै हो काम्रेड, जनतालाई चाहिं असर गर्यो ।

Friday, August 3, 2012

तोकिएको भन्दा ७ गुणासम्म बुझाएर कतार

काठमाडौ, श्रावण १८ - कतार जाने कामदारले सेवा शुल्कबापत कति रकम खर्च गर्नुपर्ला ? वैदेशिक रोजगार विभागले भन्छ २० हजार रुपैयाँ तिरे पुग्छ । तर अधिकांश कामदारले ५० हजारदेखि डेढ लाख रुपैयाँसम्म खर्चिनुपरिरहेको छ ।
कतारको श्रम कानुन अनुसार रोजगारदाता कम्पनीले कामदारलाई भिसा र दुईतर्फी हवाई टिकट निःशुल्क उपलब्ध गराउनुपर्छ । उल्टै रोजगादाता कम्पनीले कामदार खोजिदिए बापत स्थानीय आपूर्तिकर्तालाई सेवा शुल्क (कमिसन) दिने गर्छ । कामदारका लागि केही ब्यहोर्नु नपर्ने भएकाले विभागले नेपाली म्यानपावर कम्पनीको सेवा शुल्क -जसमा विज्ञापन खर्च, अन्तर्वार्ता, छनोट प्रक्रिया, स्वास्थ्य परीक्षण, बिमा लगायत) का लागि बढीमा २० हजार रुपैयाँको मापदण्ड बनाएको हो ।
तर यो मापदण्डबारे अधिकांश कामदारलाई जानकारी छैन । विभागलाई कहिलेदेखि लागू गरेको भन्ने पनि जानकारी छैन । मापदण्ड कडा रूपमा लागू हुन नसक्दाअधिकांश कामदार ठगीमा परेका हुन् ।
कतारस्थित नेपाली दूतावासले पनि रोजगारदाता कम्पनीले कामदारको करारनामा (इम्प्लाइमेन्ट कन्ट्य्राक्ट) मा भिसा र दुईतर्फी हवाई टिकट निःशुल्क हुनुपर्ने र सोही आधारमा प्रमाणीकरण हुने भनेको छ । तर रोजगारीका लागि बिदेसिन आतुर युवाबाट म्यानपावर व्यवसायी, एजेन्ट तथा दलालले मनलागी रकम कुम्ल्याउने गरेकाले विभागले तोकेकोसीमा र दूतावासले गरेको प्रमाणीकरण व्यवहारमा लागू हुन सकेको छैन ।
कयौं म्यानपावर कम्पनीले कतारका लागि कामदार चाहिएको सूचनामा कुल लागत खर्च २० हजार रुपैयाँ उल्लेख गर्छन् । बिल मागे त्यत्तिकै मात्र दिन्छन् तर यथार्थमा चर्को रकम असुल्न छाड्दैनन् । वैदेशिक रोजगारका लागि प्रमुख गन्तव्य मुलुक बनेको कतारमा एक वर्षमा १ लाखभन्दा बढी कामदार रोजगारीका लागि पुग्छन् । तीमध्ये अधिकांश ठगीमा परेको दूतावासको ठहर छ ।
कतारस्थित नेपाली दूतावासले पनि चर्को रकम लिएर ठगीमा परेका युवाको उद्धारका लागि आउने गरेको तर उनीहरूसँग रकम तिरेको बिल नहुने गरेकाले कारबाहीका लागि समस्या परेको बताउँदै आएको छ । 'विभागले तोकेभन्दा बढी रकम तिरेर कामदारहरू आउने क्रम रोकिएको छैन,' दूतावासका श्रम सहचारी इन्द्रदेव पाण्डेले कान्तिपुरसित भने, 'प्रमाण भए कारबाही गर्छौं तर नभएर समस्या परेको छ ।' समस्यामा परेका दैनिक ५० देखि १ सयसम्म कामदार दूतावास पुग्ने गरेका छन् ।
एक कामदारको श्रम स्वीकृतिका लागि मेडिकल, अभिमुखीकरण तालिम, वैदेशिक रोजगार बिमा र कल्याण कोषका लागि साढे ८ हजार रुपैयाँभन्दा बढी खर्च लाग्दैन । म्यानपावर व्यवसायी र दलालले त्यो खर्चका अतिरिक्त भिसा, टिकट र आफ्नो सेवा दस्तुर भन्दै अत्यधिक रकम लिएर पठाउने गरेका कामदार स्वदेशदेखि विदेशसम्म प्रशस्तै भेटिन्छन् ।
'एजेन्टलाई ७५ हजार रुपैयाँ तिरेर आएको हुँ,' दुई साताअघि कतारस्थित नेपाली दूतावासमा भेटिएका मखना-३ धनुषाका ४० वषर्ीय राम सोवित खप्नेले कान्तिपुरसँग गुनासो पोखेका थिए, 'एजेन्टले पैसा मात्र खायो, काम पनि फरक पर्‍यो र घर फर्किने भनेर दूतावास आएको छु ।' तनहुँ गजरकोटका भगवान् खनाललेम्यानपावर व्यवसायीलाई १ लाख रुपैयाँ र काठमाडौं आवतजावत गर्दा थप १० हजार रुपैयाँ खर्च गरेको बताएका थिए ।
कतारको अलरकियास्थित घाँसे मैदानमा एक महिनादेखि कार्यरत नुवागाउँ-७ रोल्पाका प्रताप घर्तीले ९० हजार रुपैयाँ र विराटनगरका अनिल राजवंशीले म्यानपावर व्यवसायी र एजेन्टलाई ९५ हजार रुपैयाँ तिरेर आएको सुनाए ।
उता वैदेशिक रोजगार व्यवसायी संघले कतारका लागि २० हजार रुपैयाँ हचुवाका भरमा तोकिएको जनाएको छ ।'कतिपय कम्पनीले एकतर्फी टिकटको रकम दिँदैनन् र २० हजारभन्दा बढी लिनुपर्ने हुन्छ,' संघका अध्यक्ष बलबहादुर तामाङले भने, 'यो मापदण्ड हचुवाछ, टिकट र भिसा निःशुल्क हुँदा २० हजार रुपैयाँ पनि लाग्दैन नत्र बढी लिनुपर्ने हुन्छ ।'
कतारमा भिसा र टिकट रोजगारदाता कम्पनीले बेहोर्ने भए पनि कयौं व्यवसायी, एजेन्ट र दलालले खरिद बिक्री समेत गर्छन् । उनीहरूले रोजगारदाता कम्पनीका प्रबन्धक -मुदिर) र जन सम्पर्क अधिकृत -मन्दुप) लाई कमिसन दिएर भिसा किन्ने गरेको समेत भेटिएको छ । भिसाको खरिद बिक्री कतारमा गैरकानुनी हो । भिसाका लागि लाग्ने सरकारी दस्तुर र प्रमाणीकरण खर्च रोजगारदाता कम्पनीले नै बेहोर्नुपर्ने नियम छ ।
म्यानपावर व्यवसायी तथा दलालले बढी रकम लिएको उजुरी आफूकहाँ आउने गरेको विभागले जनाएको छ । विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले कतारमा कामदार लैजान २० हजार रुपैयाँभन्दा बढी सेवा शुल्क लिन पाइँदैन भन्दै बढी लिनेलाई कारबाही गर्ने बताएका छन् । 'जहाँ निःशुल्क भिसा र टिकट छ, त्यहाँ पठाउन २० हजारभन्दा बढी लिन पाइँदैन,' भट्टराईले भने, 'बढी रकम लिएका थुपै्र मुद्दा परेका छन्, हामी कारबाही गर्छौं ।'
नेपाल-कतार श्रम सम्झौता अनुसार कामदारलाई करारनामाको एक प्रति दिनुपर्ने नियम छ, जसमा प|mी भिसा/प|mी टिकट लगायत सेवा सुविधा उल्लेख हुन्छ । कयौं व्यवसायी र दलालले नक्कली करारनामा भिडाउँदै विमान चढेपछि च्यातिदिनु भनेर कामदारलाई गुमराहमा पार्ने गरेका छन् ।
वैदेशिक रोजगारका समस्याबारे अध्ययन गर्न करिब तीन साताअघि कतार पुगेको श्रमसचिव सोमलाल सुवेदी सहितको टोलीलाई कतारस्थित नेपाली संघसंस्थाका प्रतिनिधिले म्यानपावर कम्पनी र दलालले कामदारसँग चर्को शुल्क उठाएर कामदार ठग्ने गरेकाले सरकारले तोकेको मापदण्ड कडाइ रूपमा लागू गरी ठगी गर्नेलाई कारबाहीको माग समेत गरेका थिए ।
सचिव सुवेदीले वैदेशिक रोजगार र कामदारबीच हुने लेनदेन 'गुप्त खर्च' थाहा पाउन नसकिएकाले कारबाहीगर्न समस्या परेको जनाएका थिए ।

सगरमाथामा हनिमुन दिल्लीमा सुहागरात

(सिंगो मञ्च राता ध्वजापतकाद्वारा सजाइएको छ । दायाँतिर वाद्यवादक बसेका छन् भने बायाँ कुनामा ‘ग्रिनरुम’ बनाइएको छ । ग्रिनरुममा कलाकार अम्रेड ‘अर्कास’, अर्कासपत्नी ‘इर्जना’, अम्रेड ‘इना’, इनापति ‘अंकर’, अम्रेड ‘अर्चन्ड’, अर्चन्डपत्नी ‘इता’ तथा सूत्रधार ‘अनोज’ बसिरहेका छन् । वाद्यवादकले संगीत सुरु गरेपछि ‘अर्कास’ गीत गाउँदै मञ्चमा प्रवेश गर्छन् ।)
अर्कास : हिजो भागेदेखि आज बल्लबल्ल भेट भो, दर्शन नमस्ते, हो… दर्शन नमस्ते !
सूत्रधार : कहाँ थियौ भन तिमी, रंगमञ्च उठेपछि आयौ, समयले इमान लुटेपछि आयौ !
अर्कास : सगरमाथामा हनिमुन, दिल्लीमें सुहागरात, मस्तमें कटरही रास्ते ।
सूत्रधार : जा जा मिलजा गले, हँस्ते हँस्ते, लाल सलाम, नमस्ते !
अर्कास : लाल सलाम सुकेर कालो भयो, आज मेरो भोगीको चाल भयो, क्यारौँ मायालु ?
सूत्रधार : किन त्यसरी विनाअर्थले माया मार्‍यौ, माइलीको दुनियाँलाई एक्लै पार्‍यौ ?
अर्कास : तिमीलाई रुवाउने मेरो धोको हैन, यस्तै पर्‍यो जिन्दगीमा, यिनलाई माया मार्न सकिनँ ।
सूत्रधार : माइली रुँदै लाजिम्पाट पाखैमा, दुधे बालक बोकेर काखैमा, भन्नुनभाको– बाबु, घरमा खबर नगरी तिमी कहाँ गाको ?
अर्कास : चिसो चिसो हावामा, त्यसै मन बरालियो, के भोत्यो डाँडाकाँडामा यो मन ‘इना’तिरै अल्झियो । झ्याँगबाट हेरेको तिनीले, अझै आउँछ झझल्को †
सूत्रधार : जसो गर जे भन जतासुकै लैजाउ कुरालाई, त्यो मन त तिम्रो बेहोसी हो ।
अर्कास : बेहोसपछि त होसमा आउँदा क्या दामी भो, यहाँ उडाउने म, उड्नेको’नि क्या बदनामी भो । (अचानक बन्दुक पड्केको आवाज आउँछ, सबैजना धुँवामा हराउँछन् † एकछिनपछि इनापति अंकर हातमा लाठो लिएरदेखापर्छन् †)
अंकर : मेरो माल मलाई फर्काइदे बाबु, तेरो ज्यान जोगाउनु छ भने, जोरी नै खोज्छस् लौ भने, देख्लास् आफ्नो बाउको बिहे खुरुक्क माल दिएर जा †
इना : सरर पानी घट्टामा, म त प्यारा आउँदा नि आउँदिन– कोही खोज है मेरो सट्टामा !
(अचानक जुताको टकटक आवाजसँगै अम्रेड अर्चन्डको प्रवेश हुन्छ ! अर्कास अलि पछाडि सर्छन् !)
अर्चन्ड : जेठी पहिले छोडेकै थियौ, माइली पनि खोजिदिएकै थियौँ, दुइटीले मन नमानेपछि, बाबुको बिँडो नथामेपछि, मनमा पिर त पर्ने नै भयो, यो मन त्यसै मर्ने नै भयो… हा हा हा †
अर्कास : चोट के हो व्यथा के हो, मजस्तो घाइतेलाई सोध, मिलन के हो, खुसी के हो ? मसँग सोध्दै नसोध ।
सूत्रधार : मनको कुरालाई बाँधी नराख– डल्लो परिजाला, प्याट्ट फुटाइदेऊ !
अर्कास : भूल गरेछ दैवले पनि, आकासको चरालाई सुनको पिँजडामा थुनेर ।
सूत्रधार : मन त हाम्रो बरिलै हो छाडा साँढेझैँ, बाँध्नुपर्छ बरिलै दाम्लाले बाँधेझैँ ।
अर्कास : दाम्लाले बाँध्दा भएन, डोकोले छोप्दा भएन, जाँतोले पिँध्दा भएन, फुक्यो भोटे कुकुर…। (अकास्मात आफ्नी पत्नी ‘इर्जना’को प्रवेश भएकाले अर्कास कुनातिर लाग्छन्, इर्जना राताराता आँखा पार्दै गीत गाउँछिन्)
इर्जना : गर्नु गर्याै बलराम, पाडो ताकेर, दुनियाँलाई हँसाएर, आफन्तको नाकै भाँचेर ।
अर्कास : मैले नाक छोडी आएँ, हिउँको तरेलीमा, कहाँ रोजौँ कहाँ खोजौँ कसको घडेरीमा ।
इर्जना : डाँडाभाँटा कारबाहीले, तिम्रै गीत गाउँछ,जन–अदालतले पनि तिम्लाई बोलाउँछ ।
अर्कास : त्यही भएर म हराको, त्यही भएर म हराको, त्यही भएर म हराको…। (एक्कासी चट्याङ पर्छ, अर्कासकी आमा ‘इता’ सुँकसुँकाउँदै मञ्चमा
प्रवेश गर्छिन्)
इता : पापा कहेते थे बडा नाम करेगा, बेटा हमारा बडा काम करेगा, मगर ओह तो, दाहाल हम तो– हे मेरी मुस्किल हें कहाँ ?
अर्कास : हमे उनसे प्यार कितना यह हम नही जानते, मगरजि नही सकती, दाहालके विना ! (इनापति अंकर इनाको हातसमाउन खोज्छन्)
अंकर : सिउँदो तिम्रो अरूकै हातबाट रंग्याऊ तर अन्तिमपल्ट भेट्न आऊ ।
इना : नाइँनाइँ फकाउनु पर्दैन, वैद्यले सुनेर के भन्लान !
अंकर : साँचो प्रीति लाएकै थिएँ, क्रान्तिकारी जोवन दिएकै थिएँ !
इना : क्रान्तिको बन्दुक बोक्ने बलिया तिम्रा पाखुरा, मायाको लन्चर उचाल्ने, अर्कासका झन् ठूला पाखुरा !
अंकर : मैले बा–आमा त्यागेर, ल्याएको मायाले धोका दिई, रूपकी त साह्रै राम्री थिई, मनकी त साह्रै कुरूप रहिछे !
इना : वैद्यपथले बिगार्‍यो तिमीलाई, प्रचण्डपथले पछ्यायो हामीलाई, लेफ्ट राइट, लेफ्ट राइट ।
अंकर : मन थिएन जोगी हुनलाई, हात हेराउँदा वैद्यबाले राम्रै हुन्छ भन्थे भन्नलाई ! (इनापति मलिनो अनुहार लिएर नेपथ्यतिर लाग्छन्, त्यसैबेला उबिन गन्धर्व सारंगी बजाउँदै मञ्चमा प्रवेश गर्छन् )
उबिन : ए बाबाले सोध्लान् नि खै छोरा भन्लान् ?
अर्कास : दाम सकिए’सी आउँछ रे भन्दिऐ ।
उबिन : आमाले सोध्लिन् नि खै मोरा भन्लिन् ?
अर्कास : नातिनी ल्याउँछ रे भन्दिऐ ।
उबिन : प्रियाले सोध्लिन्’नि खै खसम भन्लिन् ?
अर्कास : कसम टुट्यो भन्दिए ।
उबिन : छोराले सोध्लान्’नि खै बाबु भन्लान् ?
अर्कास : बाउको बिहे भैगयो भन्दिऐ ।
उबिन : पार्टीले सोध्ला’नि खै कमरेड भन्ला ?
अर्कास : क्रान्ति आधा भयो भन्दिए ।
उबिन : हे, बरै !
सूत्रधार : वीरताको चिनो वीरको सन्तान, सहिदको रगत, कामरेडको निसानी, अब कसको हातले लेख्ने हो, क्रान्तिकारिताको कालो कहानी ?
अर्कास : अरू कालो रेलको धुवाँले, हामी कालो रातो–राम्रो–गुलियो मन पराउनाले ।
इना : काले भनी नगर हेलाँ, कारबाहीको पर्लाउनी फेला !
सूत्रधार : डल्ली मगर्नी हौ डल्ली मगर्नी, ख्याल क्रान्ति गरिनौँ हौ पिरिम् पर्‍यासी ।
अर्चन्ड : छोरा मलाई भागी भागी नसताऊ, कानमा आई सुटुक्क बताऊ, तिम्लाई बाबाको माया कति लाग्छ रे ?
अर्कास : एकादेशमा एउटा बाबा थियो, बाबाको एउटा छोरो थियो, छोरो साह्रै चञ्चले थियो, छोरो अति ‘मनचले’ थियो, एकदिन बाबाको नाकमा गोबर दल्यो रे…! (यति भनेर अर्कास भुइँको गोबर बाबुको अनुहारमा दलेर नेपथ्यतिर भाग्छन् ! अर्चन्ड पनि उनलाई लखेट्दै पछीपछी दगुर्छन् ! नेपथ्यमा उनीहरूको आवाज आइरहेको हुन्छ !)
अर्चन्ड : मेरो छोरा !
अर्कास : मेरो बाबा !
अर्चन्ड : मेरो हावा !
(पर्दा बन्द हुन्छ !)
(शुक्रबारको सौर्य दैनिकबाट)

Saturday, July 28, 2012

पाल्पामा जिप दुर्घटना, ८ जना भन्दा बढीको मृत्यु

टेकनारायण भट्टराई, पाल्पा, साउन १३ - पाल्पाबाट गुल्मी तर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा ८ जना भन्दा बढी यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ। जिप नम्बर खुल्न सकेको छैन । पाल्पा बौघापोखराथोक गाविसको जोर्ते ओरालोमा आज बिहान करिव ७ बजे दुर्घटना भएको बताइएको छ। घटनास्थलमा प्रहरी नायव उपरिक्षक मीरा चौधरी सहितको प्रहरी टोली जाँदै छ।
जिप करिव सय मिटर तल खसेको प्रत्यक्षदर्शीको भनाइ उदृत गर्दै चौधरीले बताइन्। गम्भीर घाइते दुईजनालाई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि ल्याइदै गरेको इन्स्पेक्टर सूर्य चन्दले बताए। दुर्घटनाको थप विवरण आउन बाँकी छ।
जोर्तेको ओरालो प्रायः दुर्घटना भइरहने ठाउँ हो ।