Friday, August 3, 2012

तोकिएको भन्दा ७ गुणासम्म बुझाएर कतार

काठमाडौ, श्रावण १८ - कतार जाने कामदारले सेवा शुल्कबापत कति रकम खर्च गर्नुपर्ला ? वैदेशिक रोजगार विभागले भन्छ २० हजार रुपैयाँ तिरे पुग्छ । तर अधिकांश कामदारले ५० हजारदेखि डेढ लाख रुपैयाँसम्म खर्चिनुपरिरहेको छ ।
कतारको श्रम कानुन अनुसार रोजगारदाता कम्पनीले कामदारलाई भिसा र दुईतर्फी हवाई टिकट निःशुल्क उपलब्ध गराउनुपर्छ । उल्टै रोजगादाता कम्पनीले कामदार खोजिदिए बापत स्थानीय आपूर्तिकर्तालाई सेवा शुल्क (कमिसन) दिने गर्छ । कामदारका लागि केही ब्यहोर्नु नपर्ने भएकाले विभागले नेपाली म्यानपावर कम्पनीको सेवा शुल्क -जसमा विज्ञापन खर्च, अन्तर्वार्ता, छनोट प्रक्रिया, स्वास्थ्य परीक्षण, बिमा लगायत) का लागि बढीमा २० हजार रुपैयाँको मापदण्ड बनाएको हो ।
तर यो मापदण्डबारे अधिकांश कामदारलाई जानकारी छैन । विभागलाई कहिलेदेखि लागू गरेको भन्ने पनि जानकारी छैन । मापदण्ड कडा रूपमा लागू हुन नसक्दाअधिकांश कामदार ठगीमा परेका हुन् ।
कतारस्थित नेपाली दूतावासले पनि रोजगारदाता कम्पनीले कामदारको करारनामा (इम्प्लाइमेन्ट कन्ट्य्राक्ट) मा भिसा र दुईतर्फी हवाई टिकट निःशुल्क हुनुपर्ने र सोही आधारमा प्रमाणीकरण हुने भनेको छ । तर रोजगारीका लागि बिदेसिन आतुर युवाबाट म्यानपावर व्यवसायी, एजेन्ट तथा दलालले मनलागी रकम कुम्ल्याउने गरेकाले विभागले तोकेकोसीमा र दूतावासले गरेको प्रमाणीकरण व्यवहारमा लागू हुन सकेको छैन ।
कयौं म्यानपावर कम्पनीले कतारका लागि कामदार चाहिएको सूचनामा कुल लागत खर्च २० हजार रुपैयाँ उल्लेख गर्छन् । बिल मागे त्यत्तिकै मात्र दिन्छन् तर यथार्थमा चर्को रकम असुल्न छाड्दैनन् । वैदेशिक रोजगारका लागि प्रमुख गन्तव्य मुलुक बनेको कतारमा एक वर्षमा १ लाखभन्दा बढी कामदार रोजगारीका लागि पुग्छन् । तीमध्ये अधिकांश ठगीमा परेको दूतावासको ठहर छ ।
कतारस्थित नेपाली दूतावासले पनि चर्को रकम लिएर ठगीमा परेका युवाको उद्धारका लागि आउने गरेको तर उनीहरूसँग रकम तिरेको बिल नहुने गरेकाले कारबाहीका लागि समस्या परेको बताउँदै आएको छ । 'विभागले तोकेभन्दा बढी रकम तिरेर कामदारहरू आउने क्रम रोकिएको छैन,' दूतावासका श्रम सहचारी इन्द्रदेव पाण्डेले कान्तिपुरसित भने, 'प्रमाण भए कारबाही गर्छौं तर नभएर समस्या परेको छ ।' समस्यामा परेका दैनिक ५० देखि १ सयसम्म कामदार दूतावास पुग्ने गरेका छन् ।
एक कामदारको श्रम स्वीकृतिका लागि मेडिकल, अभिमुखीकरण तालिम, वैदेशिक रोजगार बिमा र कल्याण कोषका लागि साढे ८ हजार रुपैयाँभन्दा बढी खर्च लाग्दैन । म्यानपावर व्यवसायी र दलालले त्यो खर्चका अतिरिक्त भिसा, टिकट र आफ्नो सेवा दस्तुर भन्दै अत्यधिक रकम लिएर पठाउने गरेका कामदार स्वदेशदेखि विदेशसम्म प्रशस्तै भेटिन्छन् ।
'एजेन्टलाई ७५ हजार रुपैयाँ तिरेर आएको हुँ,' दुई साताअघि कतारस्थित नेपाली दूतावासमा भेटिएका मखना-३ धनुषाका ४० वषर्ीय राम सोवित खप्नेले कान्तिपुरसँग गुनासो पोखेका थिए, 'एजेन्टले पैसा मात्र खायो, काम पनि फरक पर्‍यो र घर फर्किने भनेर दूतावास आएको छु ।' तनहुँ गजरकोटका भगवान् खनाललेम्यानपावर व्यवसायीलाई १ लाख रुपैयाँ र काठमाडौं आवतजावत गर्दा थप १० हजार रुपैयाँ खर्च गरेको बताएका थिए ।
कतारको अलरकियास्थित घाँसे मैदानमा एक महिनादेखि कार्यरत नुवागाउँ-७ रोल्पाका प्रताप घर्तीले ९० हजार रुपैयाँ र विराटनगरका अनिल राजवंशीले म्यानपावर व्यवसायी र एजेन्टलाई ९५ हजार रुपैयाँ तिरेर आएको सुनाए ।
उता वैदेशिक रोजगार व्यवसायी संघले कतारका लागि २० हजार रुपैयाँ हचुवाका भरमा तोकिएको जनाएको छ ।'कतिपय कम्पनीले एकतर्फी टिकटको रकम दिँदैनन् र २० हजारभन्दा बढी लिनुपर्ने हुन्छ,' संघका अध्यक्ष बलबहादुर तामाङले भने, 'यो मापदण्ड हचुवाछ, टिकट र भिसा निःशुल्क हुँदा २० हजार रुपैयाँ पनि लाग्दैन नत्र बढी लिनुपर्ने हुन्छ ।'
कतारमा भिसा र टिकट रोजगारदाता कम्पनीले बेहोर्ने भए पनि कयौं व्यवसायी, एजेन्ट र दलालले खरिद बिक्री समेत गर्छन् । उनीहरूले रोजगारदाता कम्पनीका प्रबन्धक -मुदिर) र जन सम्पर्क अधिकृत -मन्दुप) लाई कमिसन दिएर भिसा किन्ने गरेको समेत भेटिएको छ । भिसाको खरिद बिक्री कतारमा गैरकानुनी हो । भिसाका लागि लाग्ने सरकारी दस्तुर र प्रमाणीकरण खर्च रोजगारदाता कम्पनीले नै बेहोर्नुपर्ने नियम छ ।
म्यानपावर व्यवसायी तथा दलालले बढी रकम लिएको उजुरी आफूकहाँ आउने गरेको विभागले जनाएको छ । विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले कतारमा कामदार लैजान २० हजार रुपैयाँभन्दा बढी सेवा शुल्क लिन पाइँदैन भन्दै बढी लिनेलाई कारबाही गर्ने बताएका छन् । 'जहाँ निःशुल्क भिसा र टिकट छ, त्यहाँ पठाउन २० हजारभन्दा बढी लिन पाइँदैन,' भट्टराईले भने, 'बढी रकम लिएका थुपै्र मुद्दा परेका छन्, हामी कारबाही गर्छौं ।'
नेपाल-कतार श्रम सम्झौता अनुसार कामदारलाई करारनामाको एक प्रति दिनुपर्ने नियम छ, जसमा प|mी भिसा/प|mी टिकट लगायत सेवा सुविधा उल्लेख हुन्छ । कयौं व्यवसायी र दलालले नक्कली करारनामा भिडाउँदै विमान चढेपछि च्यातिदिनु भनेर कामदारलाई गुमराहमा पार्ने गरेका छन् ।
वैदेशिक रोजगारका समस्याबारे अध्ययन गर्न करिब तीन साताअघि कतार पुगेको श्रमसचिव सोमलाल सुवेदी सहितको टोलीलाई कतारस्थित नेपाली संघसंस्थाका प्रतिनिधिले म्यानपावर कम्पनी र दलालले कामदारसँग चर्को शुल्क उठाएर कामदार ठग्ने गरेकाले सरकारले तोकेको मापदण्ड कडाइ रूपमा लागू गरी ठगी गर्नेलाई कारबाहीको माग समेत गरेका थिए ।
सचिव सुवेदीले वैदेशिक रोजगार र कामदारबीच हुने लेनदेन 'गुप्त खर्च' थाहा पाउन नसकिएकाले कारबाहीगर्न समस्या परेको जनाएका थिए ।

No comments:

Post a Comment