Wednesday, June 20, 2012

काम चोर सचिवलाई कारबाही गर्न माग

६ असार, खोटाङ । च्यास्मीटार गाविसका सर्वसाधारणले कार्यालयमा उपस्थित नहुने काम चोर गाविस सचिवलाई कारबाही गर्न माग गरेका छन् । गाविस सचिव चन्द्रप्रसाद आचार्य कार्यालयमा नियमित उपस्थित नभएपछि आफूहरु मारमापरेको भन्दै सर्वसाधारणले कारबाहीको माग गरेका हुन् ।
नियमित कार्यालयमा नआउने सचिव आचार्यका कारण आर्थिक वर्ष २०६८/६९ को बजेट अहिलेसम्म निकासा नभएको भन्दै एक प्रतिनिधिमण्डल मङ्गलबार जिल्ला विकास समितिमा गएको थियो । हालसम्म गाविसका वृद्धवृद्धा तथा बिधुुवाले भत्ता नपाएको, नागरिकता, राहदानी, जग्गासम्बन्धी सिफारिस तथा जन्म, मृत्यु र बसाइँसराइ दर्तालगायतका कामका लागि समस्या भएको भन्दै डेलिगेसन आएको एमाले क्षेत्रीय अध्यक्ष सुरेन्द्रकुमार राईले जानकारी दिए ।
आफ्नो काम गर्नका लागि सचिव आचार्यलाई सदरमुकाम दिक्तेलमा आएर दुई÷तीन दिनसम्म खोज्दै हिँड्नुपर्ने बाध्यता रहेको प्रतिनिधिमण्डलको गुनासो छ ।टोलीले आर्थिक वर्ष २०६६/६७ र ०६७/६८ को गाविसको बजेटको सार्वजनिक लेखापरीक्षण गर्न पनि जिल्ला विकास समितिसमक्षमाग गरेको छ ।
गत माघमा गरिएको गाउँ परिषद् र वैशाखमा भएको फोटोसहितको मतदाता नामावली सङ्कलनका बेला देखापरेका सचिव आचार्य त्यसयता नदेखिएका प्रतिनिधिमण्डलमा सहभागी एकीकृत नेकपा माओवादीका चङ्खबहादुर राईले बताए । टोलीले जिल्लास्थित सम्पूर्ण राजनितीक दल, जिल्ला प्रशासन कार्यालय र नेपाल पत्रकार महासङ्घलाई समस्या समाधानका लागि आग्रह गरेको छ ।

No comments:

Post a Comment