Saturday, August 11, 2012

विदेश पठाउने भन्दै डेढ करोड ठगी

काठमाडौ, श्रावण २७ - अमेरिका, क्यानाडा र नर्वे पठाएर जागिरसमेत दिने लोभ देखाउँदैराजधानीको एक शैक्षिक परामर्शदाता संस्थाले ४४ युवाबाट १ करोड ५५ लाख रुपैयाँ ठगी गरेको छ । शैक्षिक परामर्श गर्ने संस्थालाई वैदेशिक रोजगारका लागि कामदार पठाउन इजाजत हुँदैन ।
नक्साल नागरोडस्थित ग्लोबल पार्टनरसीप प्रालिका सञ्चालक जोडी महेन्द्र भट्टराई, उनकी श्रीमती आशिषा थापा, सोही संस्थाका लेखापाल नवीन पराजुली नाम बताउने गणेशबहादुर पराजुलीले ती युवालाई ठगेका हुन् । पीडितहरूको उजुरीका आधारमा प्रहरीले पराजुलीलाई पक्राउ गरेको छ । जोडी फरार छन् ।
तिनीहरूले ३ वर्षदेखि विभिन्न भिसामा अमेरिका, क्यानडा, नर्वेलगायतका देश पठाएर कामसमेत दिने भन्दै लोभ्याको पीडितहरूले बताए । 'कल्चरल एक्चेन्ज प्रोग्रामअन्तर्गत ४५ दिनमै अमेरिका पठाइदिन्छु भनेपछि मैले तत्काल ३ लाख ५० हजार दिएँ,' स्नातक अध्ययनरत बौद्ध निवासी पासाङ खेल्दु लामाले कान्तिपुरलाई भनिन्, 'केको अमेरिका पठाइदिनु ? अहिले मोबाइल पनि उठ्दैन ।'
लामाले आफू र आफ्नी दिदी (ठूलोबुवाकी छोरी) कारसाङ लामाले ग्वोबलकी आशिषा थापालाई ३ लाख र साढे ३ लाख बुझाएको बताइन् । अर्की पीडित सिन्धुली भद्रकालीले निर्मला कार्कीले आफूलगायत ७जनालाई नर्वेमा 'चाइल्ड केयर' का लागि पठाइदिने भनेर आशिषाले नै पैसा लिएको दाबी गरिन् । '३/४ लाख रुपैयाँ लाग्छ भनेकोमा मैले ६७ हजार ५ सय र अरूले १ लाख २५ हजारका दरले पेस्की बुझाएका थिए,' उनले भनिन् ।
सबैभन्दा बढी ठगिनेमा क्यानडा जाने सपना देख्ने परीक्षा घिमिरे देखिएको विभागका एक अधिकारीले बताए । 'घमिरेले २३ लाख बुझाएको पाइयो,' विभागका अनुसन्धान अधिकृत बाबुराम पाण्डेले भने, 'श्रीमान् क्यानडा भएकाले श्रीमती र छोरालाई पठाइदिने भनेपछि रकम दिएको देखिन्छ । पैसा दिँदा पनि परिवार नआएपछि परीक्षाका श्रीमान् केशवले आएर उजुरी दिएको पनि पाण्डेले जनाए ।
पीडितहरूको उजुरीका आधारमा प्रहरीले गणेशलाई कार्यालयका सामान, ल्यापटप र कागजात लिएर भाग्दै गरेको अवस्थामा असार २७ गते पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेका पराजुलीलाई प्रहरीले जिल्ला सरकारी वकिलकार्यालयमा पठाएको थियो । वैदेशिक रोजगार ठगी मुद्दा भएकाले यसलाई विभागले शुक्रबार न्यायाधिकरणमा पेस गरेको छ । विभागले सञ्चालक जोडी र लेखापाल पराजुलीबाट ठगिएको बिगो र त्यसको ५० प्रतिशत हर्जनासहित कुल २ करोड ३३ लाख ८ हजार रुपैयाँ पीडितलाई भराइदिन न्यायाधिकरणमा मुद्दा दर्ता गरेको छ । उनीहरू तीनै जना आँपपीपल-१, गोरखा निवासी हुन् ।
पराजुलीले विभागलाई दिएको बयानअनुसार आफू संस्थाको कर्मचारी भएकाले कहिलेकाहीं रसिद काट्ने गरेको स्वीकार्दै सञ्चालक भट्टराई र थापाले मानिसहरूलाई स्टुडेन्ट प्रोगामअन्तर्गत पठाउने भनेर रकम उठाउने गरेको बताएका छन् । विभागले भट्टराई र थापाको नाममा रहेको बैंक खाता र जग्गा जमिन रोक्काका लागि पत्राचार गरिसकेको छ । भट्टराईको नाममा किस्ट बैंकमा खाता भेटिएको छ भने जग्गा जमिनको विवरण दिइएको छैन । कान्तिपुरलाई प्राप्त सञ्चालक दुवैको मोबाइल नम्बरमा सम्पर्क हुन सक्दैन । विदेश पठाएर काम लगाइदिने भन्ने उक्त संस्थाले कामदार पठाउने इजाजत नपाएकाले मिसिलसहित अभियोग पेस गरेको विभागले जनाएको छ । 'अर्कै कामका लागि खोलिएको संस्थालेवैदेशिक रोजगार व्यवसाय गर्नपाउँदैन,' विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले भने, 'हामीले हदैसम्मको माग दाबीसहित मुद्दा दायर गरेका छौं ।' ठगी गर्नेलाई ७ वर्षको कैद सजाय छ । विभागले ठगीमा दायर गरेको यो महिनाको सबैभन्दा ठूलो रकमको मुद्दा यही हो ।

No comments:

Post a Comment