Saturday, August 11, 2012

चौबीस दिनमा २४ दुर्घटना, ३०को मृत्यु

२७ साउन, गजुरी । चालकको लापरबाही र लामो दूरीमा एकमात्र सवारी चालकको व्यवस्था गर्ने गर्दा राजमार्गमा दिनानुदिन दुर्घटना बढ्दै गएको छ । पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको धादिङखण्डमा साउन २५गतेसम्म मात्र १४ वटा सानाठूला दुर्घटना भएका छन् । दुर्घटना परी ३० जनाले ज्यान गुमाइसकेको र ५० भन्दा बढी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
राजमार्गमा अत्यधिक सवारीको चाप, तीव्र गति, भत्केको सडक दुर्घटनाको मुख्य कारण बन्न पुगेको छ । साँघुरो सडक, घुमाउरा मोड त्यसमा पनि उत्तेजितप्रकारका होर्डिङबोर्ड राखिनु पनि दुर्घटनाको अर्काे कारण हो । सडकको बिग्रँदो अवस्था, सवारी साधन पुरानो हुनु, रात्रिकालीन र लामो दूरीमा गुड्ने सवारीमा एकजना मात्र चालक हुनुजस्ता कारणले पनि सवारी दुर्घटना बढेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक विनोद घिमिरेको भनाइ छ ।
चालकको लापरबाहीका कारण पनि दैनिकजसो दुर्घटना हुने गरेको छ । चालकलाई उचित मात्रामा तालिम नदिनु र सडकको बिग्रदो अवस्थालाई बेलैमा मर्मत नगरिनु सवारी दुर्घटनाको अर्को कारण रहेको जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रमुख एवम् प्रहरी निरीक्षक हेमन्त थापा बताउनुहुन्छ । नदीका किनारबाट सडक निर्माण भएको र सडकका छेउमा प्याराफिट र ग्याबीन नराखिनाले दुर्घटना बढी भएको उहाँको भनाइ छ ।
राजमार्गको छेउबाट कच्ची सडक निर्माण तथा ठूला मोड र तीव्र गतिले गर्दा वषर्ायाममा बढी दुर्घटना हुने गरेको स्थानीयवासी बताउँछन् । त्रिभुवन राजपथको पिपलमोडदेखि नौबिसे र पृथ्वी राजमार्गको नौबिसेदेखि मौवाखोलासम्मको ८४ किलोमिटरभित्र गत आवमा ६३ वटा सवारी दुर्घटना भएको थियो । दुर्घटनामा चार बालक, चार बालिका, आठ महिला र ३६ पुरुष गरी ५२ जनाले ज्यान गुमाएका थिए । सानाठूला गरी भएका यस्ता दुर्घटनामा ९५ जना गम्भीर घाइते र ७९ जना सामान्य घाइते भएका थिए ।
सवारी दुर्घटना बढ्दै गर्दा कोसोक नेपालले राजमार्ग क्षेत्रमा राजमार्ग स्वयम्सेवकको परिचालन गर्दै आकस्मिक उद्धारका लागि सहयोग पुर्‍याउँदै आएको र दुर्घटनापछि प्राथमिक उपचारर उद्धारमा सहयोग गरेको कोसोक नेपालका प्रताप खरेलले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पनि विशेष अभियान सञ्चालन गर्ने बताए पनि कार्यक्रम गर्नका लागि केही समय लाग्ने कार्यालयका प्रहरी निरीक्षक थापाको भनाइ छ । रासस

No comments:

Post a Comment