Tuesday, July 17, 2012

प्रचण्डको नजरमा १२ बुँदेपछि माओवादीका १२ कमजोरी

२ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले तत्कालीन सात राजनीतिक दलहरूसँग १२ बुँदे समझदारीपछि पार्टीले १२ वटा कमजोरी गरेको बताउनुभएको छ ।
मंगलबारबाट सुरु भएको पार्टीकोसातौँ विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले सशस्त्र सङ्घर्षपछि शान्ति प्रक्रियामा आइसकेपछि पार्टी पङ्क्तिलाई स्पष्ट पार्न नसकिएको र पार्टीलाई नयाँ परिवेशमा नयाँ ढङ्गले परिचालन गर्नमा समस्या देखापरेको उल्लेख गर्नुभएको छ । यसैगरी संविधानसभाको निर्वाचनलाई व्यवस्थितरूपमा सम्पन्न गर्नका लागि पार्टीकातर्फबाट जुन खालको भूमिका खेल्नुपर्ने हो, त्योसमेत हुन नसकेको, संविधानसभाको निर्वाचनपछि नेपाली जनताले माओवादीलाई ठूलो शक्तिका रूपमा स्थापित गरे पनि जुन खालको परिपक्वता प्रदर्शन गर्नुपर्ने हो, त्यो गर्न नसकेको उल्लेख गरिएको छ । पार्टी पङ्क्तिमा अहङ्कार बढेका कारण समस्या पैदा भएको र जसका कारण संविधानसभामा ठूलो पार्टी भएर पनि महत्वपूर्ण स्थानहरूमा पार्टीको उपस्थिति हुन नसकेको र पार्टीले खेल्नुपर्ने भूमिकामा समस्यापैदा भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसैगरी मधेस आन्दोलनका क्रममा पार्टीले खेल्नुपर्ने भूमिका प्रभावकारी हुन नसकेको, जसका कारण पार्टीको अवस्था मधेसमा कमजोर रहेको र जुनरूपमा पार्टी मधेसका जनतामाझ स्थापित हुन नसकेको उल्लेख गरिएको छ । यसैगरी अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा कटुवाल प्रकरणमा पार्टीले नागरिक सर्वोच्चताको विषयलाई उठाएर आन्दोलन गरे पनि त्यसलाई व्यवस्थितरूपमा सञ्चालन गर्न नसक्दा कार्यकर्ता पङ्क्तिमा निराशा पैदा भएको तर सो आन्दोलनले नेपाल्ाी जनताका माझ नागरिक सर्वोच्चताको विषय स्थापित गरेको जनाइएको छ । प्रतिवेदनमा अगाडि भनिएको छ, ‘प्रमुख राजनीतिक दलसँग गत साल कात्तिक १५ गते भएको सातबुँदे सहमतिमा सेना समायोजनका सन्र्दभमा गरिएको सहमतिमा कमजोरी भएको, संविधान बन्छ भनेर लचकताका साथ सहमति गरिए पनि संसदवादी पुराना दलहरूले संविधान बन्न नदिएका कारण पार्टीको लचकताले काम गर्न सकेन ।’
यसैगरी संविधान निर्माणको क्रममा राज्य पुनःसंरचना र शासकीय स्वरूप लगायतका जटिल विषयहरू अन्तिममा निर्णय गरौंला भनेर राख्नु संविधान निर्माणको क्रममा भएको गम्भीर भूल भएको उल्लेख प्रतिवेदनमा गरिएको छ । हरेक विषयलाई सहजताकासाथ लिएर संसदवादी पार्टीहरूको विश्वासमा पर्दा प्राप्त उपलब्धीलाई संस्थागत गर्न नसकिने त होइन भन्ने आशङ्का पैदा भएको उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ, ‘पार्टीले इमान्दारिताका साथ प्रयास गर्दा गर्दै पनि हुन नसकेका र सम्पन्न गर्न नसकिएका विषयलाई जनतामाझ प्रष्ट राखेर जनतालाई विश्वासमा लिनुपर्ने अवस्था छ ।’
यसैगरी सडक, सदन र सरकारको विषयमा आवश्यक तालमेल मिलाउन नसकिएको र तीनवटै मोर्चामा रहेर जति तालमेल मिलाउनुपर्ने हो त्यो गर्न नसकिएको भन्दै अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा पार्टीबाट भएका कमजोरीलाई तत्काल सुधार गरेर जानुपर्नेमा जोड दिइएको छ । यसैगरी राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिका विषयमा पार्टी कार्यकर्तालाई समयमै प्रष्ट पार्नुपर्नेमा पनि जोड दिइएको छ । पार्टीले दोस्रो पुस्ताको नेतृत्व विकासका लागि जति ध्यान दिनुपर्ने हो त्यति ध्यान दिन नसकिएको पनि कमजोरीको रूपमा प्रस्तुत गरिएको छ भने महिलाका समस्याका विषयमा पनि प्रष्ट अवधारणा अगाडि सार्न नसकिएको पनि प्रमुख कमजोरी भएको भनी प्रतिवेदनमा स्वीकार गरिएको छ ।
प्रतिवेदनमा राष्ट्रिय/अन्तर्राष्ट्रिय अवस्थाका बारेमा लामो व्याख्या गर्दै पार्टीले आगामी दिनमा अवलम्बन गर्नुपर्ने कार्यनीति र रणनीतिका विषयमा कार्यकर्ता तहबाटै सुझावको अपेक्षा पनि गर्नुभएको छ । राष्ट्रियता, जनतन्त्र, जनजीविकाको विषयमा प्रष्ट एजेन्डाकासाथ जनतामा जानुपर्ने र जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नका लागि शान्ति र संविधानको कार्यनीतिलाई पूरा गर्न लाग्नुपर्नेमा जोड दिइएको छ । विगत २४ वर्षदेखि हुन नसकेको महाधिवेशन तत्काल गर्नुपर्ने र त्यसबाट पार्टीलाई चुस्त, दुरुस्त बनाउनुपर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पार्टी विभाजन गर्नेहरूले राष्ट्रिय आवश्यकता रजनताको चाहनालाई बुझ्न नसकेको भन्दै नेकपा-माओवादी गठन गर्नेहरू बाम विर्सजनवादमा फसेको भन्दै उहाँले पार्टी एकताका लागि आफ्नो पार्टी अझै पनि तयार रहेको स्पष्ट पार्नुभएको छ । आगामी दिनमा पार्टीभित्र देखिएका सबै गुट तथा उपगुट अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजाने र त्यसका लागि शीर्ष नेतृत्वबाटै पहल गर्नेसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ । रासस

No comments:

Post a Comment