Sunday, August 5, 2012

बन्दको नयाँ शैली

२१ साउन, काठमाडौं । जस्तासुकै माग पूरा गर्न पनि बन्द गर्ने संस्कृतिलाई नेपालीहरुले अझै छाड्न सकेका छैनन् । तर बन्दको शैली र परम्परामा भने परिवर्तन आउन थालेको छ । पछिल्ला समयमा कार्यालय समय अवधिभर मात्र बन्द गर्ने परम्परा चल्न थालेको छ । अर्थात बेलुकी ५ बजेपछि बन्द फिर्ता भयो भनेर प्रायः सबै आयोजकले घोषणा गर्छन् ।
कार्यालय समय अवधिभर बन्द गर्ने परम्पराबाट पनि अझ अघि बढ्दै युवा संघले बिहान मात्र बन्द गर्ने नयाँ कार्यक्रम शुरु गरेको छ । एमाले भ्रातृ संगठन युवा संघ नेपालले आइतबार र सोमबार उपत्यका बन्द तथा मंगलबार र बुधबार नेपाल बन्द आहृवान गरेको छ । तर बन्द पुरै दिनको लागि होइन, बिहान चारघण्टाको लागि मात्र । यसअनुसार आइतबार बिहान ६ बजेदेखि बिहान १० बजेसम्म चक्काजाम भयो । युवासंघको बन्दलाई नेपाली कांग्रेस, नेकपा-माओवादी लगायतका विपक्षी दलका युवा संगठनहरुले पनि समर्थन जनाएका छन् ।
कामगरी खाने वर्गलाई सुविधा होस् भनेर बन्दको अवधि घटाइएको युवा संघले दावी गरेको छ । ‘हामीले सरकारको बिरोध गर्दै साँकेतिक रुपमा मात्र केही समय चक्काजाम गरेका हौं’ युवा संघका अध्यक्ष महेश बस्नेतले भन्नुभयो -’हाम्रो आन्दोलनले दिउँसो काम गरेका जीविका गर्नेलाई अप्ठेरो पर्दैन ।’
बिहान चाहिं असर गर्दैन ?
जनताको हितको लागि थोरै समय मात्र चक्काजाम गरेको युवासंघको दावी छ । तर बिहान काम विशेषले हिँडडूल गर्ने चाहिं जनता होइनन् र ? युवासंघको चक्काजामले बिहान पढाई हुने स्कूल र क्याम्पस बन्द भए । तरकारी किनबेच गर्नेहरुले सास्ती खेपे । दिउँसो जस्तै बिहान काम गरेर गुजारा गर्नेहरु पनि उत्तिकै छन् । तर युवा संघले जनताको हितकै लागि बन्द गरेको दावी गर्छ ।
बन्द गर्नु हुँदैन भनेर कराउनेमा एमालेकै नेताहरु पनि पर्छन् । तर उसकै युवा संगठन भने नयाँशैलीको बन्द भन्दै सडकमा रमिता देखाउँदैछ । यो बन्दले सरकारलाई त उस्तै हो काम्रेड, जनतालाई चाहिं असर गर्यो ।

No comments:

Post a Comment