Wednesday, August 8, 2012

विनाअप्रेसन मुटुको उपचार भन्दै ठग्नेहरुको विगविगी

२४ साउन , काठमाडौं। स्वास्थ विज्ञानमा अहिलेसम्म सम्भव नै नदेखिएको ‘विनाअप्रेसन सम्पूर्ण मुटुरोगको उपचार’ भन्दै भ्रामक प्रचार गरेर एक संस्थाले सर्वसाधारणलाई ठगी गरिरहेको छ । दरबारमार्गस्थित शेर्पा मलमा सञ्चालित हिलटेकसाओल हेल्थ सेन्टर प्रालिले स्वास्थ्यजस्तो संवेदनशील विषयमा एक वर्षदेखि ठगीको धन्दा चलाउँदा पनि सम्बन्धित निकाय भने मौन छ ।
‘सम्पूर्ण मुटुरोगको जादुगरी उपचार’ भन्दै हिलटेकले भ्रामक प्रचार–प्रसार गरिरहेको छ । होर्डिङ बोर्डदेखि पत्रपत्रिकासम्ममा उसले हृदय रोगबाट मुक्ति, हार्ट अटयाक, बाइपास सर्जरी, एन्जिओप्लास्टी र ब्लाकेजको विनाअप्रेसन उपचार भनेर प्रचार गरिरहेको छ । त्यसबापत उसले एक बिरामीबाट एक लाख २५ हजार रुपियाँसम्म असुलिरहेको छ ।
स्वास्थ्य मन्त्रालयको निजी तथा गैरसरकारी स्वास्थ्य संस्था स्थापना, सञ्चालन नीति, मापदण्ड एवं पूर्वाधार निर्देशिका २०६१ मा मुटु उपचारको सेन्टरका लागि विशेषज्ञ चिकित्सकसहितको अत्याधुनिक उपकरण हुनुपर्ने व्यवस्था गरिएको छ । तर, हिलटेकमा दुईजना एमबिबिएस चिकित्सक र इन्ह्यान्स एक्स्ट्रनल काउन्टर पल्सेसन (इइसिपी) नामको एउटा सामान्य मेसिन मात्रै छ ।
चिकित्सकहरूका अनुसार हिलटेकले दिने इइसिपीको उपचार पद्धतिले छातीको दु:खाइ मात्रै कम गर्ने हो। शारीरिक अवस्थाका कारण मुटुको शल्यक्रिया गर्न सम्भव नहुने, नसामा स्टेन्ट राख्न नमिल्ने वा सर्जरीपश्चात् एन्जाइनाका कारणले छाती दुख्ने बिरामीका लागि विकल्पको रूपमा मात्रै इइसिपी पद्धतिबाट उपचार गरिन्छ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अध्यक्ष तथावरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले इइसिपी पद्धति बाइपास सर्जरीको विकल्पनभएको बताए । ‘यो पद्धतिले रोग निर्मूल हुने नभई बिरामीको छातीको दु:खाइ मात्रै कम गर्न सहयोग पुर्‍याउने हो,’ उनले सौर्यसँग भने । उनका अनुसार यो पद्धति अपनाउनै परे पनि मुटुरोग विशेषज्ञको निगरानीमा मात्रै गरिन्छ । तर, हिलटेकमा एमबिबिएस पास गरेका चिकित्सक मात्रै छन् ।
स्वास्थ्यजस्तो संवेदनशील विषयमा हिलटेकले सर्वसाधारणलाई ठगी गरिरहेको जानकारी स्वास्थ्य मन्त्रालयलाई गराउँदासमेत कुनै सुनवाइ नभएको डा. रेग्मीले बताए । ‘हिलटेकले विनाशल्यक्रिया एन्जियोप्लास्टी गर्ने प्रचार गरी नेपाली बिरामीहरूलाई भ्रममा पारेर अर्थोपार्जन गर्ने काम गरिरहेको छ,’ डा. रेग्मीले भने, ‘यसको हामीले पहिलेदेखि नै विरोध गरिरहेका थियौँ तर स्वास्थ्य मन्त्रालय अहिलेसम्म चुप लागेर बसेकोछ ।’
नेपालमा मुटुरोग उपचारका लागि ख्याति कमाएको गंगालाल अस्पतालका निर्देशक डा. मनबहादुर केसीले पनि इइसिपी पद्धतिबाट छातीको दु:खाइ मात्रै कम हुने बताए । उनका अनुसार बाइपास सर्जरीको कुनै विकल्प नै नभएका मानिसलाई दु:खाइ कम गर्न यो उपचार विधि अपनाइन्छ । गंगालालमा पनि इइसिपी मेसिन छ । एकजना बिरामीबाट १४ हजार रुपियाँ लिएर गंगालालले उपचार गर्छ ।
स्वास्थ्य मन्त्रालयका सहसचिव डा. तीर्थराज बुर्लाकोटीले विनाअप्रेसन मुटुको उपचारका नाममा ठगी गरिरहेको विषयमा आफूले पनि सुनेको र सोसंस्थाको खोजी भइरहेको बताए । ‘शल्यक्रिया नै नगरी मुटुको सम्पूर्ण उपचार गर्छु भन्ने सेवा अहिलेसम्म विश्वमा नै सम्भव भएको छैन,’ उनले सौर्यसँग भने । सर्वसाधारणलाई झुक्याएर ठगी गर्ने त्यस्ता संस्थालाई जिल्ला प्रशासन कार्यालयको सहयोगमा कारबाही गरिने बुर्लाकोटीले बताए । ‘सम्भव नै नभएको विषयमा झुठोप्रचार गरेर काम गर्नु सरासरी ठगी हो । यस्ता संस्थालाई तुरुन्त कारबाही गरिन्छ,’ उनले भने ।
कुनै पनि उपभोग्य वस्तु वा सेवाको प्रयोग, उपभोग र प्रभावकारिताको विषयमा भ्रमपूर्ण प्रचार–प्रसार वा विज्ञापन गरी अनुचित व्यापारिक क्रियाकलाप गरेमा उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार कसुर मानी कारबाही हुन्छ । ऐनको दफा १० मा यस्ता क्रियाकलाप गर्नेलाई पाँच वर्ष कैद वा एक लाख जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यसका साथै मानिसको ज्यान र उपचारसम्बन्धी सेवा भएकाले स्वास्थ्य ऐनअनुसार यसरी ठगी गर्ने संस्थालाई ज्यान मुद्दासमेत लाग्छ ।
वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिँडारीका अनुसार कुनै उपभोग्य वस्तु वा सेवालाई अर्को उपभोग्य वस्तु वा सेवा हो भनी वा निम्नस्तरको उपभोग्य वस्तु वा सेवालाई उच्चस्तरको उपभोग्य वस्तु वा सेवा हो भनी ढाँटी वा झुक्याई बिक्रीवितरण गर्नेलाई ऐनअनुसार जेलसजाय र जरिवाना हुन्छ ।
‘कुनै उपभोग्य वस्तु वा सेवाको प्रयोग, उपयोगिता वा प्रभावकारिताको सम्बन्धमा झुट्टा वा भ्रामक प्रचारप्रसार वा विज्ञापन गर्ने किसिमले अनुचितव्यापारिक क्रियाकलाप गर्न पाइँदैन,’ उनले भने, ‘यस्तो कार्य गर्ने जुनसुकै संस्था वा व्यक्तिलाई हामीले प्रशासनमा मुद्दा हाली कारबाही गर्छा ।’
सौर्यले जानकारी लिन मंगलबार हिलटेकको ४२२५४६७ नम्बरमा फोन गर्दा जिम्मेवार व्यक्ति कोही भेटिएनन् । फोन उठाउने महिला कर्मचारीका अनुसार ‘जिम्मेवार व्यक्तिहरू एक साताका लागि बाहिर गएका’ छन् । उनले हिलटेकले दिने सेवाबापत एकजनाबाट एक लाख २५ हजार रुपियाँ लिने गरेको बताइन् । ‘हामीकहाँ डा. प्रवीण र अमिना दुईजना डाक्टर हुनुहुन्छ, उहाँहरूले नै बिरामीको उपचार गर्नुहुन्छ,’ उनले भनिन्, ‘एकजना बिरामीको उपचार ३५ दिनको प्याकेजमा हुन्छ र एक लाख २५ हजार रुपियाँ लाग्छ ।’ आजको शौर्य दैनिकले समाचार छापेको छ ।

No comments:

Post a Comment