story नेपाली लघुकथा…

परिवर्तन....

त्यो कार्यालयमा भ्रष्टाचार सदाचार नै बनेको थियो । सेवाग्राहीका कुनैपनि काम दाम बिना हुँदै-हुँदैनथ्यो । कागज हेर्न दस्तुर, मान्छे भेट्न सलामी, फाईल खोज्न दक्षीणा र दस्तखतका लागि नजराना नभै कुनै काम हुँदैनथ्यो ।
मागेरै खाने, ढाँटेरै खाने, हप्काएर खाने र तर्साएरै खानेले आजित भएपछि जनस्तरबाटै दबाब बढ्यो । केन्द्रसम्मै खबर पुगेपछि सेवाग्रहीका काम बिना घुस र बिना नजराना गराउन एकजना निरीक्षक खटिए सो कार्यालयमा । कार्यालयमा निरीक्षक आएपछि २-४ दिन सेवाग्राहीका काम दाम दक्षीणा बिनानै भए ।
केही दिन पश्चात भने सो माहौल परिवर्तन भएको आभाष पाए जनताले । पुराना हस्तीहरु फेरि पनि सेवाग्राहीसंग बेधक दस्तुर माग्न थाले । अचम्मको कुरा के थियो भने अबका दिनमा दस्तुरको रेट पहिले भन्दा बढेको थियो । नयाँ आएका निरीक्षकको पनि भाग छुट्याउनु पर्ने भएकोले साबिक बमोजिम लिँदै आएको चिया खर्च र दस्तुरीमा बृद्धि गर्नु परेको बताएर कर्मचारीहरु पहिला सय लिने कामको लागि डेढ सय र हजार को बाह्र सय आदिको दरमा फेरि सेवाग्राहीलाई सताउन थाले ।
पीडित सेवाग्रही फेरि समस्या लिएर सम्बन्धित निकायमा धाउन थाले । स्थितिको गाम्भिर्यलाई ध्यानमा राखेर यसपाला भने केन्द्रबाट त्यो कार्यालयको हेरक काउण्टर र जन सम्पर्क हुने कोठामा स्वचालीत क्यामारा राखेर निगरानी गर्ने प्राविधिक अनुगमनको अचुक उपाए अबलम्बन हुने बताईयो ।
हाल सो कार्यालयका हरेक कोठा र हरेक टेबल माथी हरपल निगरानीका लागि स्वचालीत क्यामरा चलेका छन् अनि सेवाग्राहीहरु पनि क्यामरा मुनि नै दस्तुर र दक्षीणा दिन बाध्य छन । यो प्राविधिक प्रयोग पछि परिवर्तन नभएको होईन, परिवर्तन भएकै छ….जनताहरुले कामको लागि सो कार्यालय धाउँदा उक्त अदृश्य प्राविधिकको समेत भाग थप गरी दस्तुर बुझाउन थालेका छन् ।
उधारो आदर्श (लघुकथा)
सडक छेउको चिया पसलमा शिक्षित जस्ता देखिने तीन जना युवकहरु धूँवादार राजनैतिक वहसमा लागेका थिए । तीनै जना भिन्न-भिन्न दल र राजनैतिक सिद्धान्तमा विश्वास राख्ने भएकाले आफूहरु सो दल वा गुटमा किन लागेको भन्ने वारेमा आ-आफ्नो तर्क दिँदैं थिए ।
“…म सक्रियताका साथ लागेको दल सधैं सत्तालाई भन्दा सत्यलाई बढी स्थान दिन्छ…” पहिलो युवकले आफ्नो संलग्नताको आधार खुलाउँदै भन्यो “…राजनीति स्वार्थको लागि हैन, सेवाको लागि हुनुपर्छ भन्नेमा मेरा नेताहरुको एक मत छ, त्यसैले म यो दलमा प्रवेश गरेको”।
“मेरो पार्टीका नेताहरु हरेक समस्या र मुद्दामा सधैं एकजुट हुन्छन्…” दोस्रो व्यक्तिले आफ्नो विचार प्रष्ट्याउँदै भन्यो “… राजनीतिमा एकता र अखण्डता भन्दा ठूलो कुरा अरु केही छैन, त्यसैले म यही पार्टीलाई समर्थन गर्छु ” ।
“मेरो दलका नेताहरु राष्ट्रप्रति एकदमै बफादार र राष्ट्रभक्त छन…” तेस्रो व्यक्तिले आफ्नो आस्थाका कारण बताउँदै भन्यो “…मेरो दल विदेशीका सामु कहिल्यै झुक्दैन, त्यसैले म यो यो दलमा लागेको”।
उनिहरु देशको तात्कालिक राजनीतिको बारेमा यसरी चर्काचर्की गर्दैथीएँ मानौं ति सबै दलका राष्ट्रिय मुद्दा र राजनैतिक निर्णयका अन्तिम निर्णायक उनिहरु नै हुन ।
त्यत्तिकैमा चिया पसलमा चौंथो युवकको प्रवेश हुन्छ ।
“तिमीहरु सबै यहीँ नै रहेछौ,…देशमा भर्खरै ठुलो राजनैतिक परिवर्तन भएको छ …थाहा पायौ ?…” भित्र पस्दापस्दै चौँथो व्यक्तिले पहिलो व्यक्तितर्फ हेर्दै भन्यो “…तिम्रो दलले आफ्नै सरकार बने मात्रै समस्या समाधान हुने भन्दै अहिलेको सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गराएको छ..”।
त्यसपछि उ दोस्रो युवकतर्फ फर्यो “…अनि तिम्रो दलका नेताहरु बीच भने हालको अबस्थामा के गर्ने भन्ने वारेमा गम्भीर मतभेद भएछ…” उसले अगाडि भन्यो ” …त्यसैले अब कसलाई समर्थन र कस्को विरोध गर्ने भन्ने वारेमा मतभेद हुँदा तिम्रो दल टुक्रीने पक्का भएको छ “।
त्यसपछि उसले तेस्रो व्यक्तिलाई हेर्दै भन्यो “परिवर्तत अबस्थामा के निर्णय लिने भने निर्क्योल गर्न नसकेपछि तिम्रा दलका वरिष्ठ नेतहरु भने अहिले छिमेकी राष्ट्रका राजदूत भेट्न विदेशी नियोगमा पुगेकाछन् ” ।
तीन सुत्रकथा

महान नेता
महान नेताले नागरिक हितकोलागि दिनभर शहरलाई अस्तव्यस्त बनाउनु भयो । कतै भुसतिघ्रे लगाएर प्राध्यापक कुटाउनु भयो, कतै ढुंगामुडा गरेर गाडीका सिसा फुटाउनु भयो । साँझमा दिनभर भएको जन-धनको क्षतिको विवरण जुटाउनु भयो। अनि यो सरकारले शान्ति स्थिति कायम राख्‍न नसकेकोले आफैंले सरकार बनाउन पाउनु पर्ने कुरा उठाउनु भयो ।
राष्ट्रभक्ति
कवि सम्मेलनमा कविज्यूले राष्ट्र प्रेमले ओतप्रोत भएको एकदमै मनछुने कविता बाचन गर्नु भयो । श्रोताहरु उनको राष्ट्र प्रेम देखे मुग्ध भए, निर्णायकहरु उनको वीर रसको भाव सुनी स्तब्ध बने । तुरुन्तै उनको राष्ट्रभक्तिको कदर गर्न दुई हप्ता पछि दोशल्ला ओढाउने निर्णय भयो ।
कार्यक्रको दिनमा कविज्यूको सट्टा अर्कै व्यक्ति पुरस्कार थाप्न आए, अनि कविज्यू आफ्नो डि.भि. को उपयोग गर्दै अघिल्लै हप्ता अमेरिका तर्फउडेको बताए ।
यथार्थ र आदर्श
के.एफ. सी. को फास्ट फुड खाँदै गर्दा, एकजना विदेशी साथीले युट्युबमा हेरेको गढीमाई मेलाको भिडियोको चर्चा उठायो। यस्तो हिंसा बन्द गर्नु पर्ने जोडदार तर्क जुटायो। मैले आफू मांसहारी भएसम्म यस्तो कुराको विरोध गरेर बुद्धि बिलास नगर्ने बताउँदा बताउँदै नजिकै आईसकेको चाडको लागी टर्की जुटाउन हत्तार भएको भन्दै आफ्नो बाटो ततायो ।
एकादेशको कथा
(लघुकथा स्थिति: संसारको कुनै कुनामा एउटा यस्तो देश थीयो,जहाँ- प्रशासकहरु योजना बनाउँथे, प्राविधिकहरु प्रशासन चलाउँथे । व्यापार गर्नलाई विद्यालय खोलिन्थ्यो, चुनाव जित्नलाई असत्य बोलिन्थ्यो । समाचारको नाममा दलद्वारा एकपक्षीय पत्रिका चलाइन्थ्यो, सत्याग्रहको नाममा नेताद्वारा राष्ट्रिय सम्पत्ति जलाइन्थ्यो । हाकिमहरु इमान्दारिको नारा दिएर कराउँथे, दस्तुर बुझाउन नसक्नेका फाईलहरु अफिसबाटै हराउँथे ।
प्रगति: चाकडिवाजहरु पोसिन थाले, इमान्दार कर्मचारीहरु खोसिन थाले । नेताहरु देश भुली, कुर्सीमै रमाउन थाले, शिक्षकहरुले चक डस्टर छाडी झण्डा समाउन थाले । पार्टीका अयोग्यले पनि उच्च पद पाउन थाले, बुद्धिजिवी र शिक्षितहरु विदेश धाउन थाले। शहरमा उपचार महँगो भएर बिरामी मर्न थाले, जिल्लाका अस्पतालमा पिउन पालेले अप्रेशन गर्न थाले ।
परिणति: सरकारी स्कूलमा पढ्नेलाई कसैले मानेनन् , बोर्डिङमा पढ्नेले आफ्‍नै भाषा पनि बोल्न जानेनन्। देशमा विदेशी छिर्न थाले, आर्थिक स्थिति गिर्न थाले । नेताहरु आ-आफैं लड्न थाले, भ्रष्टाचार दिनदिनै बढ्न थाले। धर्म र परम्परा मैलिन थाल्यो, देशमा विदेशी संस्कृति फैलिन थाल्यो । योजनाहरु सबै मन्द भए, बिकास निर्माण बन्द भए ।
समष्टि: संसारको कुनै कुनामा एउटा यस्तो देश थियो,अहिले पनि त्यस्तै छ पचास बर्ष अगाडि जस्तो थियो
...समय यात्रा -एक विज्ञान कथा-

आधा रातको निस्तब्धतामा सायद पुरै अस्तित्व निन्द्राको काखमा पौडिरहेको थियो। तर नेपालको उत्तरी हिम श्रृङ्खला को बीच बनेको एउटा अनकन्टार सानो उच्च हिमाली मैदान माथीको आकाशमा एउटा अत्यन्तै उज्वल तर शीतल प्रकाशपुञ्ज देखियो । प्रकाश तीव्र गतिकासाथ हिमाली मैदानको नजिक आउँदा त्यो प्रकाशपुञ्जको आकार पनि झन् झन् बढ्दै थियो तर बिना आबाज…..।
मैदानको नजिक पुग्दा देखियो त्यो कुनै प्रकाशपुञ्ज नभै एउटा गोलाकार यान थियो र जुन बिना आबाज आरामसंग जमिनमा अवतरण गर्दै थियो । यानको माथिल्लो भागमा “अन्वेषण -३” लेखिएको थियो रत्यसको मुनि “नेपाल खगोल विज्ञान तथा समयारोहण अध्ययनशाला” लेखिएको थियो । यान जमिनमा अवतरण भएपछि मधुरो प्रकाश मात्रै त्यसमा बाँकी रह्यो र यानको तल्लो भागमा एउटा स्वचालित ढोका बिस्तारै खुल्यो । यानको ढोका खुल्ने बित्तिकै भित्रबाट एकजना ६५-७० का जस्ता देखिने कपाल र दाह्री सेतै फुलेका व्यक्तिसँगै करिब २०-२५ वर्षका जस्ता देखिने १० -१२ जना मानिस पनि बाहिर निस्के । उनीहरूलाई ‘मानिस’ भन्नुमा कुनै आपत्ति नहोला कारण उनीहरूको आकार प्रकार र शारीरिक बनोट हाम्रै जस्तै थियो, सायद हात खुट्टा अलि मसिना र टाउको अलिकता ठूलो मात्रै …।चिसो मैदानमा निस्कने बित्तिकै ती युवाहरूले भुईमा एक प्रकारको बाक्लो चकटी जस्तो आसन ओछ्याए । र सबै जना त्यसमा बसे। ती बुढा व्यक्ति पनि उनको लागि राखिएको बीचको आसनमा बसे … दृश्य हेर्दा यस्तो लाग्थ्यो ती बुढा व्यक्ति उनीहरूका गुरु थिए र ती जवानहरू उनका विद्यार्थी ।
सबै जना आफ्नो आसनमा बस्ने बित्तिकै ती बुढा व्यक्तिले आफ्नो कुरा सुरु गरे: “ हामीहरु आज यो २००० वर्ष अगाडिको भूतकालमा आउनुको मुख्य कारण तिमीहरूलाई आफ्नै पूर्वजहरूको बरेमा वस्तुगत जानकारी दिनु मात्रै हो… ” ।
त्यसपछि ती बुढा प्राध्यापकले करिब १ घण्टा जत्ती त्यही स्थानमा बसेर आफ्ना विद्यार्थीहरूलाई विभिन्न कुराहरू बताए। वातावरण प्रदूषण देखि, भूमण्डलीय तापक्रम वृद्धि अनि आणविक हतियार देखि सौर्य उर्जाका विविध प्रयोग सम्मका । त्यसका साथै नेपाल लगाएत विश्वका देशहरुको राजनीति र द्वन्द समेतका विषयमा गम्भीर चर्चा भए । अनौठो कुरा के भने उनीहरूले चर्चा गरिरहेका सबै विषयहरू संसारमा अहिले घटि रहेका घटनाहरू थिए …तर अचम्म उनीहरू त्यसलाई “भूतकाल” मा व्यक्त गर्दै थिए ।
आफ्नो आख्यान सक्काए पछि तिनले आफ्ना विद्यार्थीहरूतर्फ प्रश्न सूचक दृष्टिले हेर्दै भने :” तिमीहरुलाई आफ्नो इतिहास बारे अरू केही सोध्नु छ ?” ।
“…हामीहरु अहिले देखिएको यो स्थितिबाट विकसित भएर आएका हौं भने यो तत्कालीन चौआयामिक समय कालमा रहेका सबै मानिसहरू हाम्रा पूर्वजहरु हुन…” । एक जना विद्यार्थीले प्रश्न गरे: “…अहिले हामी रहेको यो चौआयामिक समय २०६७ साल छ र हाम्रो वास्तविक समय काल ४०६७ साल हो । तब के त, अहिले यहाँकुनै मानिसलाई भेटेर हामीले हाम्रो बारेमा बतायौं भने उनीहरूले विश्वास गर्लान त ?” ।
यस पटक ती बुढा प्राध्यपकले लामो सुस्केरा हाले अनि बिस्तारै बोल्न सुरु गरे:” आजको यो समय-यात्राको अर्को उद्देश्य यो पनि हो कि, तिमीहरुले यो कुरा बुझ्नु पनि जरुरी छ कि हाम्रा पूर्वजहरुले कति अभाव र दु:खका बीच यो विज्ञानको ढोका खोलेका थिए । जसको मद्दतबाट आज हामी इतिहासको यात्रा र वर्तमानमा पूनरागमन दुवै गर्न सक्छौं …”। उनले अगाडि भने “… हाम्रो यो समयारोहण यान उनिहरुकै योगदानको फल पनि हो । तर पनि अहिलेको स्थितिमा यो यथार्थलाई कसैले बुझ्ने छैनन् । सायद यो परावैज्ञानिक कुरा बुझ्न सक्ने मानिस र त्यो पनि नेपालमा त ज्यादै कम होलान…” । उनले आफ्नो कुरा जारी राखे :”… किनभने पश्चीमी देशमा Time Machine को परिकल्पना १८औं शताब्दी देखी नै चले पनि नेपालमा भने बि. सं. २४२५ देखि मात्रै यसतर्फ सोच्न थालिएको थियो । समय पनि एउटा पदार्थ नै हो र कुनै पनि पदार्थको लम्बाई, चौडाई उचाइ र गहिराई जस्तै समयको आयाम भित्र पनि आवत जावत गर्न मिल्छ भन्ने कुरा सुनेर मात्रै हुदैँन बुझ्न निकै कठिन हुन्छ “।
“हैन… यो कुरा साह्रै जटिल त छैन नि?” अर्का एकजना विद्यार्थीले फेरि प्रश्न गरे । “सरलता र जटितला भन्ने कुरा वैज्ञानिक सिध्दान्तको कुरा मात्रै नभै समाजको विकास र यन्त्र वा उपकरणको उपलब्धतामा पनि भर पर्छ ।…कुनै पनि कुरालाई बोल्नु र लेख्नु मात्रै हैन प्रमाणीत गरेर देखाउन नसकिने अबस्थामा साँचो कुरा नै भएपनि मानिसले विश्वास गर्ने छैनन् ।
“ध्वनी भन्दा छिटो गतिमा चल्ने यानको निर्माण भएमा कुनै यान आकाशमा उडेर अवतरण गरीसकेपछि मात्रै त्यसको ध्वनी सुनिन्छ भन्ने कुरा समेत मानिसलाई सुरु सुरुमा विश्वास गर्न निकै गाह्रो भएको थियो …”। प्राध्यापक आफ्नो आख्यान जारी राख्दै बताउन थाले:”.. त्यसरी नै प्रकाशको गति भन्दा छिटो चल्ने यान निर्माण भएमा पहिला यान अवतरण हुन्छ र त्यसपछि मात्रै यानको छायाँ देखिन्छ… यो कुरा सुन्नु र बुझ्नुमा धेरै फरक छ…” । निकै लामो आख्यान पछि उनले आफ्नो आख्यान पुरा गरे :”… कुनै पनि यानको गति प्रकाशको गति भन्दा बढीभएमा त्यो समयको चौआयामिक स्थितिमा प्रवेश गर्न सक्छ भन्ने कुरा अहिलेको शिक्षित मानिसले सिद्धान्तगत रुपमा बुझे पनि प्रयोगात्मक रुपमा सम्भव मान्ने छैनन् किनकि हालको अबस्थामा त्यसको प्रयोगात्मक परिक्षण गर्ने उपलब्धता मात्रै हैन सोचको समेत अभाव छ” ।
“ल आउ अब हामी हाम्रो देशको भौगोलिक परिवर्तनको बारेमा बुझौं…” यति भन्दै प्राध्यापक फेरि बोल्न सुरु गरे:” अहिले यो चौआयामिक समयकाल अर्थात २०६७ सालमा सगरमाथाको उचाइ ८८४८ मिटर छ, तर बि. सं. २६७८ मा नेपालको उत्तर पुर्वी भागमा ठूलो भुकम्प जान्छ र तिब्बतियन प्लेट माथि उठ्दा सगरमाथाको उचाइ पनि ९०१२ मिटर हुन्छ…” । “त्यसो भए त त्यतिबेला धन जनको निकै ठूलो नोक्सान भयो होला नि…?” एक जना बिद्यार्थीले प्रश्न गरे । “..धनको नोक्सान भए पनि जनको भने हुन पाएन…” प्राध्यापकलेमुस्कुराउँदै भने “.. किनकि त्यसको ५ वर्ष अगाडि नैनेपालका वैज्ञानिक जगदिश शर्माले “भुकम्प सूचक यन्त्र”को आविष्कार गरी सकेका थिए र भूकम्प जानुभन्दा १२ घण्टा अगाडि नै मानिसहरु यस्ता दैवी प्रकोपको भविष्यवाणी गर्न सक्षम भैसकेका थिए” ।
“…ल हिँड… त अझै केहीसमय बाँकी नै छ…हामी अब २६७८ सालको फागुन १३ गतेमा जाऔं र सो भौगोलिक परिवर्तनलाई आफ्नै आँखाले हेरौँ”
सबै जना यान भित्र प्रवेश गरे र यान फेरि बिना आबाज अन्तरिक्षमा बतासिएर एकैछिनमा गाएब भयो ।..
संसारको भिन्न भिन्न दुई कुनामा एकै दिन र एकै समयमा दुईजना बालकको जन्म हुन्छ । प्रकृतिको नियम भनौँ वा ग्रह-नक्षत्रको प्रभाव, भिन्न स्थान, भौगोलिक वातावरण, समाज र परिस्थितिमा जन्मेर पनि सानै देखि दुवै जनाको स्वभाव र आचरण एकै प्रकारको देखिन थाल्छ ।
दुवै बालकहरु सानै देखि अटेरी, जिद्दी र झगडालु देखिन थाले । एउटा स्थानका अभिभावकहरूको अनुहारमा आफ्नो छोराको त्यो स्वभाव देखेर चिन्ताका रेखाहरु देखिन थाल्यो भने अर्को स्थानमा वच्चा निर्भीक र निडर भएको निर्क्योल निकालियो ।
किशोर अबस्थामा प्रवेश गर्दा पनि दुबैमा प्राकृतिक समानता र प्रवृत्तिगत समरुपता प्रष्टै देखियो। दुवै बालकहरु पढ्न भन्दा लड्न, सम्बाद भन्दा विवाद र तर्क भन्दा मुढे बलमा आश्रित हुँदैँ जानथाले।
जवानीमा प्रवेश गर्दाको समयमा दुवै जनामा अभिमान, अहंकार र घमंडको चरमता प्रष्टै देखिन्थ्यो भने दुवै जना आ-आफ्नो स्थानमा बल मिच्याईँ, गुटबन्दी र उपद्रोहरुमा सम्मिलित हुन थालेका थिए । वैयक्तिक गुण, चरित्र र रवैया एकै प्रकारको भए पनि देश काल परिस्थिति को भिन्नताका कारण दुबैजनालाई समाजले हेर्ने दृष्टिमा भने आकाश जमिनको अन्तर देखिन थाल्यो ।
एक स्थानको युवक उसका असामाजिक क्रिया-कलाप, झगडालु स्वभाव र कट्टरपन्थी सोचका कारण स्थानीय प्रशासन र सुरक्षा निकायको निगरानीमा पर्न थाल्छ भने अर्को स्थानको व्यक्ति भने समान चरित्र र उस्तै व्यक्तित्वका कारण पनि हक्की, साहसी र नेतृत्व दिन सक्ने नेताको रूपमा चिनिन थाल्छ ।
समय बित्दै जाँदा, दुवै जना आ-आफ्नै नैसर्गिक गुणका कारण मुठभेड, भिडन्त र तोडफोडमा उत्रन थाले । एउटा देशमा सो कुरा सामाजिक व्यवस्था, शान्ति सुरक्षा र स्थानीय कानुनको खिलाफ भएकोले कानुनी राज्यको स्थिति बनाइ राख्न र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सो व्यक्तिलाई कानुनी नियन्त्रणमा लिइन्छ र जेल चलान गरिन्छ । तर सुनिन्छ अर्को देशको व्यक्ति भने आजकल सो देशको ठूलो नेता, विद्वान राजनीतिज्ञ र कट्टर देशभक्तको रुपमा प्रतिस्थापित भइसकेको छ रे !......
प्राडो चढ्ने सर्वहारा नेताका मोटरसाइकल चढेर आएका क्रान्तिकारी कार्यकर्ताले बन्दको बेलामा साइकल चढेर हिँड्ने सामन्ती लाई नराम्रो सँग गोदेछन् ।
आँङको भैसी
यातायात क्षेत्रमा सिन्डिकेट प्रणाली खारेज गर्ने मिलुजुली सरकारका दुई दलले शान्ति स्थापना र राज्य व्यवस्थाका विविध कार्यहरूलाई चरण बद्ध रूपमा कार्यान्वयन गर्न पालै पालो सरकार प्रमुखको भूमिका निर्वाह गर्ने निर्णय गरेछन्”
खोक्रो आदर्श
जातिय विभेदको अन्त र स्वतन्त्रता र समानताको बढावा गर्ने आयोजना गरिएको सामाजिक भेलामा बोल्न आएका विद्वान नेताले आफू, कनिष्ठ नेता र दलित जाती सबैलाई एउटै लहरमा राखेर आयोजकले आफ्नो वेइज्जत गरेको ठम्याई भेला बहिष्कार गरेछन् ।
पाखण्ड
देशमै औषधि उपचारको यथोचित सुविधा उपलब्ध भएको सारगर्भित भाषण सक्काउने बित्तिकै रुघाखोकीको उपचार गर्न वरिष्ठ नेता विदेशतर्फ लागेछन् ।...