Wednesday, August 15, 2012

के गर्दैछन् भ्रष्टाचारी खुमबहादुर ?

३१ साउन, काठमाडौं । जाने बेला भएको मान्छे सिद्धियो भने उसका आफन्त, परिवार, छरछिमेकी तथा शुभचिन्तकले एकछिन शोक मनाउँछन् । कति रुवाबासी गर्छन् । कति न्याउरो अनुहार मात्र लगाएर शोक प्रकट गर्छन् । पछि विस्तारै सबैले आफूलाई सम्हाल्छन् । जाने बेला भएको थियो, गयो भनेर चित्तबुझाउँछन् । पूर्वमन्त्री एवं कांग्रेस नेता खुमबहादुर खड्काको भ्रष्टाचार प्रकरणमा पनि झण्डै यस्तै भएको छ ।
यसअघि चिरञ्जीवि वाग्ले, गोविन्दराज जोशी, जयप्रकाशप्रसाद गुप्ताको जस्तै हालत खड्काको पनि हुन्छभन्ने कुरा सबैलाई राम्रैसित थाहा थियो । स्वयं खड्का र उनको परिवार पनि सर्वोच्चको फैसला विपक्षमै आउँछ भन्ने मनस्थितिमा थिए । तर फैसलालाईप्रभावित पार्न सकिन्छ कि भनेर खड्काले ठूलै हल्लीखल्ली गरे । समर्थकलाई सडकमा उफारे । सर्वोच्चको फैसला लगत्तै उनका समर्थकले सर्वोच्च आसपासको सडकमा रमिता पनि देखाए । सर्वोच्चको बिरोध गरे । खड्काको समर्थनमा जिन्दावादको नारा घन्काए । समर्थक र कार्यकर्ता मात्रै होइन, कांग्रेसका नेता कार्यकर्ता पनि सर्वोच्चको फैसलाप्रति आक्रोशित भए । अदालतले कांग्रेसलाई मात्र हेप्छ भन्दै केटाकेटी कुरा गरे । खड्काको गृहजिल्ला दाङमा बुधबार बिहान उनका समर्थकले केहीबेर बन्द गर्ने प्रयास पनि गरे । तर एकछिन उफ्रेपछि उनीहरुको रहर पुग्यो ।
ढिलोचाँडो खोरतिर जानुपर्ने खड्का अब जानेभए भनेर उनका समर्थकले पनि चित्त बुझाउन थालेका छन् । मान्छे मरेपछिको एकछिनको रुवाबासी झैं खड्का समर्थकहरुको आक्रोश र चिन्ता पनि मत्थर हुन थालेको छ ।
समर्थकहरुको साथ त विस्तारै घट्न थालेको छ । तर, सुरक्षाकर्मीको साथ चाहिं हटेको छैन । पूर्व गृहमन्त्रीको हैसियतमा खड्काले अझै सुरक्षा लिइरहेका छन् । उनको निवासमा खटिएका सुरक्षाकर्मी फिर्ता भएका छन् । दुईजना असई सहित झण्डै आधी दर्जन प्रहरी खड्काको सुरक्षामा पहिलेदेखि नै खटिँदै आएका छन् ।
खड्का परामर्शमै
सर्वोच्चको फैसला आज आउँछ भनेर खड्कालाई मंगलबार बिहानदेखि नै छटपटी थियो । व्यापक बिरोध गर्नु भनेर उनले समर्थकलाई अह्राउँदैथिए । ललितपुर सानेपामा रहेको उनको घरमा मान्छेको आऊजाऊ मंगलबारदेखि नै शुरु भयो । दिउँसोसम्म त्यहाँ पुगेकाले उनलाई चिन्ता नलिन भने । कसैकसैले त हाम्रै पक्षमा फैसला आउँछ भनेर पनि शान्त पार्न खोजे । जब फैसला खड्का बिरुद्ध आयो, कोही आक्रोशित भए । कोही निराश । सर्वोच्च आसपासमा भएका एकछिन उफ्रे । खड्काको घरमा भएकाले सान्त्वना दिन थाले । मान्छे मरेको घरमा परिवारका अरुलाई सान्त्वना दिन गए झैं कांग्रेसका नेता, कार्यकर्ता मंगलबार बेलुकादेखि नै खड्का निवासमा आइजाई गर्न थाले । यो क्रमले बुधबार पनि निरन्तरता पाएको छ ।
सर्वोच्चको फैसलालाई अन्यायपूर्ण भनेका खड्काले फैसला अध्ययन गरेपछि मात्र थप प्रतिकृया दिने बताएका छन् । उनले सर्वोच्चमा पुगेर आत्मसमर्पण गर्ने तयारी त गरेका छन् । तर कहिले भन्ने टुंगो लागेको छैन । ‘उहाँ अझै छलफल र परामर्शमा हुनुहुन्छ’ खड्काका एक सहयोगीले बताए । कांग्रेसका शेरबहादुर देउवा लगायतका नेता निवासमै पुगेर खड्कासित छलफल गरिरहेका छन् । धेरैले सर्वोच्चको फैसलालाई सम्मान गर्दै अदालतमा उपस्थित हुन भनेका छन् । तर सर्वोच्चले आफ्नो पार्टीकालाई मात्र निशाना बनायो भन्ने चाहिं उनीहरुको गुनासो र आरोप छ ।
सहकर्मी र समर्थकको कुराले खड्का कहिले उत्साही र कहिले निराश जस्ता देखिन्छन् । ‘खड्काजी अहिले निकै निराश हुनुहुन्छ, बोल्न तयार हुनुहुन्न’ हाम्रो जिज्ञासामा उनका सहयोगीले भने ।

No comments:

Post a Comment