Saturday, August 11, 2012

यातायात व्यवसायीको बन्द फिर्ता

२७ साउन, काठमाडौं । आन्दोलनरत् यातायात व्यवसायी र सरकारबीच आज भएको वार्ता सहमतिमा पुगेपछि भोलिदेखि सार्वजनिक सवारीका साधन पूर्ववतरुपमा सञ्चालनमा आउने भएका छन् ।
सिंहदरबारस्थित भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालयमा आज झण्डै छ घण्टा चलेको वार्तामा दुवै पक्ष एकअर्काका मागप्रति सकारात्मक बनेको र दुई दिनदेखि बन्द रहेको सार्वजनिक सवारीका साधन भोलिदेखि सञ्चालनमा आउने भएका हुन् ।
यातायात व्यवसायी र सरकारबीच विगतमा भएका सहमति कार्यान्वयन गर्ने, छुट्टै यातायात मन्त्रालय गठन गर्न र ट्राफिक प्रहरीलाई ‘ठाउँको ठाउँ’ सवारीसाधनमाथि कारबाही गर्ने अधिकारका विषयमा छुट्ट्रै कार्यदल बनाइ अगाडि बढ्ने, यातायात व्यवसायलाई उद्योगका रुपमा स्थापित गर्ने, सुरक्षित यातायात व्यवस्था प्रत्याभूत गर्ने र बीमाको व्यवस्था गर्ने लगायतका १५ बुँदे मागप्रति सरकार सहमत भएपछि आन्दोलन स्थगित गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डोलराज खनालले जानकारी दिनुभयो ।
यसअघि दुई चरणमा भएका वार्ता सहमतिमा पुग्न नसक्दा शुक्रबार र शनिबार सार्वजनिक सवारी साधन चल्न सकेका थिएनन् ।
वार्तामा मन्त्रालयका तर्फबाट सचिव तुलसी सिटौला समेतका सरकारी अधिकारी र महासङ्घका पदाधिकारीहरुको सहभागिता थियो ।

No comments:

Post a Comment