Thursday, November 22, 2012

यसरी रोकियो प्रधानमन्त्रीको राजीनामा

७ मंसिर, काठमाडौं । नेपाली राजनीतिमा तीन-चार दिनयता रहस्यमय तरंगहरु
फैलँदै, सेलाउँदै गरिरहेका छन् । तीनदिन पहिले राष्ट्रपतिले दलहरुलाई
मंसिर ७ भित्र सहमति नगरे 'टेकोभर' गर्ने चेतावनी दिएको हल्ला चल्यो ।
तर, बिहान चलेको हल्ला बेलुकीपख 'हैन' भन्दै सेलायो ।
दुई दिनअघि राष्ट्रपतिले बजेट अध्यादेश पारित नगर्ने या गरे पनि सँगसँगै
नयाँ सरकार गठनको आह्वानसमेत गर्ने अर्को हल्ला चल्यो । तर, राष्ट्रपतिले
बजेट पारित गरेपछि विपक्षी दलहरुले आन्दोलनमा उत्रने तयारी गर्न
थालिरहेकै बेला बिहीबार अर्काेहल्ला चल्यो-प्रधानमन्त्रीले राजीनामा
गर्दैछन् । यसरी राजीनामाको हल्ला चलेपछि बजेटबाट आक्रोशित विपक्षीहरु
दिनभरि अलमलमा परे । तर, विहीबारसाँझ ६ बजे जब प्रधानमन्त्रीको सम्बोधन
आयो, फेरि विपक्षी दलहरु 'बाबुरामले सत्ता नछाड्नेरहेछन्' भन्ने टुंगोमा
पुगेका छन् । तर, यसको भित्री रहस्यचाँहि अर्कै रहेछ र यो रहस्यको पोको
खुल्न अझै थप तीन/चारदिन कुर्नैपर्ने भएको छ ।
प्रशंग हो, प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामाको ।
प्रधानमन्त्री भट्टराईले बिहीबार देशबासीका नाममा सम्वोधन गर्दै अविलम्ब
राष्ट्रिय सहमति जुटाउन दलहरुलाई आहृवान गर्नु भयो । उहाँले आगामी
बैशाखभित्र अर्कोसंविधानसभाको निर्वाचन गर्ने उद्देश्यका लागि वर्तमान
राजनीतिक गतिरोध अन्त्य गर्न, आवश्यक संवैधानिक एवम् कानूनी व्यवधान हटाई
निर्वाचनको मिति तोक्न र राष्ट्रिय सहमतिको सरकार गठन गर्न सम्पूर्ण
राजनैतिक दलहरूलाई 'अविलम्ब' राष्ट्रिय सहमतिका लागि अपीलसमेत गर्नुभएको
छ । सम्वोधनमा प्रधानमन्त्रीले भन्नुभएको छ- 'यस उद्देश्यका निम्ति म र
मेरो नेतृत्वको यो सरकारले जस्तोसुकै त्याग गर्न र तदनुरुप कदम चाल्न सदा
तत्पर रहेको पनि सबैलाई स्पष्ट गर्न चाहन्छु ।'
श्रोतका अनुसार प्रधानमन्त्री भट्टराई बिहीबार नै राजीनामा दिने तयारीमा
हुनुहथ्यो तर, अकस्मात् उहाँको राजीनामा अब केहीका लागि दिन पर धकेलिएको
छ ।यसरी प्रधानमन्त्रीको राजीनामा पछि सर्नुमा मधेसी दलहरुको विशेष
भूमिका रहेको छ ।
सत्तारुढ एमाओवादीको बिहीबार बिहान बसेको स्थायी समिति बैठकमा
प्रधानमन्त्री भट्टराईले आफू पदबाट हट्दा राष्ट्रिय सहमति जुट्छ भने म
आजै राजीनामा दिन्छु भन्ने प्रस्ताव राख्नु भएको थियो । स्रोतको
दाबीअनुसार प्रधानमन्त्रीको प्रस्तावप्रति माओवादी अध्यक्ष प्रचण्डसमेत
सकारात्मक देखिनुभएको थियो ।
प्रमको राजीनामाप्रति लचकदार हुँदै एमाओवादीको बैठक सकिएपछिदिउँसो
बालुवाटारमा सत्तारुढ दलहरुको बैठक बस्यो । बैठकमा प्रचण्डले सहमतिका
लागि हदैसम्मको लचिलो हुने र १५ दिनभित्र राष्ट्रिय सहमति जुटाउन सरकारका
तर्फबाट आहृवानगर्ने प्रस्ताव राख्नुभयो । तर, मधेसवादी दलहरुले सहमति
नजुटी सरकार छाड्न नहुने भन्दै सहमतिका लागि भाका तोक्ने प्रचण्डको
प्रस्तावलाई मानेनन् । 'प्रचण्डले १५ दिनभित्र सहमति गर्न आहृवान गर्नु
प्रस्ताव गर्नु भएको थियो' एक मधेसी नेताले अनलाइनखबरलाई भने- 'तर, हामी
मधेसवादी दलहरुले विरोध गरेपछिप्रमको सम्वोधनमा '१५ दिनभित्र' भन्ने शब्द
हटाएर 'अविलम्ब' भन्ने शब्द राखिएको हो ।'
उता प्रचण्डनिकट स्रोतका अनुसार प्रधानमन्त्रीको राजीनामा टरेको नभई केही
दिनपछि सरेको मात्र हो । तर, अब कांग्रेस-एमालेसँग 'गिभ एण्ड टेक'का
आधारमा कुनै सहमति गरेर मात्रै प्रधानमन्त्रीको राजीनामा आउँछ ।

No comments:

Post a Comment