Monday, October 1, 2012

सीडीओलाई धम्की

निजगढ , आश्विन १५ - डेढ महिनाअघि मकवानपुरबाट सरुवा भएर पाँच दिनअघि
यहाँ आएका प्रमुख जिल्ला अधिकारी कृष्णहरि पुष्कर (कर्ण) लाई भारतीय
नम्बरबाट दैनिक धम्की आएको छ । जिल्लामा बढेको अनियमितता, कालो बजारी,
तस्करी, अपराधलगायत गैरकानुनी गतिविधिलाई निगरानी गरी कडाइ गर्न थालेपछि
उनले धम्की खानुपरेको हो । गैरकानुनी क्रियाकलापविरुद्ध उनले संयुक्त
विशेष टाँस्क फोर्स 'अप्रेसन स्वीप' चलाएका छन् ।
'कडाइ गर्न थालेपछि भारतीय नम्बरबाट दैनिक ५/७ पटक 'थ्रेट' आएको छ,
प्रजिअले भने, 'धेरै कडाइ गरे सरुवासँगै जे पनि गरिदिन्छौं भन्दै भारतीय
नम्बरबाट बारम्बार फोन आएको छ ।' उनले धम्कीका कुरा सुरक्षा निकाय
प्रमुख, पत्रकार र राजनीतिक कार्यकर्ता बोलाएर आइतबार आफ्नै कार्यकक्षमा
सार्वजनिक गरेका हुन् ।
कसले र कुन नम्बरबाट फोन आएको हो भन्ने उनले खुलाएनन् । 'म साता दिन किन
नबसुँ, बिग्रेको सुधार्नलाई कसैको डरत्रास र दबाब सहन्न,' उनले भने, 'म
टेन्डरबाट आएको होइन ।' धम्की दिनेविरुद्ध विशेष सुराकी लगाएको उनले बताए
। उनी आएको ५ दिनमा प्रत्येक मध्यरातमा राजमार्ग, नगर, गाउँ र
सीमावर्तीनाकामा घुम्दै दर्जनौं अवैध गाडीसँगै तस्करीका सामान बरामद
गरेका छन् । यसैगरी १ दर्जन पेट्रोल पम्पको अनुगमन गरी तीन वटामा सिल
गरेको र कम्तीमा २० कर्मचारीलाई मनोमानीविरुद्ध कारबाही चलाए ।
यस्तै सुरक्षा गार्ड लिई आफ्नो रवाफ देखाउने केही राजनीतिक कार्यकर्ता,
पूर्वसभासद, व्यवसायीले राखेको पीएसओलाई फिर्ता बोलाएका छन् । उनले
प्रत्येक सरकारी कार्यालय प्रमुखलाई धम्की, दबाब रेकर्ड गर्न मोबाइलमा
सफ्टवेयर राख्न निर्देशन दिएका छन् । उनले दैनिक सुरक्षा प्रमुख,
व्यवसायी, पत्रकार, नागरिक समाज, मातहतका कर्मचारी, गैरसरकारी संस्थाका
प्रतिनिधि, राजनीतिक दलका नेता कार्यकर्तालाई दैनिक पालैपालो डाकी
सुधारका काम गर्न सहयोग लिनेदिनेबारे छलफल गर्दै आएका छन् ।
प्रकाशित मिति: २०६९ आश्विन १५ ०९:१६

No comments:

Post a Comment