Friday, May 24, 2013

मलेसियामा अझै ६ महिना तलव नबढ्ने, चर्को शुल्क असुल्दै म्यानपावर

१० जेठ, क्वालालम्पुर । मलेसियामा नेपाली कामदारको न्यूनतम तलव ९ सय
रिंगेट पुगेको भनिए पनि अझै ६ महिनासम्म नेपाली कामदारले न्यूनतम तलव
नपाउने भएका छन् । तलब बढेको भ्रममा परेर म्यानपावरलाई बढ्ता पैसा नतिर्न
नेपाली राजदूतावासका अधिकारीले आग्रह गरेका छन् । मलेसिया सरकारले शुरुमा
विदेशी कामदारका लागि पनि न्यूनमत ९ रिंगेट तलब लागू गर्ने घोषणा गरेको
थियो । मासिक ५ सय४६ रिंगेट न्यूनतम तलब पाइरहेका नेपाली त्यो खबर
सुनेपछि हौसिएका थिए ।
सुरुमा केही कम्पनीले न्यूनतम तलब कार्यन्वयन गरे पनि अधिकांश
रोजगारदाताको अवरोधपछि अहिले मलेसियामा कार्यरत नेपाली कामदारहरुले
पुरानै सम्झौताअनुसार तलब पाइरहेका छन । मलेसियाका लागि कार्यवाहक नेपाली
राजदूत लेखनाथ भट्टराईले व्यवहारिकरुपमा नेपाली मजदुहरुले बढेको तलव पाउन
नसकेको बताउनुभयो । 'स्पष्ट भाषामा भन्दा अहिले मलेसियामा नेपाली
कामदारहरुको न्यूनतम तलब बढेको छैन ।' भट्टराईले भन्नुभयो-'मलेसिया
सरकारले सन् २०१४ बाट त्यो निर्णय कार्यान्वयन गर्छौं भनेको छ, सरकारको
अर्को निर्णय नआएसम्म भन्न सकिन्न ।'
म्यानपावरको ठगी
नेपालमा म्यानपावर कम्पनीहरुले भने मासिक ९ सय रिंगेट तलव पुगेको भन्दै
महंगो शुल्क उठाउने गरेको राजदूत भट्टराईले बताउनुभयो । 'सुरुसुरुमा यहाँ
रहेका नेपाली कामदारहरुमा कन्फ्युजन थियो, कतिपय कम्पनीमा कामदार
आन्दोलनमा पनि उत्रिए । तर, पछि सरकारले सन् २०१३ भरि तलव बढाउन नसक्ने
भनेपछि अहिले त्यति धेरै समस्या छैन'- भट्टराईले भन्नुभयो- 'मुख्य
समस्याचाहिँ अहिले पनि नेपालमा म्यानपावरहरुले मासिक ९ सय रिंगेट तलव
पाइन्छ भन्दै कामदारबाट बढी पैसा असुलिरहेको पाइएको छ ।'
सेक्युरिटी गार्डमा काम लगाइदिने भन्दै दुईदेखि साढे दुई लाख रुपैयाँसम्म
तिरेका पीडित दूतावाससम्म आइपुगेको भन्दै उहाँले भन्नुभयो-'मलेसियामा
न्यूनतम तलव बढेको छैन, नेपाली कामदारहरुले पुरानै तलब पाएका छन, त्यसैले
बढी तिरेर आउनु हुँदैन, यो कुरा कामदारले प्रष्ट बुझ्न जरुरी छ । त्यो
बुझिएन भने गरिव नेपाली कामदार आफ्नो घरखेत गुमाउनुपर्नेे खतरा छ ।'
अहिले पनि दूतावासमा स्वीकृतिका लागि आउने डकुमेन्टमा मासिक ९ सय रिंगेट
तलव उल्लेख हुने गरेको तर ब्यबहार लागू नभएको भन्दै राजदूत भट्टराईले
दोहोरो सम्झौता मलेसियाका श्रमिकका लागि मुख्य समस्या भएको बताउनुभयो ।
दबावमा दूतावास
करिव ५ लाख नेपाली कामदार रहेको मलेसिया विगत १३ महिनादेखि राजदूतविहीन छ
। दूतावासको नेतृत्व गरिरहनुभएको छ, उपनियोग प्रमुख लेखनाथ भट्टराईले । ७
जना कर्मचारीका भरमा चलिरहेको राजदूतावासमा अहिले कामको चर्को दबाब छ ।
साँझ ५ बजे अनलाइनखबर प्रतिनिधिराजदूतावास पुग्दा कर्मचारी काममा व्यस्त
थिए भने २०-२५ जना कामदार पासपोर्ट लिने लाइनमा बसिरहेका थिए। 'साँझ ८
बजेसम्म सेवाग्राहीहरु लाइनमै हुन्छन'-भट्टराईले भन्नुभयो-'१० बजेअघि
हामी घर पुग्न पाउँदैनौं ।' शनिबार र आइतवारजस्ता बिदाको दिनमा पनि
दूतावासका कर्मचारी आन्तरिक काममा खटिने गरेको उहाँले जानकारी दिनुभयो ।
दूतावास रहेको भवनमा कार्यालय समयपछि र बिदाको दिनमा एसी सुविधा काटिन्छ
। तर, पनि दूतावासका कर्मचारी पसीना पुछ्दै काम गरिरहेका हुन्छन् ।
दूतावासका अनुसार अहिले पनि दैनिक एक सय जनाको पासपोर्ट बनाइरहेको र ३०
जना जतिको यात्रा अनुमतिपत्र जारी गरिरहेको छ । त्यसबाहेक नेपाली
कामदारका समस्या सुन्ने, समाधान गर्ने, नयाँ कामदारका माग स्वीकृत गर्ने
लगायतका कामको चाप पनि उत्तिकै छ । राजदूतको कार्यकक्षका टेवल, सोफा,
दराज सवै पासपोर्ट बनाउने डकुमेन्टले भरिएका थिए । 'मेरो टेलवमा
पासपोर्टको यो चाङ कहिले पनि घट्दैन' टेबलतिर देखाउँदै भट्टराईले
भन्नुभयो ।http://www.onlinekhabar.com/2013/05/74218/

No comments:

Post a Comment