Friday, May 31, 2013

फिलिपिन्समा पढ्न गएका तीन नेपाली पक्राउ

पासपोर्टमा 'अराइभल' छाप नहुँदा फन्दामा
१७ जेठ, काठमाडौं । एमबीबीएस अध्ययनका लागि फिलिपिन्स पुगेका तीन नेपाली
बिद्यार्थी पक्राउ परेका छन् । फिलिपिन्सको सेबुमा रहेको साउथ वेष्टर्न
युनिभर्सिटीमा अध्ययनका लागि गएका पशुपतिदाहाल (२९) उमेश खड्का (२४) र
पंकज यादव (१९) लाई फिलिपिन्सको अध्यागमनले पक्राउ गरेको हो ।
गत मे २१ तारिखमा पक्राउ गरी अध्यामनको थुनुवा कक्षमा राखिएका उनीहरुलाई
केही दिनभित्रै नेपाल फिर्ता पठाउने तयारी भइरहेको फिलिपिन्स अध्यागमन
कार्यालयका अधिकारीलाई उदृत गर्दै त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
ती नेपली विद्यार्थीले विमानस्थलमै रहेको अध्यागमनडेस्कमा पासपोर्ट पेश
नगरेको अध्यागमन कार्यालयको आरोप छ । उनीहरुको पासपोर्टमा अध्यागमनको
'अराइभल' छाप नलगाइएको र पर्यटक भिसामा आएर विद्यार्थी बन्न खोजेको
अध्यागमनले अभियोग लगाएको छ । 'इमिग्रेसनलाई बाइपास मात्र गरेनन्,
उनीहरुले पर्यटक भिसाको दुरुपयोग गर्दै बिद्यार्थी बन्न खोजे'- फिलिपिन्स
अध्यागमनको इन्टेलिजेन्स बिभागकी निमित्त प्रमुख एटोनेट माङग्रोबाङले
भनिन्- 'उनीहरुलाई कुनै हालतमा माफी दिन सकिन्न ।'
कसरी फसे ?
फिलिपिन्सका लागि नेपाली काउन्सिलर जोसे पी काम्पोसका अनुसार अज्ञानताका
कारण नेपाली बिद्यार्थीहरु फसेका हुन् । 'अन्तराष्ट्रिय बिमानस्थलबाट
आन्तरिकतर्फ जानुअघि इमिग्रेसन प्रक्रिया पूरा गर्नुपर्ने थियो, तर
उनीहरु सरासर आन्तरिक टर्मिनलमा गएछन्' काम्पोसले अनलाइनखबरसँग
भने-'आन्तरिक टर्मिनलबाट सेबु बिमानस्थल हुँदै साउथ वेष्र्टन युनिभर्सिटी
पुग्दासम्म पनि उनीहरुलाई पासपोर्टमा अराइभल छाप लगाउनुपर्ने कसैले भनेन
।'
पर्यटक भिसालाई विद्यार्थी भिसामा बदल्न विश्वविद्यालयले पासपोर्ट माग्ने
क्रममा मात्र उनीहरुको पासपोर्टमा अराइभल छाप नलागेको जानकारी भएको थियो
। त्यसपछि कलेजले उनीहरुलाई पुनः मनिलास्थित इमिग्रेसन कार्यालय पुगेर
अराइभल छाप लगाउन भनेको थियो ।
गत मे २१ तारिखमा मनिला इमिग्रेसन पुगेका तीनैजनालाई त्यहाँका
अधिकारीहरुले पक्राउ गरी थुनामा राखेका छन् । 'मलाई २२ तारिखमा त्यसबारे
जानकारी गराएका थिए' काम्पोसले भने-'मैले अध्यागमनकाकमिस्नरलाई भेटेर
घटनाबारे जानकारी लिएपछि उनीहरुको अज्ञानताका कारण यस्तो घटना भएकाले
माफी दिन र रिहा गरेर पढ्ने वातवारण मिलाउन आग्रह गरेको छु।'
'कलेजले पिडीत बिद्यार्थीहरुलाई पटक्कै सहयोग गरेको छैन, मैले नै लाग्ने
जरिवाना तिर्छु र नभाग्ने ग्यारेण्टी गर्छु बिद्यार्थीलाई रिहा गरिदेउ
भनेर लिखित आग्रह गरेको छु'- काम्पोसले भने- निरिह बिद्यार्थीहरुलाई न त
कलेजले सहयोग गरेको छ, न त पठाउने कन्सल्टेन्सीले नै ।'
कलेजको लापरवाही
गत अप्रिल ७ तारिखमा उनीहरु मनिलास्थित अन्तराष्ट्रिय विमानस्थलमा पुगेका
थिए । गैरआवासीयनेपाली संघ फिलिपिन्सका अध्यक्ष सुर्दशन खड्काले
विद्यार्थीको अज्ञानता मात्र नभएर कलेजको लापरवाहीले पनि समस्या थपिएको
बताउनुभयो । 'विश्वविद्यालयले लेटर अफ एसेप्टेन्स नदिएको भए उनीहरुलाई
काठमाण्डौस्थित फिलिपिन्स काउन्सिलेटले कसरी भिषा दियो ?' खड्काले
भन्नुभयो- 'यो विश्वविद्यालयको मेडिकल कलेजमा धेरै नेपाली विद्यार्थीहरु
अध्ययन गरिरहेका छन्, तर जतिबेला समस्या पर्छ, त्यतिबेला विश्वविद्यालय
पन्छिने गरेको छ ।' खड्काले भन्नुभयो ।
फिलिपिन्समा नेपालीहरुलाई विमानस्थलमै २१ दिनको अनअराइभल भिसा दिने
गरिएको छ । विश्वविद्यालयमा पढ्न जाने नेपाली विद्यार्थीहरु पनि सुरुमा
त्यसैगरी पर्यटक भिसामा आउने र कलेजमा भर्ना गरेपछि विद्यार्थी भिसामा
परिवर्तनका लागि आवेदन दिने गरेको खड्काले जानकारी दिनुभयो ।
'पर्यटक भिसामा आएर विद्यार्थी भिषामा परिवर्तन गर्नु यहाँ बैधानिक हो र
अरुले पनि त्यसै गरिरहेका छन् तर अध्यागमनले पासपोर्टमा छापै लगाएनन्
भनेर घटनालाई अर्कै मोड दिएको छ'- खड्काले अनलाइनखबरसँग भन्नुभयो ।
http://www.onlinekhabar.com/2013/05/77046/

No comments:

Post a Comment