Saturday, September 1, 2012

ठग ‘छोटेराजा’को घरमा छापा मार्दा बन्दुक भेटियो

१६ भदौ, काठमाडौं । प्रहरीले ५ करोड भन्दा बढी ठगी गरेको अरोपमा पक्राउ परेका मनोजबहादुर सिंहको घरमा छापा मारेको छ ।
ललितपुर इमाडोलस्थित घरमाछापा मारी इनारमा लुकाई राखेको हतियार बरामद गरेको हो । इनारमा लुकाइराखेको १ थान पेस्तोल, २ थान म्यागाजिन र१ थान एयर गन बरामद भएको केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी नायव उपरीक्षक जगदिश पोखरेलले जानकारी दिनुभयो ।
‘हिजै छापा मार्ने प्रयास भएको थियो’ उहाँले भन्नुभयो-’इरानमा पानी भरेकाले समस्या भयो । आज पानी फालेर भित्र पस्दा हतियार भेटिएको छ ।’
शुक्रबार सिंहको ससुराली घरमा छापा मारेर प्रहरीले नक्कली भिसा लगाएको ८६ थान पासपोर्ट र विभिन्न जनावरका अंग बरामद गरेको थियो । ब्यूरोका अनुसार बैदेशिक रोजगारीमा पठाउने तथा सेना र प्रहरीमा जागिर लगाइदिन्छु भनि सिंहले ४ सयभन्दा बढीलाई ठगेका छन् । प्रहरीका अनुसार ठगीमा सबैभन्दा बढी बारा जिल्लाका वासिन्दा परेका छन् ।
प्रहरीका अनुसार पूर्व राजसभा स्थायी समितिका सदस्य हिमालयबहादुर सिंहका छोरा मनोज ठगीका नटबरलाल नै हुन् । बाबुका कारण निर्मलनिबासदेखि सेना र प्रहरीका उच्च अधिकारीहरुसम्म उनले सम्वन्ध बनाएका रहेछन्’ पोखरेलले अनलाइनखबरसँग भन्नुभयो-’त्यही सम्वन्धलाई देखाएर ठग्दै आएको देखिएको छ ।’
अनुुसन्धानमा खटिएका एक अधिकृतका अनुसार सिंहलाई बारा क्षेत्रमा ‘छोटे राजा’ भनेर समेत चिनिन्छ । ‘गढीमाई मन्दिरका पुजारीलाई हातमा लिएर यीनले बारा क्षेत्रका धेरैलाई ठगेको पाइयो’ उनले भने-’बारा क्षेत्रमा त यीनलाई छोटे राजा भनेर सम्वोधन गर्ने गरेको पाइयो । यीनी जाँदा केटाहरुलाई अघिपछि लगाउँदा रहेछन् ।’
प्रहरीका अनुसार सिंहले गढिमाई मन्दिरका पुजारीसँग समेत अढाई लाख ठगेका छन् भने जेलमा रहेका मान्छे छुटाइदिन्छु भनेर ५ लाख लिएको अनुसन्धानका क्रममा खुलेको छ ।
सुरुमा सिंहविरुद्ध कुनै उजुरी नपरेपनि पक्राउ परेपछि भने प्रहरीकोमा पीडितहरुको घुइँचो नै लागेको छ । ‘सुरुमा कसैले पनि उजुरी गर्ने आट गरेनन्’ प्रहरी नायव उपरीक्षक पोखरेलले भन्नुभयो-’एउटा उजुरीका आधारमा पक्राउ परेपछि ठगिएकाहरुको ओइरो नै लागेको छ ।’ ठगीका मुख्य नाइके सिंह नै भएको र उनका सहयोगी भए नभएको अध्ययनभइरहेको प्रहरीले बताएको छ ।

No comments:

Post a Comment