Wednesday, January 2, 2013

थाइल्याण्डमा रहँदा देशको चिन्ताले सतायो: प्रचण्ड

१८ पुस, काठमाण्डौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफू दुई
दिन थाइल्याण्डमा रहँदा देशको चिन्ताले सताएको बताउनुभएको छ ।
पत्नी सीताको स्वास्थ्योपचारका लागि सोमबार थाइल्याण्ड जानुभएका
प्रचण्डले बुधबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थलमा पत्रकारसंग यस्तो बताउनुभएको हो ।राष्ट्रपतिले दिएको पछिल्लो
पटकको पाँच दिनको समयसीमा सकिन दूई दिन बाँकीरहेकाले सकभर दुई दिनभित्रै
सहमति जुटाउन आफूले प्रयास थाल्ने प्रचण्डले बताउनुभएको छ ।
उहाँले भन्नुभयो,' अब फेरि पार्टीहरुसंगको छलफल सुरु हुन्छ । मलाई के आशा
छ भने अझै दुई दिन बाँकी छ, दुई दिनभित्र के कति हुन्छ त्योत हेर्नुपर्छ
। पक्कै पनि दलहरु जसरी नि सहमतिमा जानैपर्छ । 'प्रचण्डले नेपालमा
विकासको सम्भावना धेरै भए पनि चुनौतीको सामना गर्न पार्टीहरु सफल नभएकाले
जताततै चिन्ता बढेको बताउनुभयो । 'बाहिरबाट हेर्दा र बाहिरका मान्छेहरुको
कुरा सुन्दा सम्भावना धेरै देखिन्छ, तर सहमति हुन नसकेकोमा नेपालीहरु र
विदेशीहरुमा पनि उत्तिकै चिन्ता छाएको छ। त्यसैले जसरी पनि दलहरुलेसहमति
जुटाउनुपर्छ ।'
नागरिक समाजको प्रधानमन्त्रीबारे चर्चा चलिरहेका बेला प्रचण्डले
पार्टीहरुवीच सहमति जुटाउन र पार्टीहरुकै नेतृत्वमा निर्वाचन गराउन कोशिश
गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,-'हाम्रो पहिलो कोशिश दलहरुकै
नेतृत्वमा सहमति जुटाउनमै हुन्छ । यदि त्यसमा सहमति हुन सक्दैन भने कहाँ
हुन सक्छ, त्यहाँ सहमति गर्ने कुरामा हाम्रो आपत्ति हुँदैन ।'
प्रचण्डको दुखेसो
आफूले सकारात्मक कुरा गरे पनि त्यसलाई भत्काउन प्रयास भइहाल्ने भन्दै
प्रचण्डले दुखेको पोख्नुभएको छ । उहाँले भन्नुभयो,'मैले अहिले सकारात्मक
कुरा गरेँ भने त्यसलाई भत्काउने प्रयास भइहाल्छ । त्यसैले सहमतिका लागि म
अहिले केही भन्न सक्दिँन ।' तर, प्रचण्डले दलहरुवीच बाँकी रहेको दुई
दिनभित्र सहमति जुट्ने विश्वास व्यक्त गर्नु भएको छ ।

No comments:

Post a Comment