Friday, October 19, 2012

ठूला दल देशको असफलताका कारक

३ कार्तिक, काठमाडौ । साना दल आबद्ध सङ्घीय लोकतान्त्रिक मोर्चाले देशलाई
असफलताबाट जोगाउन राष्ट्रपति डा रामवरण यादवलाई सक्रिय भूमिका निर्वाह
गर्न आग्रह गरेको छ। मोर्चा आबद्ध सातवटै दलका अध्यक्षहरूले
राष्ट्रपतिसँग आज शीतलनिवासमा भेटी मुलुकलाई असफलताबाट जोगाउन
निर्देशनात्मक भूमिका निर्वाहगर्न आग्रह गरेको हो।
उनीहरुले ठूला दलका कारण मुलुक असफलताको अवस्थामा पुगेको आरोप पनि लगाए।
मोर्चाले सत्ता पक्ष र विपक्षीका ठूला दलहरू सत्ताको खेलमा लागेर मुलुकको
समस्याप्रति गम्भीर नभएको भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई
संस्थागत गर्न विगतका उपलब्धि संरक्षण गर्दै ताजा जनादेशमा जान मागका
साथै तीनबुँदे अवधारणा पत्रसमेत राष्ट्रपतिलाई बुझाएको छ।
सत्तापक्ष सत्ता लम्ब्याउने र विपक्षी सत्ता प्राप्तिको खेलमा लाग्दा
मुलुक थप अन्यौलग्रस्त भएको भन्दै मोर्चाले नयाँ निर्वाचनका लागि सहमतिको
चुनावी सरकार गठन गर्न माग गरेको छ।
भेटमा सहभागी राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह
भण्डारीले अहिलेको मुख्य आवश्यकता संविधान भए पनि दलहरूको सत्ताको
खिचातानीले मुलुकलाई थप सङ्कटतर्फ धकेलेकाले संविधान संरक्षकको हैसियतले
राष्ट्रपतिलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको बताए।
जवाफमा राष्ट्रपति डा यादवले मोर्चाको मागप्रति आफू चिन्तित रहेको भन्दै
भोलि हुने दलहरूसँगको छलफलमा यसका बारेमा गम्भीर छलफल गरिने आश्वासन
दिएका थिए।
मोर्चामा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र शरत्सिंह
भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी मधेसीलगायत गरी सातवटा दल
आबद्ध रहेका छन्। रासस
Comments:

No comments:

Post a Comment