Thursday, August 16, 2012

अन्तरजातीय विवाह गर्ने गाउँबाट लखेटिए

३२ साउन, बैतडी । बैतडीको सित्तड गाविस-४ घर भई हाल डडेल्धुराको जोगबुढा बस्ने एक युवक अन्तरजातीय विवाहपछि गाउँबाट लखेटिएका छन् ।
अस्थायी रुपमा डडेल्धुराको जोगबुढा बस्ने २१ वर्षीय भीम पार्कीले स्थानीय १९ वषर्ीया विपना खातीसँग अन्तरजातीय विवाह गरेपछि दुवै जनालाई केटी पक्षले गाउँबाट लखेटेको हो । एसएलसी पूरक परीक्षा दिने क्रममा यही साउन तेस्रो हप्ता आपसी सहमतिमा अन्तरजातीय विवाह गरेका उनीहरुलाई पटकपटक केटी पक्षले धम्की दिन थालेपछि विस्थापित भएर हाल बैतडी सदरमुकाम आएका हुन् ।
अन्तरजातीय विवाह गरेको भन्दै केटी पक्षले हातखुट्टा भाँच्ने धम्की दिएपछि दलित अधिकारवादी सङ्घसंस्थाको सहयोगमा कानुनी उपचार खोज्दै सदरमुकाम आएको पीडित पार्कीले बताउनुभयो। बिहे गरेपछि केही दिन सित्तडमा आएर बसेका उनीहरुलाई जोगबुढाबाट आएका केटीका काका लालबहादुर खाती र छिमेकी पद्म कार्कीले पुनः धम्की दिएपछि तीन दिन अघि बैतडी सदरमुकाम पुगेको दलित अधिकारकर्मी करन दयालले बताउनुभयो ।
उमेर पुगेका दलित र गैर दलित युवा युवतीहरुले सहमतिमा बिहे गर्दा गाउँबाटै लखेटिनु जातीय विभेद भएकाले कानुनी रुपमा अघि बढ्ने दयालले बताउनुभयो । रासस

No comments:

Post a Comment