काठमाडौं, जेठ २६ (नागरिक)- नेपाली कङ्ग्रेसका नेता रामचन्द्र पौडेलले संविधान सभा विघटन हुनुको कारण सङ्घीयता नभई सत्ता भएको बताएका छन्। अनि माओवादीको सत्ता कब्जाको नियत पनि यसको कारण भएको दाबी गरेका छन्। नेपाली कङ्ग्रेस - नेकपा एमालेसहितका सत्ताविरोधी २२ दलको गठनबन्धनले आयोजना गरेको शक्ति प्रदर्शनका क्रममा उनले यस्तो बताएका हुन।
उनले यो सरकार रहिरहेको भए विपक्षीहरुले अविश्वासको प्रस्ताव ल्याएर हटाउने भएकाले संविधान विघटन गरेर लामो समय टिक्ने दाउ रहेको पनि बताए। माओवादी अध्यक्ष दाहालले संविधान सभामा अल्पमत-बहुमतको खेल सुरु भएकाले संविधान सभा बचाउन नसकिएको भनेबाट पनि यो प्रमाणित भएको उनको भनाई थियो।
यसअघि नेपाली कङ्ग्रेसका नेता प्रकाशमान सिंहलेमाओवादीले निर्वाचनमा दुई तिहाई मत पाउने दाबी गर्नु सपनामात्र भएको बताएका थिए। उनले तेल, ग्यास, सुरक्षा जस्ता आधारभूत समस्यासमेत हल गर्न असक्षम माओवादीको यस्तो कल्पना धेरै परको कुरा भएको दाबी पनि गरे।
खुलामञ्चको यो कार्यक्रममा सहभागी हुन राजधानीका विभिन्न स्थानबाट जुलुससहित भेला हुने क्रम जारी छ। भेलाका कारण राजधानीको यातायात पनि प्रभावित बनेको छ। खुलामञ्चमा राजनीतिक दलका नेताहरुले सम्वोधन गर्ने क्रम जारी छ। पार्टीका झन्डासहित कार्यकर्ताहरु कार्यक्रमस्थलमा पुगेका छन्। भाषण सुन्न पुगेकाहरुलाई पालमुनि बस्ने व्यवस्था मिलाइएको छ।
कङ्ग्रेसको सुन्धाराबाट, एमालेको भृकुटीमण्डप, राप्रपा र राजपाको नक्साल, चुरे भावरको न्युप्लाजा, नेकपा मालेको गौशाला, जनता दलको लैनचौर र बाँकी दलले भद्रकालीबाट जुलुससहित खुलामञ्च पुग्ने कार्यक्रम तय भएको थियो।
No comments:
Post a Comment