Monday, July 16, 2012

ज्यानको लुतो मात्रै फाल्ने कि देशको पनि !

१ साउन, काठमाडौं । ‘चाकडी, चाप्लुसी, भ्रष्टाचारी, बेइमानी, धोकेवाजी, ठगी, अल्क्षी, शोषण, अन्धभक्ती र बहुलठ्ठी सबै लुताका रुप हुन् । लौ लुतो फालम् आज । साउन १ ।’ साउने संक्रान्तिको एकाबिहानै पत्रकार नारायण अमृतले आफ्नो फेसबुक पेजमा लेखेको स्टाटस हो । परम्परा अनुसार साउने संक्रान्तिको साँझ घरघरमा लुतो फालिन्छ । असारभरी खेतमा काम गर्दा लुतो लगायतका चर्मरोग नलागोस् भनेर साउने संक्रान्तिमा लुतो फाल्ने चलन बसेको हो । औषधीय गुण हुने जडिबुटी भलायो, कुरिलो, पानीस्वराँ लगायतको पूजा गरी राँको र अगुल्टो हुत्याएर लुतो फाल्ने गरिन्छ । वल्लोघरे, पल्लोघरे, तल्लोघरे, माथ्लोघरे लुतौ लैजा है भन्दै साँझपख गाउँका घरघरबाट लुतो फाल्दा वातावरण नै उल्लासमय हुन्छ ।
यो घरले त्यो घरलाई, त्यो घरले ऊ घरलाई पन्छाउँदै लुतो लगायतका चर्म रोग डाँडा कटाउने प्रचलन साँस्कृतिक मात्र नभएर वैज्ञानिक र सामाजिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । किनकी हिलोमैलो र वषर्ाको बेला लुतो, घाऊखटिरा लगायतका चर्म रोगले धेरैलाई सताउँछ । अगुल्टो र राँको फाल्दैमा लुतो भाग्ने कुरा पत्याउन नसकिएपनि लुतो लगायतका रोगबाट सचेत हुनुपर्छ भन्ने सन्देश चाहिं साउने संक्रान्तिले दिएको छ । त्यसैले त साउने संक्रान्तिमा लुतो फाल्ने चलन अझै पनि कायम छ ।
लुतोको बुझाई
सामान्य अर्थमा भन्दा निकै चिलाउने र ज्यानमा बिबिरा आउने एउटा रोगलाई लुतो भनेर चिनिन्छ । कन्याउँदा आनन्द आउने, तर सकसक र छटपटीले हैरान बनाउने लुतो रोगले कुनै कुनै बेला प्रायः सबैलाई सताउने गर्छ । ज्यानका कुनाकाप्चामा चिलाएर हैरान बनाउने रोग भएकाले लुतोलाई रोगहरुमा पनि घृणा गरिने रोगको रुपमा लिइन्छ भन्दा फरक नपर्ला । त्यसलै कुनै काम झण्झट लाग्दो छ भने त्यसलाई लुते काम, लुते धन्दा, लुते पारा भनेर चिनाउने गरिन्छ ।
यस्तै खराब प्रवृत्ति र नराम्रो कामलाई पनि लुतो भनिन्छ । त्यसैले पत्रकार नारायण अमृतले फेसबुकमा लेखेजस्तो चाकडी, चाप्लुसी, भ्रष्टाचारी, बेइमानी, धोकेबाजी, ठगी, अल्छी, शोषण, अन्धभक्ती, बहुलट्ठी जस्ता खराब प्रवृत्ति सबै लुतो नै हुन् । यी खराब प्रवृत्ति सल्केका मान्छेलाई त कन्याउँदा आनन्द आउँछ । तर यसले लुतोरोग झैं अरुलाई पनि यस्तै खराब बनाउने काम गरेको छ । लुतो रोग लागेका मान्छेलाई जस्तै यस्ता खराब प्रवृत्ति भएका साह्रै कुरुप देखिन्छन् । बाहिरबाट अरुले कुरुप देखेपनि कन्याएर आनन्द मान्नेहरुलाई त्यसको महसुस नभएको जस्तो लाग्छ ।
लुतो झैं भित्रभित्रै मान्छेलाई हैरान र खराब बनाउँदै गएको विकृति विसंगतिलाई हटाउने मौका पनि यही हो । किनकी लुतो फाल्ने दिनदेखि नै मुलुकमा नयाँ आर्थिक वर्ष शुरु हुन्छ । यही आर्थिक कारणले नै मान्छेलाई भ्रष्टाचारी, बेइमानी जस्ता खराब व्यक्ति बनाइरहेको छ । ज्यानको लुतो फाल्दै राजनीतिक र सामाजिक क्षेत्रका लुतोहरुलाई फाल्ने दिन पनि यही हो । तल्लोघरे, माथ्लोघरे, वल्लोघरे, पल्लोघरे हुँदै लुतो डाँडा कटाउन अहिले नै थालिहाल्ने कि ?

1 comment:

  1. sir news pura padna paiyena ni sideko feedjitle 6ekera milaunu parla ki????

    ReplyDelete