Sunday, August 26, 2012

यूएईमा ६ नेपाली अलपत्र

यूएई । यूएईको रासअल खेमा प्रान्तको अल साव्री स्टिल कम्पनीमा कार्यरत ६ जना नेपाली विगत ८ महिना देखी अलपत्र परेका छन् । गुल्मीका विष्णु प्रसाद ज्ञवाली, अर्घाखाचीका चिरञ्जिवी कुवर, गुल्मीका वसन्त कुमार काउछा, झापाका बेद प्रसाद तिमल्सिना, ईटहरीका दिपक आचार्य, र ईलामका माधव दाहाल गत जनवरीदेखी वेतलव भएका हुन् । उनिहरु उक्त कम्पनीमा विगत ५-६ बर्ष देखी काम गर्दै आएका थिए ।
गत जनवरीसम्म कम्पनीले काम गरेको तलव दुई-दुई महिनामा दिने गर्दथ्यो भने जनवरीदेखी तलव पनि दिन छाडेको विगत ६ बर्ष देखि कार्यरत विष्णुप्रसाद ज्ञवालीले बताए । मार्च महिनासम्मउनीहरु सबैले काम गरेको तर, तलव नदिएपछि काम गर्न पनि छोडेको र कम्पनीले गर्दै आएको काम पनि नभएको वताए । नेपालीहरु लगायत भारतीय गरी अहिले जम्मा १७ जना यस्तै समस्यामा रहेको बताए ।
जनवरीमा कम्पनी मालिक जेलमा परेको हुनाले ४ जना नेपालीहरुको पासपोर्ट पुलीसमा धरौटी राखी मालिकलाई निकालेको तर, अहिलेसम्म पासपोर्ट पुलिस थानामै रहेको अर्का पिडित वसन्तकुमार काउछाले वताए । मालिकलाई जेलबाट निकालेपछि काम गर्न पाउने साथै तलव पनि आउने आश्वासनले पासपोर्ट धरौटीमा राखेको तर। कम्पनी मालिकले आज निकाल्छु, भोली निकाल्छु भन्दा भन्दै महिनौ दिन विताएको वताए । ‘अहिले मालिकले न फोन उठाउछ न त भेट्न नै आउछ’ उनिहरुले एकै स्वरमा वताए । हामीलाईपैसा चाहिएको छैन छिट्टो भिषा क्यान्सिल गरेर नेपाल पठाउन सम्वन्धित निकायले सहयोग गर्न उनीहरुले अनुरोध गरे ।
पिडितहरुले नेपाली दूतावास यूएईमा लगभग ६ महिना अगाडी उद्धारका लागि निवेदन दिएपनि सुनुवाई नभएको बताए । ‘दूतावासमा दुई पटक निवेदन दियौं तर लामो समयसम्म पनि कुनै पहल भएन’ पिडित मध्येका विष्णु प्रसाद ज्ञवालीले वताए । दूतावासबाट आज भोली भन्दै लामो समय लगाएकोे उनिहरुको गुनासो छ । पीडितहरुले दूतावासमा उद्धारको लागि निवेदन दिईसकेपछि एनआरएनए एनसीसीलाई पनि उद्धारको लागिपहल गर्न अनुरोध गरेको वताए ।
नेपाली दूतावास यूएईका प्रथम् सचिव लोकबहादुर क्षेत्रीले उनिहरुको समस्याको समाधान गर्न तर्फप्रोसेस भईरहेको साथै दुई जना नेपालीहरुको समस्या छिट्टै समाधान हुने तर अन्य ४ जनाको भने दुवई कोर्टमा पासपोर्ट भएको हुनाले केहि समय लाग्ने वताए ।

No comments:

Post a Comment