Sunday, May 13, 2012

सामाजिक सद्भाव कायम राख्न जुटौ :

काठमाडौं, वैशाख ३१ - कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले संघीयताको विषयलाई लिएर केहीदिनदेखि जारी आन्दोलनले सामाजिक सद्भाव र सहिष्णुतामाथि आँच आउन लागेकोमा दुःख प्रकट गर्दै त्यसलाई रोक्न सबै तहलाई संवेदनशील भएर अघि बढ्न आग्रह गरेका छन् ।
पार्टी सभापति सुशील कोइरालाले सामाजिक सद्भाव राख्न पार्टीको तर्फबाट आह्वान गरेको भोलिपल्टैउपसभापति पौडेलले पनि त्यस्तै आग्रह गरेका हुन् । शनिबार विज्ञप्ति निकाली पौडेलले विभिन्न भाषाभाषी, जातजाति, धर्म, संस्कृति र हिमाल, पहाड, तराईमा बसोबास गर्दै आएका नेपालीहरूबीच शताब्दीऔंदेखि रहेको सद्भाव, मेलमिलाप र राष्ट्रिय एकताको भावनालाई आउँदा दिनमा पनि यथावत् राखी अघि बढ््नुपर्नेमा जोड दिएका छन् ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधान लेखिन लागेको अहिलेको अवस्थामा सबै आ-आफ्नो हक अधिकारप्रति सचेत रहनु स्वाभाविक भए पनि त्यस्तो अधिकारको माग राख्दा शान्तिपूर्ण र सामाजिक सद्भावलाई ख्याल गर्नसमेत आग्रह गरेका छन् । उनले आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार गर्न र सम्पत्तिको क्षतिपूर्ति दिन सरकारसँग मागसमेत गरेका छन् ।

No comments:

Post a Comment