Saturday, November 2, 2013

कुकुर तिहारमा नेताको घाँटीमा माला ! (फोटो फिचरसहित) चुनावले तोड्यो कुकुर पूजाको परम्परा

१६ कात्तिक, काठमाडौ । तिहारको दोस्रो दिन आज कुकुरलाई पूजा गरेर माला
लगाइदिने दिन हो । तर, कुकुर तिहारमा कुकुरलाई मात्र माला लगाइदिने
परम्परा योपटक भने उम्मेदवारहरुले तोडेका छन् ।
देशैभरि कुकुरलाई पूजा गरेर मीठोमीठो खान दिई सयपत्री फूलको मालाले
कुकुरको गला सजाइने गरिन्छ । आजका दिन सडकमा माला लगाएका कुकरहरु
प्रशस्तै भेटिन्छन् । तर, यो वर्षको कुकुर तिहारका दिन बिहानैदेखि
कुकुरका घाँटीका मात्रै माला लागेन । चुनावमा उम्मेद्वार बनेका
नेताहरुसमेत कुकुर तिहारका दिन गलामा सयपत्री फूलको माला लगाएर
बिहानैदेखि सडकमा निस्किए ।
कुकुरलाई मात्र माला लगाइदिने चलन भए पनि उम्मेदवारहरु समेत गालामा माला
सजाएर भोट माग्न दौडधुप गरिरहेको दृश्य निकै रोचक देखिएको छ । एकीकृत
माओवादी काठमाडौं क्षेत्र नम्बर ७ की उम्मेदवार हिसिला यमीले आज गलामा
सयपत्री फूलको माला लगाएर इचंगुमा भाषण गर्न भ्याउनुभयो । चुनावी
प्रचारमा हिसिलाका सहयोगीका गलामा समेत सयपत्री माला देखिएको थियो ।
सयपत्रीको माला लगाएर भाषण गर्दै नेतृ यमीले देशभरिबाट एमाओवादीको पक्षमा
जनमत उर्लेको दाबी गर्नुभयो ।
त्यसैगरी काठमाडौ क्षेत्र नं. ३ का नेपाली कांग्रेसका उम्मेदवार चक्र
ठकुरी पनि हिसिला यमीभन्दा कम देखिनुभएन । उम्मेद्वार ठकुरी पनि कुकुर
तिहारका दिन माला लगाएर चुनाव प्रचार गर्दै आलापोट गाउँ पुग्नुभयो ।
कुकुर तिहारका दिन माला ढल्काएका ठकुरीले अबको संविधानसभा निर्वाचनमा
कांग्रेसले बहुमत ल्याएमा मात्रै लोकतान्त्रिक सम्विधान बन्न सक्ने दाबी
गर्नुभयो ।
काठमाडौ क्षेत्र नं. ५ का नेपाली कांग्रेसका उम्मेदवार नरहरि आचार्यले
पनि कुकुर तिहारका दिन गलामा सयपत्री माला भिरेर महाराजगञ्ज क्षेत्रमा
कार्यकर्तासँग पदयात्रा गर्नुभयो । सयपत्री माला भिरेर अघिअघि लाग्नुभएका
वहाँले सो क्षेत्रमा बिहानै चुनावी अभियान शुरु गर्न भ्याउनुभयो ।
नेकपा एमाले ललितपुर क्षेत्र नं. ३ का एमालेका उम्मेदवार रघुजी पन्तले
पनि कुकुर तिहारको वास्ता नगरी गलामा दुई-दुई वटा माला भिरेर ठेँचो गाविस
क्षेत्रमा भोट माग्नुभयो ।http://www.onlinekhabar.com/2013/11/133305/

No comments:

Post a Comment