Sunday, November 3, 2013

म्यानपावर र एजेन्टबाट दैनिक ३१ लाख ठगी

१७ कात्तिक, काठमाण्डौं । म्यानपावर एजेन्सी र तिनका एजेन्टले रोजगारीका
लागि मलेसिया तथा खाडी मुलुक जाने युवालाई दैनिक ३१ लाख रुपैयाँभन्दा बढी
ठग्ने गरेको पाइएको छ ।
तथ्यांकअनुसार म्यानपावर र एजेन्टले कामदारसँग बढी रकम असुल्ने, नक्कली
सम्झौतापत्र बनाउने र स्वदेश तथा विदेशमा अलपत्र पारेर ठगी गर्ने गरेका
हुन् ।
चालू आर्थिक वर्षको पहिलो ३ महिनामा नेपाली कामदारले २८ करोड १८ लाख २
हजार ३ सय ४७ रुपैयाँबराबरको गठी भएको दाबीसहित म्यानपावर एजेन्ट विरुद्ध
उजुरी दायर गरेका छन् । ३ महिनाको अवधिलाई ९० दिन मान्दा दैनिक ठगी ३१
लाख ३१ हजार १ सय ३७ रुपैयाँ हुन आउँछ । विदेसिने युवाले साहुसँग महँगो
व्याजमा ऋण लिने र घर-जग्गा बिक्री गरेर म्यानपावर/एजेन्टलाई दिने रकम
जुटाउने गर्छन् ।
वैदेशिक रोजगार विभागका अनुसार व्यक्तिगत (एजेन्ट)ले २२ करोड ६६ लाख ६७
हजार ८ सय ५९ र संस्थागत (म्यानपावर) तर्फबाट ५ करोड ५१ लाख ३४ हजार ४ सय
८८ रुपैयाँ ठगी भएको छ । ठगी गर्नेमा एजेन्ट २ सय ७० र म्यानपावरतर्फ ३
सय ५२ रहेको कारोबार दैनिकमा खबर छ ।
त्यसमध्ये विभागले ५१ एजेन्टबाट ३ करोड ४९ लाख ८८ हजार र ५९ म्यानपावरबाट
३ करोड ८ लाख ८२ हजार रुपैयाँ असुल गरी कामदारलाई फिर्ता गरेको छ । ४०
जना विरुद्ध ८ करोड २५ लाख रुपैयाँ दाबी रकमसहित वैदेशिक रोजगार
न्यायाधीकरणमा मुद्धा दायर गरेको हो ।

No comments:

Post a Comment