देखासिकीको 'साइन्स' भन्दा रहरको विषय नै जाति
२९ जेठ, काठमाडौं । नारायण श्रेष्ठ, धेरैले चिनेजानेको परिचित नाम ।
बीबीसीको 'साझा सवाल' कार्यक्रमका प्रस्तोता नारायण पत्रकारितासँगै लेखन
र साहित्यको क्षेत्रमा पनि उत्तिकै सकृय हुनुहुन्छ ।
गोरखा घ्याल्चोक स्थायी घर भएका श्रेष्ठले त्यहीँको ज्ञानमार्ग माविबाट
२०५१ सालमा प्रथम श्रेणीमा एसएलसी पास गर्नुभयो । एसएलसीमा राम्रो अंक
ल्याएपछि आफन्त र साथीभाइले विज्ञान विषय पढ्न कर गरे । 'मेरो लगाव र
झुकाव साहित्य र लेखनतिर थियो, त्यतैतिर पढ्छु भन्ने सोच्दैथिएँ, तर
बाध्यताले बिज्ञान पढ्नुपर्ने भयो' नारायणले अनलाइनखबरसित भन्नुभयो । तर
दुई वर्षमै उहाँलेआफ्नो बाध्यतालाई चिरेर रहरको बाटोतिर लाग्नुभयो । 'दुई
वर्षसम्म विज्ञान विषय पढ्दा लाग्यो, मेरो क्षेत्र यो होइन रैछ । अनि
रत्नराज्य क्याम्पसमा भर्ना भएँ र आफूलाई मन पर्ने पत्रकारिता तथा
साहित्यिक अध्ययनमा लागें ।' वाध्यताको विज्ञान विषय छाडेर मनले रोजेको
मानविकी पढ्नथालेपछि उहाँको अध्ययन निकै राम्रो भयो । पढाईमा सोचेको
भन्दा बढ्दा सफलता मिल्यो । त्यही पढाईले उहाँ अहिले 'सेलिबि्रटी'
बन्नुभएको छ । 'आफ्नो भित्री मनमा जे कुराको लगाव छ, त्यही पढ्नुपर्ने
रैछ' नारायणको अनुभव छ ।
बिज्ञानको बढावा
एसएलसीमा विशिष्ट श्रेणी ल्याउनेले मात्र होइन, 'थर्ड डिभिजन' मा पास
हुनेले समेत उच्च शिक्षामा 'साइन्स' पढ्छु भन्छ । छात्राहरुमध्ये धेरैको
रोजाई नर्सिङ हुन्छ भने प्रायः धेरैले 'साइन्स' नै पढ्ने चाहना राख्छन् ।
'साइन्स पढेपछि कृषि, वन, इञ्जिनियरिङ, मेडिकल लगायतका अरु जुनसुकै
क्षेत्रमा पनि लाग्न सक्ने भएकाले धेरैले यही रोज्छन्' शिक्षाविद डा.
विद्यानाथ कोइरालाले अनलाइनखबरसित भन्नुभयो-'तर यसरी पढ्ने सबै सफल
हुँदैनन् ।'
उच्च माध्यमिक शिक्षापरिषदका अनुसार एसएलसी पास गरेकामध्ये धेरैले पहिला
विज्ञान विषय नै रोज्छन् । त्यसपछि व्यवस्थापन, मानविकी, शिक्षा लगायतका
विषय प्राथमिकतामा पर्ने गरेका छन् । पढ्न जान्नेले विज्ञान विषय रोज्ने
गरेपनि नतिजा भने सन्तोषजनक देखिँदैन । 'उच्च शिक्षाको विज्ञानमा परीक्षा
दिनेमध्ये ७० देखि ८० प्रतिशत उतीर्ण हुने गरेको तथ्याँक छ' उच्च
माध्यमिक शिक्षा परिषदका परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले
अनलाइनखबरसित भन्नुभयो ।
त्यसो भए के गर्ने ?
'राम्रो अंक ल्याउनेले विज्ञान नै पढ्नुपर्छ भन्नेछैन' शिक्षाविद डा.
कोइरालाले भन्नुभयो । विज्ञान विषय पढ्नको लागि क्षमतासँगै लगाव र आर्थिक
पक्ष पनि उत्तिकै बलियो हुनुपर्छ । क्षमता भएर आर्थिक अवस्था कमजोर छ र
आर्थिक अवस्था बलियो भएर क्षमता कम छ भने पनि विज्ञान नै नरोज्न उहाँको
सुझाव छ । 'सबैभन्दा ठूलो कुरा आफ्नो क्षमता हो, सँगै पारिवारिक र आर्थिक
अवस्था पनि बुझ्नुपर्छ' कोइरालाले भन्नुभयो -'विज्ञान मात्रै होइन, अरु
विषय पढेर पनि भविष्य राम्रो बनाउन सकिन्छ ।'
विज्ञान विषय पढ्नेहरु पनि धेरै बेरोजगार छन् । 'विज्ञान पढेर जागिर
पाउने र अरु विषय पढेर काम नपाउने भन्ने हुँदैहुँदैन' कोइरालाले
भन्नुभयो-'पढेको कुरालाई कसरी जागिरमा बदल्ने भन्ने कुरा महत्वपूर्ण हो,
यो सबै विषयमा संभव हुन्छ ।'
No comments:
Post a Comment