Friday, May 11, 2012

आज नेपाललाई सिंगापुरसँग बदला लिने अवसर

एसिसी यु-१६ इलाइट कपको सिंगापुरसँगको सेमिफाइनल खेलमा शुक्रबार उत्रदा नेपाल सामु दुई अवसर हुनेछ। अघिल्लो दिन आयोजक मलेसियालाई १ विकेटले पराजित गरी समूह विजेता बन्दै नेपालले सिंगापुरसँगको भिडन्त तय गरेको थियो।
लगातार दोस्रो पटक फाइनल खेल्नु नेपालको पहिलो उद्धेश्य हुनेछ। दुई वर्षअघि काठमाडौंमा भएको पहिलो संस्करणको फाइनलमा सिंगापुरसँग ६८ रनले पराजित भएको थियो। सिंगापुरलाई पराजित गरेमा नेपालले बदला लिनुका साथै उपाधिको नजिक पुग्ने छ।
नेपालले समूह 'बी' का सवै चार खेल जितेको थियो। पहिलो खेलमा कुवेतलाई ७८ रनले पराजित गरेको नेपाल त्यसपछि बहराइनमाथी ८ विकेटको सहज विजय पाएको थियो। अर्को एकतर्फी खेलमा नेपालले इरानलाई १ सय ६७ रनले पराजित गरेको थियो। थाइल्यान्डसँग पहिलो खेलमा ९ रनले पराजित सिंगापुरले त्यसपछि ओमानलाई १२ रनले र हङकङलाई ७ रनले पराजित गरी समूह 'ए' को उपविजेता बनी सेमिफाइनल पुगेको थियो।
सिंगापुर साविक विजेता भए पनि नेपाललाई यस पटक दावेदारको रुपमा हेरिएको छ। ब्याट्सम्यान तथा बलरहरुले प्रभावकारी प्रदर्शन गर्नु नेपाललाई दावेदार मान्नुको एक कारण हो। सिंगापुरले समूह चरणका तीनै खेलमा राम्रो प्रदर्शन गर्न सकेको छैन। थाइल्यान्डसँग ९१ रनको लक्ष्य लिएर आउँदा टोली ८० रनमै समेटिएको थियो। ओमानसँग १ सय ४२ रनमात्र बनाएर खेल जितेको सिंगापुरले हङकङसँग ८७ रनमात्र बनाए पनि विजय हात पारेको थियो।
नेपालले भने मजबुत प्रदर्शन गर्दै आएको छ। कुवेतविरुद्ध १ सय ७९ रन बनाएको नेपालले अर्को खेलमा बहराइनले छाडेको १ सय ४२ रनको लक्ष्य २२ ओभरमै पुरा गरेको थियो। इरानसँग नेपालले २ सय ४६ रन बनाएको थियो, जुन नेपालको यु-१६ मा उच्च स्कोर हो। मलेसियासँग भने नेपालको माथिल्लो क्रमको ब्याटिङ तहस नहस भएको थियो र ४१ रन बनाउदा टोलीको ७ विकेट झरिसकेको थियो। दीपेन्द्र चन्द, आदिल खान,जगदीश चन्द र आकाश विष्टले प्रतियोगितामा अर्धसतक बनाइसकेका छन्। ओपनिङ ब्याट्सम्यान नुरध्वज सेनले राम्रो प्रभाव पारेका छन्। बलिङतर्फ कालिचरण यादवले ४ खेलमा दुई पटक ४-४ विकेट लिइसकेका छन्।
समूह 'बी' को उपविजेता बनेको मलेसियाले अर्को सेमिफाइनलमा समूह 'ए' को विजेता ओमानको सामना गर्नेछ।

No comments:

Post a Comment