Thursday, June 13, 2013

डलरको मूल्य बढ्दा हुने फाइदा र बेफाइदा

३० जेठ, काठमाडौं । तत्काल डलरको मूल्य बढ्ने क्रम रोकिए पनि नेपालको
लागि चिन्ताको समय सकिएको छैन । अहिले डलरको मूल्य ९३ रुपैयाँको
हाराहारीमा रहेको छ, जबकि ९० रुपैयाँभन्दा माथिको मूल्य ३/४ महिनाभन्दा
बढी कायम रह्यो भने नेपालको अर्थतन्त्रमा गम्भीर असर पर्नेछ । पाँच
वर्षको अन्तरालमा डलरको मूल्य ७२ देखि ९४ रुपैयाँको बीचमा रहेको छ ।
डलरको मूल्य ७५ बाट तल झर्दा र ९० बाट माथि चढ्दा अर्थतन्त्रमा प्रतिकूल
असर परेको पाइएको छ । डलरको मूल्यले विभिन्न पक्षमाथि सकारात्मक र
नकारात्मक दुवै असर पार्ने गर्दछ ।
मूल्यवृद्धि
नेपालमा वाषिर्क बजेटको रकम -अहिले करिब ४ खर्ब) बराबर व्यापार घाटा
रहेको छ । उपभोग गरिने अधिकांश वस्तु डलरमा भुक्तानी गरेर आयात गरिने
हुँदा यहाँ महँगो पर्न जान्छ । मानौं, पहिले १ डलरको वस्तु आयात गर्दा ८०
रुपैयाँ तिरे पुग्थ्यो भने अहिले ९३ रुपैयाँ तिर्नुपर्ने भयो । आजको
मूल्यमा अर्डर गरिएको सामान सामान्यतयाः तीन महिनापछि आयात हुने भएको
हुनाले यसको असर पनि त्यतिखेर पर्दछ ।
नेपाली मुद्रासँग भारुको सटही दर १ सय ६० रुपैयाँ यथावत रहेको भए पनि
भारुमा सामान आयात गर्दा समेत महँगो पर्ने गर्छ । भारतमा तयार हुने
वस्तुको लागि त्यहाँका उद्योगले डलरमा कच्चा पदार्थ आयात गरेका हुन्छन् ।
पहिले ५० भारु साटेर भारतीय उद्योगले १ डलरको कच्चा सामान किन्थे भने
अहिले ५७ भारु साटेर मात्र १ डलरको सामान पाउँछन् । त्यसैले नेपालले
पहिले ५० भारुमा किन्ने सामानको मूल्य अहिले ५७ भारु पर्न जान्छ ।
निर्यात
आफ्नो देशको मुद्रा कमजोर हुँदा निर्यात बढाउन सजिलो हुन्छ । पहिले १
डलरमा विदेशीले नेपालबाट ७५ रुपैयाँको सामान किन्न सक्थ्यो, अहिले १
डलरभन्दा कम पैसामा त्यो सामान किन्न सक्छ । यसरी सस्तोमा पाएपछि नेपालको
सामान बढी निर्यात हुने सम्भावना रहन्छ । तर, यो सिद्धान्त नेपालको हकमा
लागू हुँदैन । नेपालको निर्यात आधार अत्यन्तै सानो भएको र माग बढे पनि
निर्यात गर्न सक्ने गरीयहाँ पर्याप्त सामान नभएको हुनाले निर्यात बढ्ने
सम्भावना छैन ।
रेमिटान्स
विभिन्न देशबाट नेपालीले अमेरिकी डलरमा रेमिटान्स पठाउँछन् । डलरको मूल्य
बढेको बेला यहाँ आफन्तले बढी पैसा पाउँछन् । त्यसैले डलरको मूल्य बढेको
बेला कामदारहरुले जम्मा गरेर राखेको पैसा नेपाल पठाउँछन् र रेमिटान्सको
आप्रवाह वृद्धि हुन्छ । यद्यपि सबै देशमा काम गर्ने कामदारले डलरको
मूल्यवृद्धिबाट फाइदा पाउन सक्दैनन् ।
नेपाली कामदारले स्थानीय मुद्रामा तलब प्राप्त गर्छ र त्यहाँको मुद्रा
पनि नेपालको जस्तै डलरसँग अवमूल्यन भएको छ भने कामदारले कुनै लाभ पाउँदैन
। मानौं ४ रिंगिटले१ डलर साटेर नेपाल पठाउँदा ८० रुपैयाँ प्राप्त
हुन्थ्यो भने अहिले १ डलर साट्न मलेशियामा ४.५ रिंगिट तिर्नुपर्‍यो भने
नेपालमा ९० रुपैयाँ पाए पनि केही फाइदा हुँदैन ।
सरकारी खर्च
सरकारले बजेटमा पुँजीगत खर्चको लागि मुख्य स्रोत विदेशीऋणलाई मानेको
हुन्छ । नेपाल राष्ट्र बैंकमा सरकारको नेपाली मुद्रामा खोलिएको खाता
हुन्छ । ऋणको किस्ता र ब्याज सरकारले तत्काल डलर किनेर भुक्तानी गर्ने
गर्दछ । मानौं सरकारले डलर सस्तो भएको समयमा १ डलर ऋण लिंदा राष्ट्र
बैंकबाट ७२ रुपैयाँ पाएको थियो भने अहिले सो ऋणको सावाँ मात्र तिर्दा
राष्ट्र बैंकमा ९३ रुपैयाँ बुझाउनुपर्छ ।
नेपाल विद्युत प्राधिकरण
नेपाल विद्युत प्राधिकरणले खिम्ती र भोटेकोशी पावर हाउससञ्चालक कम्पनीलाई
बिजुली किनेको पैसा डलरमै तिर्ने सम्झौता गरेको छ । डलरको मूल्य सस्तो
हुँदा प्राधिकरणले नेपाली मुद्रा कम खर्च गरेर उत्ति डलर भुक्तानी गर्न
सक्छ भने महँगो हुँदा नेपाली मुद्रा धेरै खर्च हुन्छ । त्यसैले डलरको
मूल्य वृद्धिले प्राधिकरणलाई घाटा मात्र हुन जान्छ ।
विदेश जाने व्यक्ति
पढ्न वा अन्य कामले विदेश जाने नेपालीको खर्च डलरको मूल्य बढेको बेला
ज्यादा हुन्छ । विदेशमा चाहिने डलर उत्ति नै भए पनि यहाँबाट डलर साटेर
जाँदा बढी पैसा तिर्नुपर्छ । विदेश पढ्न जानेले वाषिर्क २२ अर्ब
रुपैयाँभन्दा बढी खर्च गरेको देखिन्छ । डलरको मूल्य बढेको बेला पढ्न
जाँदा वा अध्ययनरत व्यक्तिलाई यहाँबाट पैसा पठाइदिंदा धेरै रुपैयाँ
बुझाउनुपर्छ ।
उद्योगी
डलरको मूल्य बढ्दा विदेशी सामान महँगो हुने कारण स्वदेशी कच्चा पदार्थ
प्रयोग गरेर उत्पादन गर्ने उद्योगलाई फाइदा हुने देखिन्छ । त्यस्ता
उद्योगको उत्पादनको मूल्य नबढ्ने हुँदा विदेशीको तुलनामा प्रतिस्पर्धी
मूल्य कायम भई बिक्री बढ्न सक्छ । स्वदेशी कच्चा पदार्थ प्रयोग गरी
निर्माण हुने सामान निर्यात गर्ने उद्यमीले पनि पहिलेकै लागतमा थप
आम्दानी गर्न सक्छन् ।
विदेशी लगानी
कुनै मुलुकको मुद्रा कमजोर हुँदा त्यहाँ विदेशी लगानी बढ्ने सम्भावना
हुन्छ । पहिले नेपालमा ७५ करोडको कुनै उद्योग खोल्न विदेशीले १ करोड डलर
खर्च गर्नुपर्दथ्यो भने अहिले त्यति लगानी गर्दा यहाँ ९३ करोडको उद्योग
खोल्न सकिन्छ । यस्तै, यहाँ कमाएको मुनाफा अहिले आप\mनो देश फिर्ता
लैजाँदा उसलाई घाटा पर्ने भएको हुनाले पुनर्लगानी गर्ने सम्भावना रहन्छ ।

No comments:

Post a Comment