Tuesday, May 28, 2013

जेठ १४ अर्थात् संविधानसभा मरेको दिन

सुनसान छ सडक, चकमन्न छ संविधानसभा
१४ जेठ, काठमाडौं । संविभानसभा विघटन भएको आज १ वर्ष पुगेको छ । यसवर्ष
जेठ १४ को आसपास गाई बौलाएको बाहेक नयाँ बानेश्वरमा अरु जात्रा र रमिता
देख्न परेन । संविधान छिटो चाहियो भनेर कसैले धर्ना, प्रदर्शन र नारा
जुलुस पनि गरेनन् । गत वर्षजस्तो संविधान बनाउने सहमति जुटाउन भनेर
नेताहरु बानेश्वर र सिंहदरबार ओहोर-दोहोर पनि गरेनन् । संविधान बनाउँछु
भन्ने र संविधान चाहियो भन्नेहरुको सडकमा लुकामारी भएन । संविधान बनाउने
मेलोमेसो नभेटेर संविधानसभा भवन अघिल्तिरको चौरमा सभासद बरालिएनन् ।
संघीयताको पक्ष र विपक्षमा बन्द, तोडफोड र झडप भएन । सुनसान छ आजको दिन ।
संविधानसभाको पहिलो निर्वाचन ०६४ चैत्रमा भएपछि ०६५ जेठ१५ मा बसेको पहिलो
बैठकले दुई वर्षसम्म संविधान बनाइसक्ने प्रतिवद्धता जनायो । तर, भनेको
तालिका अनुसार कहिल्यै काम भएन । ०६७ सालमा जेठ लाग्नेबित्तिकै संविधान
निर्माणको माग गर्दै प्रदर्शन हुन थाल्यो । संविधानसभा भवन रहेको
बानेश्वर आसपासको क्षेत्रमा दिनहुँजसो नाराजुलुस, धर्ना, प्रदर्शन र अनसन
भयो । दलहरुसहमति खोज्न ठाउँठाउँमा पुगे । मध्यरातसम्म बैठक बस्यो । तर,
जहिले पनि हात लाग्यो शून्य । दलहरुका आ-आफ्नै अडानले संविधान लेखन
प्रकृया हात्ती छिर्यो, पुच्छर अड्किएको अवस्थामा अल्भिmरहृयो । आखिर
केही नलागेपछि संविधानसभाको म्याद वर्ष दिन थपियो ।
म्याद थपिएको वर्ष दिन बित्न लाग्दासम्म संविधान बन्ने छाँटकाँट देखिएन ।
२०६७ सालमा जस्तै ०६८ सालको जेठमा पनि बानेश्वर आसपासमा प्रदर्शन र तनाव
भयो । ठाउँठाउँमा बन्द हडतालले जनजीवन अस्तव्यस्त बनायो । मध्यरातसम्म
सहमति नजुटेपछि फेरि पनि उसैगरी संविधानसभाको म्याद थपियो । तर, त्योबेला
एकैपटक वर्ष दिन थपिएन । तीन महिना, फेरि तीन महिना र अर्को ६ महिनागरी
उही जेठ १४ सम्म लम्बाइयो । पटक-पटक म्याद थप्ने काम गरियो । तैपनि
संविधान बन्न सकेन ।
गतसाल जेठमा पनि फेरि अघिल्ला दुई वर्षमा जस्तै बानेश्वर अशान्त भयो ।
धर्ना, प्रदर्शन र नाराजुलुसको मेलो लम्बियो । काठमाडौंको बानेश्वर बाहेक
देशका अरु ठाउँमा पनि बन्द र तनाव देखियो । सभासदहरु उसैगरी बिहानै
संविधानसभा भवन पुगे । रातिसम्म बैठक बस्ने र म्याद थपिने आशामा उँघेर
बसे । शीर्ष नेताहरु बालुवाटार र सिंहदरबारमा बसेर संविधानसभा र
संविधानको मोलमोलाई गरे । घिटिघिटी भएको संविधानसभालाई फेरि म्याद थप्ने
कि त्यत्तिकै छाड्ने विषयमा बहस भयो ।
तर गएको वर्षको जेठ १४ को मध्यरातमा अघिल्ला दुई वर्षमा जस्तो अवस्था
दोहोरिएन । संविधानसभाको बैठक नै नबसी संविधासनभा बिघटन भयो । सर्वोच्चको
फैसला नभएको भए ०६९ जेठमा पनि अघिल्ला वर्षका जेठमा जस्तै म्याद थपको
श्रृंखला दोहोरिने पक्का थियो । तर, सर्वोच्चको आदेशले मुलुकको
राजनीतिलाई कोल्टे फर्काइदियो ।
पहिलो संविधानसभा उपलव्धीबिहीन भएर टुंगिएपछि यतिखेर देश अर्को
संविधानसभा चुनावको दिशातिर अगाडि बढेको छ । तर चुनाव कहिले हुन्छ, अझै
प्रष्ट छैन । तैपनि देश शान्त छ । संविधानसभा भवन शून्य छ । भवन
अघिल्तिरको बानेश्वर क्षेत्र धर्ना, जुलुस र नाराबाजीबाट मुक्त छ ।
पोहोरसम्मको जेठ १४ संविधान बन्ने/नबन्ने आशंकामा रुमलिएको थियो ।
यसवर्षको जेठ १४ दोस्रो संविधानसभा चुनाव कहिले होला भन्ने द्विविधामा
अल्भिmएको छ ।

No comments:

Post a Comment