Monday, December 24, 2012

खनाल तीन दलका ‘प्रवक्ता’ !

९ पुस, काठमाडौं । शीतल निवासबाट राष्ट्रपतिलाई भेटेर फर्किंदा एकीकृत
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति सुशील
कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाका विजयकुमार गच्छदार
हुल बाँधेर सँगै बाहिर निस्कन्छन् । पहिलेदेखि नै नेताहरु कुरेर बसेका
पत्रकारहरु राष्ट्रपतिसँग के कुरा भयो भनेर प्रतिकृया लिन झुम्मिन्छन् ।
पत्रकारलाई केही भन्नैपर्छ भन्ने नेताहरुलाई पनि थाहा छ । त्यसैले उनीहरु
पत्रकार देख्ने बित्तिकै मुसुमुसु हाँस्दै बाहिरिन्छन् । प्रायः अरु
नेताभन्दा खनाल अलि अघि सर्नुहुन्छ । कोइराला र प्रचण्डले खनालतिरै इशारा
गर्छन् । राजनीतिक सहमतिमा अलि बढी भूमिका हुने भएकाले पत्रकारले
प्रचण्डको पनि कुरा सुन्न खोज्छन् । तर, प्रचण्डले म बोल्दिँन हामी सबैको
तर्फबाट उहाँले नै बोल्ने हो भनेर खनालतिर औंला तेर्साउनुहुन्छ । अनि
खनालले उही पुरानै तयारी प्रतिकृया खरररर बोल्नुहुन्छ ।
खनालले बोल्दासम्म अरु नेताहरु दायाँबायाँ उभिएर बस्छन् । अनि सँगै
बाहिरिन्छन् । खनालले बोलेपछि कोइराला र प्रचण्डले पत्रकारलाई प्रतिकृया
दिँदैनन् । तर, सँगै रहेका गच्छदारले भने कहिलेकाहीँ छुट्टै प्रतिकृया
दिनुहुन्छ । केही दिन पहिले अरु शीर्ष नेताहरुसँगै शीतल निवासबाट र्फकंदा
गच्छदारले पत्रकारलाई प्रतिकृया दिँदै तीन दलले मात्रै छुट्टै निर्णय
गरेको भन्दै असन्तुष्टी जनाउनुभएको थियो । तर, अरुबेला एमाले नेता खनाल
एक्लैले अरु शीर्ष नेताहरुको तर्फबाट प्रतिकृया दिनुहुन्छ ।
राष्ट्रपतिलाई भेटेर र्फकंदा सधैं उहाँले मात्रै प्रतिकृया दिने भएकाले
खनाल कतै तीन दल र मधेसी मोर्चाको प्रवक्ता त होइन भन्ने ख्यालठट्टा पनि
हुने गरेको छ ।
खनाल नै किन ?
पछिल्लोपटक पार्टीभित्र विवाद हुनुभन्दा पहिले राष्ट्रपतिलाई भेटेर
फर्किँदा एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड खुलेर पत्रकारहरुसित
बोल्नुहुन्थ्यो । तर हिजोआज राष्ट्रपति कार्यालयबाट फर्किंदा प्रचण्ड
त्यति बोल्न रुचाउनुहुन्न । कांग्रेस सभापतिकोइराला त पहिलेदेखि नै धेरै
नबोल्ने मान्छे हो । बोल्न पनि त्यति रुची नगर्ने र प्रष्ट पनि नबुझ्ने
भएकाले पत्रकारले कोइरालाको प्रतिकृया कमै मात्र लिन्छन् । अरु नेताको
तुलनामा प्रचण्ड धेरै पत्रकारको रोजाईमा पर्ने नेता पर्नुहुन्छ ।
तर, हिजोआज प्रचण्ड पत्रकारसित त्यति बोल्नुहुन्न । स्रोतका अनुसार
पार्टी उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग कुरा
नमिलेकाले उहाँ तनावमा हुनुहुन्छ । सहमतीय सरकार गठनको विषयमा आफ्नो मत
कोइराला र खनालसित मिल्ने, तर भट्टराई र गच्दारसित नमिल्ने भएकाले
उहाँलाईसार्वजनिक प्रतिकृया दिने जाँगर मरेको हो । प्रचण्ड बोल्न मन
नगर्ने र कोइरालाले त्यति प्रष्ट पारेर बुझाउन नसक्ने भएकाले खनाललाई अघि
सार्ने गरिएको हो । त्यसो त खनाल पहिलेदेखि नै 'मिडिया प|mेन्ड्ली'
नेताको रुपमा चिनिनुहुन्छ ।
'भोलि भनेको कहाँ आज हो त ?'
आइतबार राष्ट्रपतिलाई भेटेर फर्किने क्रममा पहिलेजस्तै चार शक्तिको
तर्फबाट बोल्दै एमाले अध्यक्ष खनालले भोलि जसरी पनि सहमति हुन्छ
भन्नुभएको थियो । धेरैले विश्वास नगरेजस्तै सोमबार केही पनि भएन । सोमबार
राष्ट्रपति कार्यालयमा भेट भएका खनालसित पत्रकारहरुले अघिल्लो दिनको कुरा
सम्झाए । 'तपाईंले हिजो भोलि सहमति हुन्छ भन्नुभएको थियो, खै त भएन ?'
पत्रकारको कुरा सुनेर ठट्टा गर्दै हाँस्दै खनालले भन्नुभयो-'मैले भोलि पो
भनेको, कहाँ आज हो र ? भोलि हुन्छ, भोलि नभए फेरि भोलिको भोलि हुन्छ ।'

No comments:

Post a Comment