Sunday, August 26, 2012

भट्टराईको वर्षदिन : न वाचा पूरा भयो, न निर्देशन

१० भदौ, काठमाडौं । वर्ष दिनअघि भदौ ११ मा डा. बाबुरामभट्टराईले सत्ता सम्हाल्दाएकीकृत नेकपा माओवादी मात्रै होइन विपक्षी दलका केही नेताकार्यकर्ता र आमजनता समेत खुशी थिए । अरुले नसकेपछि भट्टराईले केही गरेर देखाउँछन् भन्ने सबैको आशा थियो । जनताको चाहना र भावनाअनुसार काम गर्न सक्ने एउटै नेता भट्टराई नै हुन् भन्ने सबैलाई लागेको थियो ।
आफूप्रति धेरैको आशा र भरोसा छ भन्ने बुझेका भट्टराईले शुरुका दिनहरुमा केही राम्रा र उदाहरणीय काम पनि थालेकै हुन् । शान्ति र संविधानलाई पूरा गर्ने वाचा गर्दै उनले जनतालाई राहत र सहुलियत दिने योजना पनि ल्याए । महंगो गाडीको सट्टा नेपालमै बनेको सस्तो मुस्ताङ गाडी चढे । जनताको कुरा सुन्न हेलो सरकार र जनतासँग प्रधानमन्त्री अभियान शुरु गरे । पछिल्लोपटक महिनामा एकपटक गाउँमै बास बस्ने नयाँ कार्यक्रम पनि शुरु गरे ।
आफ्नै पार्टीका नेताहरुले जता देख्यो उतै कालोझण्डा देखाउने अभियान थाल्दा पनि शान्ति प्रकृया टुंगाउन उनले साहस देखाए । चावी बुझाए, समायोजन प्रकृयालाई अगाडी बढाए र अन्तिममा समस्या आउने भएपछि रातारात सेना परिचालन गरेरै भएपनि लडाकूलाई नेपाली सेनाको जिम्मा लगाए ।
केही गर्छु भन्ने अभियानमा प्रधानमन्त्री लागेका लाग्यै छन् । तर पहिले भट्टराई प्रधानमन्त्री भैदिए हुन्थ्यो भन्ने जनता भट्टराईले पनि केही गर्न नसकेको भन्दै निराश बनेका छन् । भट्टराईले घोषणा गरे अनुसार जनताले राहत र सहुलियत पाएनन् । महंगी झन् बढ्यो । उनकै पालामा जम्बो मन्त्रिपरिषदको कीर्तिमान तोडियो । चियापानमा मात्रै लाखौं खर्च भयो । अहिले पनि असुरक्षा र भद्रगोल उस्तै छ । राजनीतिक अस्थिरता मात्रै होइन, भ्रष्टाचार र बेथिति पनि घटन सकेन् ।
न वाचा पूरा भयो, न निर्देशन
शान्ति, संविधान र जनतालाई राहत आफ्नो एकलव्य चेष्टा भनेका प्रधानमन्त्रीले बेलाबेला यसअनुसारका काम र भाषण गरेकै हुन् । अरुभन्दा भिन्न हुने प्रयास पनि गरेकै हुन् । तर उनले बोलेका र भनेका धेरै कुरा पूरा भएका छैनन् । निर्देशन कार्यान्वयन भएका छैनन् । उनले बेलाबेला भनेका र निर्देशन दिएका केही उदाहरण यस्ता छन् ः
· सत्ता सम्हाल्ने बित्तिकै प्रधानमन्त्री भट्टराईले शान्ति र संविधानमा काम गर्न नसकेपछि एक मिनेटमा पनि पदमा नबस्ने बताएका थिए । शान्ति रसंविधानका लागि एक एक मिनेटको हिसाब गरेर काम गरेको उनको भनाई थियो । तर एक एक मिनेटको हिसाब गर्दागर्दै न शान्ति प्रकृया पूरा भयो, न संविधान । भट्टराई अझै सरकारको नेतृत्वमा छन् ।
· पोहोर दशैंको मुखमा प्रधानमन्त्री भट्टराईले काठमाडौंबाट बाहिरी जिल्लाहरुमा जाने गाडीले टिकटमा कृत्रिम अभाव देखाउँदै भैरहेको कालोबजारी रोक्न निर्देशन दिए । उनले ठगी गर्नेलाई कार्वाही गर्न पनि भने । त्योबेला दशैंदेखि तिहारसम्मै सार्वजनिक गाडीमा अनुगमन भयो । केहीलाई कार्वाही पनि भयो । तर तिहार सकिएपछि अनुगमन सकियो । सार्वजनिक गाडीमा ठगी र अनियमितता त अहिले पनि हुन्छ । तर दशैं तिहार सकिएपछि यो काम पनि सकियो ।
· अशोज १५ मा प्रधानमन्त्रीले राजमार्गका होटलहरुमा बासी, सडेगलेको र फोहोर खाना खुवाएर यात्रुहरुबाट बढी पैसा असुलेको गुनासो आएपछि त्यस्ता होटलको तत्काल निरीक्षण र अनुगमन गरी कार्वाही गर्न निर्देशन दिए । केही दिन अनुगमनको काम पनि भयो । तर बीचमा त्यसै सेलायो । अहिले पनि होटलहरुमा बासी, सडेगलेका र फोहोर खानेकुरा खुवाउने गरेको उपभोक्ताको गुनासो छ ।
· यस्तै अशोजदेखि नै प्रधानमन्त्री राजधानीको ट्राफिक व्यवस्थापन चुस्त बनाउन पनि ट्राफिक प्रहरी र यातायात व्यवस्था मन्त्रालयलाई पटकपटकनिर्देशन दिए । उनले तत्कालिन र दीर्घकालिन योजना बनाउन पनि भने । प्रधानमन्त्रीको निर्देशनसँगै मापसे जाँच, आकाशे पूलको प्रयोगमा सचेतना, सडक विस्तार लगायतका काम पनि भए । तर अहिले आकाशेपूल प्रयोगबारेको सचेतना कार्यक्रम रोकिएको छ । सडक विस्तारको कामले चाहिं निरन्तरता पाइरहेको छ ।
· जनताका समस्या सुन्ने र उतिखेरै सम्बोधन गर्ने भनेर प्रधानमन्त्रीले अशोज २८ देखि हेलो सरकार कार्यक्रम पनि शुरु गरे । २४ सै घण्टा खुल्ला हुनेहेलो सरकारमा समस्या र गुनासाका चाङ पनि लागेका छन् । तर यी समस्या र गुनासा सम्बोधन भएका छैनन् । कतिले हेलो सरकारलाई रमाइलो गर्ने ठाउँको रुपमा पनि प्रयोग गर्ने गरेका छन् । पहिले के के न होला भन्ने आशा गरिएको हेलो सरकार अहिले जोकको विषय बनेको छ ।
· मंसिर ५ मा प्रधानमन्त्रीले जनतासँग प्रत्यक्ष सरोकार राख्ने बिभिन्न सरकारी संस्थानका महाप्रबन्धक तथा मन्त्रालयका सचिवहरुलाई जनगुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिए । तर जनगुनासो घट्नुको सट्टा झन् बढ्दै गएका छन् ।
· पुसमा प्रधानमन्त्रीले काठमाडौमा सडक विस्तारको काम वैशाखभित्र सम्पन्न गर्ने र भत्काइएका सडक पक्की बनाउने बताएका थिए । तर भत्काउने काम अझै सकिएको छैन । भत्काएका सबै ठाउँमा पुनर्निर्माण भएको छैन । पानी पर्दा हिलो र घाम लाग्दा धुलो बढ्नाले शहरबासी वाक्क भएका छन् ।
· माघ २९ गते प्रधानमन्त्रीले विद्यार्थी र विपन्न परिवारका लागि ग्यास तथा डिजेलमा ३३ प्रतिशत छुट दिने घोषणा गरे । तर अहिलेसम्म यो घोषणा कार्यन्वयन भएको छैन ।
· चैतको अन्तिम हप्ताबाट सफा काठमाडौं, हाम्रो काठमाडौं अभियान शुरु भयो । प्रधानमन्त्रीले नै हातमा कुचो र साबेल बोकेर सडक सफा गरे । बागमती नदीमा खुट्टा डुबाएर फोहोर निकाले । अलिदिन यो कार्यक्रमले तामझाम सहित निरन्तरता पायो । तर यो अभियान अहिले त्यत्तिकै सेलाएको छ ।
· संविधान नबनाईकन संविधानसभा बिघटनपछि विपक्षी दलहरुले सत्ता छोड्न दबाब दिइरहेको बेला प्रधानमन्त्रीले जेठबाट अर्को अभियान शुरु गरे । हरेक महिना गाउँ जाने र उतै बास बसेर जनताका कुरा सुन्ने यो अभियान अन्तर्गत उनले काठमाडौं, भक्तपुर र चितवनका वस्ती घुमिसकेका छन् । मल, सिंचाई, शिक्षा, स्वास्थ्य लगायतका समस्या समाधान गर्ने आश्वासन पनि दिएका छन् । तर यो पनि पूरा भएको छैन ।
· पछिल्लो पटक प्रधानमन्त्रीले यही भदौ ५ गते बजार अनुगमन, मूल्य नियन्त्रण र अत्यावश्यक वस्तुको आपूर्तिलाई सहज बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीकोनिर्देशन लगत्तै सरकारी निकाय यतिखेर तातिएर लागेका छन् ।
प्रधानमन्त्री भट्टराईको चुरीफुरी र दौडधूप देख्दा उनले जनताको लागि केही गर्न खोजेको देखिन्छ । तर उनले भनेका र गरेका काम बालुवामा पानी हालेजस्तो भएको छ । शान्ति प्रकृया टुंगाउन उनले जोखिम मोलेपनि त्यससँगै जोडिएको संविधानकोकाम पूरा हुन सकेन् । संबिधान बाबुराम वा उनको सरकार एक्लैले बनाउन नसक्ने भएपनि दोषको केही हिस्सा उनको पार्टी र उनको सरकारले पनि बेहोर्नुपर्ने हुन्छ ।
सुशासन दिन उनले प्रयास गरेको देखिन्छ तर त्यसले कुनै परिवर्तन भने ल्याएन् । जनताले राहत र सहुलियत महसुस गर्न पाएका छैनन् । संयुक्त सरकार भएको र विपक्षी दलहरुको चर्को दबाबले काम गर्न नसकेको सरकारका मान्छेहरु बताउँछन् । तर पाएको अवसर समेत सदुपयोग गर्न नसेकेको अरुको गुनासो छ । जनताको आशा र चाहनाअनुसार त भट्टराईले गर्न सकेनन् नै । यसबीचमा उनीप्रति रहेको जनताको आशा र उनको साख पनि घटाएको छ ।

No comments:

Post a Comment