Tuesday, October 16, 2012

आज घटस्थापना

काठमाडौं, आश्विन ३० - दुर्गा भवानीको प्रतीकका रूपमा मंगलबार मुलुकभर
घरघरमा घटस्थापना गरी हिन्दुहरूको महान् चाड बडादसैँ शुभारम्भ हुँदैछ ।
दसैंको पहिलो दिन आश्विन शुक्ल प्रतिपदामा वैदिकहरूले नजिककोतीर्थबाट
ल्याएको माटोमा वैदिक विधिपूर्वक पञ्चधातु (सुन, चाँदी, पित्तल, फलाम र
तामा) एवं पञ्चपल्लव (पीपल, वर, आूप, दुमरी र पाखीको पात) राखी जौ र मकै
छरेर घटस्थापना गरिन्छ । तान्त्रिक मतालम्बीहरूले भने पञ्चमकारसहित
तान्त्रिकविधिले ठूलो भगुतमा तीर्थबाट ल्याइएको बालुवा वा पंगमाटोमा जौ र
मकै छरेर जमरा राखी घटस्थापना गर्छन् ।
यसै दिनदेखि नवमीसम्म प्रत्येक दिन बिहान सबेरै एक/एकतीर्थमा स्नानका
साथै एक/एक शक्तिपीठमा पूजा आराधना गरी नजिकको शिवलिङ्गमा अर्घ दिने
गरिन्छ । विजयादशमीको दिन गुह्येश्वरीस्थित शान्ति तीर्थमा स्नान गरी
गुह्येश्वरी माईको पूजा अर्चना गरी नवरात्रि मेला समापन गर्दछन् । नौ
दिनसम्म सञ्चालन हुने भएकाले यस मेलालाई नवरात्रि भनेको बताइन्छ ।
घटस्थापनादेखि कात्तिक १३ गते कोजाग्रत पूणिर्मासम्म सर्वोच्च अदालत
सार्वजनिक बिदामा बन्द रहने हुँदा यस अवधिमा बन्दीप्रत्यक्षीकरणको रिट
सुनुवाइ गर्ने प्रयोजनका लागि घटस्थापना, विजयादशमी र शनिबारका दिनबाहेक
अरू दिन बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत (इजलास) खुला राख्ने
व्यवस्था सर्वोच्च अदालत प्रशासनले गरेको छ ।
प्रकाशित मिति: २०६९ आश्विन ३० १२:००

No comments:

Post a Comment