Thursday, July 19, 2012

माओवादीले नेताको सम्पति पनि छानबिन गर्ने

कमान्डरहरुको राजीनामा स्वीकृत भएको छैन-
काठमाडौँ, साउन ४ (नागरिक)- माओवादीले पूर्व लडाकुको माग अनुसार आर्थिक हिनामिनासँगै नेताहरुको सम्पति बारे पनि छानबिन गर्ने भएको छ। छानबिनका लागि आयोग गठन गर्ने जानकारी अध्यक्ष पुष्पकमल दाहालले दिएपछि मात्रै स्थगित विस्तारित बैठक सुरु हुन सकेको थियो।
लडाकुहरुले शिविरभित्रको हिसाब छानबिन गर्नुपर्ने माग चर्को रुपमा उठाएपछि आज बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिए पनि ४ बजे मात्रै बस्न सकेको थियो।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पूर्व लडाकुका प्रतिनिधिहरुले उठाएका मागका सम्बन्धमा २ वटा छानविन आयोग गठन भएको जानकारी दिए।
शिविरभित्रको हिसाव छानविनको लागि पार्टी सचिव पोष्टबहादुर बोगटीको संयोजकत्वमा ३ सदस्यीय छानविन आयोग गठन भएको छ। आयोगका सदस्यहरुमा पोलिटव्यूरो सदस्य हितराज पाण्डे र केन्द्रीय सदस्य डोरप्रसाद शर्मा रहेका छन्। छानविन आयोगलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
त्यस्तै पार्टी नेताहरुको सम्पत्ति छानविनको लागि स्थायी समिति सदस्य अमिक शेरचनको संयोजकत्वमा ३ सदस्यीय आयोग गठन भएको छ। यसका सदस्यहरुमा पोलिटव्यूरो सदस्य लोकेन्द्र विष्ट र नवराज सुवेदी रहेका छन्। यो आयोगलाई पनि एक महिनाको समय दिइएको छ।
त्यसैगरी पूर्व जनमुक्ति सेनाका शिविरभित्रको हिसावकिताव आधिकारिक र व्यावसायिक चार्टर्ड एकाउण्टेन्टबाट गराउने निर्णय पार्टीले गरेको छ।
पूर्व लडाकुका ६ वटा डिभिजनका कमाण्डर र सातौं डिभिजनका सहायक कमाण्डरले दिएको राजीनामा अहिलेसम्म स्वीकृत गरिएको छैन। राजीनामा स्वीकृत गर्ने वा नगर्ने अधिकार पार्टीमा सुरक्षित रहेको अध्यक्ष दाहालले बताए।

No comments:

Post a Comment