Tuesday, August 21, 2012

नेपालको रेल्वे विकासमा कोरियाले सहयोग गर्ने

सोल, भाद्र ५ - भौतिक योजना, निर्माण तथा यातायात मन्त्रीहृदयेश त्रिपाठी र कोरियाली भूमि, यातायात तथा समुन्द्री मन्त्री क्वन दो योपबीच मंगलबार नेपालको आर्थिक, भौतिक संरचना तथा रेल्वे विकाससम्बन्धी द्वपक्षीय वार्ता सम्पन्न भएको छ ।
सोलमा आयोजना गरिएको विशेष कार्यक्रममा बोल्दै कोरियाली भूमि, यातायात तथा समुन्द्री मन्त्री क्वन दो योपले नेपालको भौतिक संरचना तथा रेल्वे विकासका लागि कोरियाली सरकार सहयोग गर्न तयार रहेको बताएका छन् । मन्त्री योपले कोरियाले नेपालसँग आपसी समझदारीको आधारमा एमओयूमा हस्ताक्षर गरेर दीर्घकालीन रूपमा सहकार्य गर्न चाहेको बताउँदैनेपालको रेल्वे विकासमा कोरियाले सहयोग गर्न तयार रहेको बताए ।
त्यस अवसरमा भौतिक योजना, निर्माण तथा यातायात मन्त्रीहृदयेश त्रिपाठीले नेपालका लागि कोरियाको सहयोग महत्वपूर्ण रहने बताउँदै भौतिक संरचना, रेल्वे र टनेल निर्माणमा नेपाली प्राविधिकहरूको आवश्यकता रहेकाले इपीएस मार्फत रोजगारी गर्न कोरिया आएका नेपाली कामदारलाई यससँग सम्बन्धित क्षेत्रमा काम दिलाउन आग्रह गरेका थिए । मन्त्री त्रिपाठीको आग्रहलाई सम्बोधन गर्दै मन्त्री योपले यस क्षेत्रको सबै काम निजी क्षेत्रबाट हुने भएकाले नेपालबाट प्राविधिक झिकाई यहाँ आबश्यकसीप दिलाउन सकिने बताएका थिए ।
कार्यक्रम समापनपछि ई-कान्तिपुरसँग बोल्दै भौतिक योजना, निर्माण तथा यातायात मन्त्री त्रिपाठीले वार्ता अत्यन्त सफल र महत्वपूर्ण रहेको बताए । मन्त्री त्रिपाठीले वार्तालाई ठोस रूप दिनका निम्ति छिट्टै दुई देशबीच कार्यालयस्तरमा गृह कार्य हुने खुलासा पनि गरे ।
वार्तामा नेपालको तर्फबाट नेपाली राजदूत कमानसिंह लामा, भौतिक योजना सचिव तुलसी सिटौला, निर्माण महाशाखा प्रमुख हरिओम श्रीवास्तव, रेल्वे विभागका महानिर्देशक रामकुमार लम्साल, कानुन शाखा र योजना शाखाका उपसचिव द्वय राजेन्द्र नेपाल र राजेश उप्रेती रहेका थिए भने कोरियाको तर्फबाट कोरियाली रेल परियोजनाका निर्देशक ओछेओक, उपनिर्देशक गी सेङ कोङ तथाइन्जिनियर किम यङ जुन रहेका थिए ।
नेपाली टोलीले आजै यहाँको रेल सेवासम्बन्धी ट्राफिक नियमको जानकारी लिँदै नियन्त्रण कक्ष अवलोकन गरेकोथियो । टोलीले बुधबार कोरिया रेल सेवाका प्रमुख छङ चाङ योङसँग पनि भेट गर्ने छ ।
प्रकाशित मिति: २०६९ भाद्र ५ ०६:३९

No comments:

Post a Comment