Thursday, August 30, 2012

भगौडी बेहुलीको कस्तो धन्दा ? बिहे गरेर लुट्ने र भाग्ने

उनले अहिलेसम्म धेरै युवाहरुलाई आफ्नो बाहुपासमा पारिन्, बिहे गरिन् तर उनलाई आफ्नी जिवनसँगिनी बनाउने कोहीपनि मर्द सफल भएन । आखिर पेशा नै जतिसक्दो धेरैको सिन्दुर लाउ, बढिभन्दा बढि धनमाल कुम्ल्याऊ भन्ने भएपछि हुने नै त्यस्तै त हो । तर दर्जनौँ ठिटाहरुसँग बिहेको नाटक रच्ने, केहीदिनको लागि बेहुली बनिदिने र अन्त्यमा धनमाल कुम्ल्याएर भाग्ने ती युवतीलाई अहिलेसम्म प्रहरीले पनि पक्रिन सकेको छैन ।
यो घटना हो भारतको । भारतको केरलाकी ३३ वर्षीया सहजान नामकी ती महिलाले यसरी बेहुली बन्दै ठिटाहरुलाई ठग्दै गरेकी छिन् की उनीबाट कार शोरुमका कामदार देखि लिएर जिल्लास्तरीय फुटबल खेलाडीसमेत ठगिएका छन् ।
प्रेमको नाटक रचेर ठिटाहरुलाई पट्याउने, बिहे गर्ने र बिहेपछि एकदुइ दिन केटाको घरमा गएर बसिदिने उनको नित्यकर्म जस्तै रहेछ । त्यसपछि उनले तिकडम सुरु गर्दिरहिछिन् । अनेक उपाय रचेर केटा तथा उसको परिवारबाट धनमाल तथा गरगहना झार्ने र प्रसस्त्रै धनमाल जम्मा गरेपछि सुटुक्क भाग्ने उनको पेशा नै रहेछ । उनले अहिलेसम्म ५० भन्दा बढिपटक बेहुली बनेर यस्तो ठगी गरिसकेको बताइन्छ । उनले सबैभन्दा पहिलो विवाह ११ वर्षअघि गरेकी थिइन् । सिद्धिकी नामको लोग्नेबाट उनले एक बच्चा पनि जन्माइन् । तर उनलाई के जुक्ति फुर्यो कुन्नी त्यसपछि बिहे गर्ने जागिर रोजिन् । आफु टुहुरी रहेको र ठूलो संघर्षले पढ्दै अहिले मद्रास उच्च अदालतमा वकिलको रुपमा काम गरिरहेको भनेर समेत उनले एकजना युवकलाई ढाँटिछन् ।
वकिल्नी केटी फेला पारेपछि ती युवक मख्ख परेर बिहे गर्ने निधोमा पुगेछन् । ती युवकले बुवाआमाको सल्लाहबिनै ती महिलालाई बिहे गरे । बिहेपछि ती महिलाले पढाइका लागि आफु छात्राबासमा बस्ने भन्दै २ लाख भारु मागिन् । युवकले पनि जसोतसो गरेर उक्त पैसा जुटाएर श्रीमती भनाउँदीलाई पठाएछन् । तर पैसा पाएपछि ती महिला टाप कँसिछन् । यसरी ती महिलाबाट ठगिनेहरु दर्जनौँ भएपनि अहिलेसम्म केवल १५ वटा घटना मात्र प्रकाशमा आएका छन् । उनी विरुद्ध ७ जना पुरुषहरुले आफु ठगिएको भन्दै चेन्नइ पुलिसमा उजुरी गरेका छन् । प्रहरीले ती ठग महिलाको खोजी भैरहेको भन्दै ती महिला अरु आपराधिक क्रियाकलापमा पनि संलग्न भएको हुनसक्ने दाबी गरेको छ ।

No comments:

Post a Comment