Wednesday, August 22, 2012

कतारमा बेपत्ता भएका एक नेपाली मृत फेला

खोटाङ, भदौ ६- कतारमा बेपत्ता भएको छ दिनपछि एक नेपाली मृत भेटिएका छन्। रोजगारीका सिलसिलामा कतार पुगेका खोटाङका छितापोखरी-४ का ४२ वर्षीय तीर्थ खड्का बेपत्ता भएको छ दिनपछि मृत भेटिएका हुन्।
कतारको सनैया ४७ नम्बरमा नाथुरको काम गर्दै आएका खड्काको एउटा खुट्टा र एउटा हात नभएको अवस्थामा शव भेटिएको खोटाङ सेवा समाज कतारका महासचिव नारायण बस्नेतले जानकारी दिए।
गत बिहीबारदेखि साथीहरूबाट सम्पर्कबिहीन भएका खड्काको शव मङ्गलबार उनी आफैँ बस्दै आएको घर पछाडि क्षत विक्षत अवस्थामा भेटिएको कतारमा सँगै काम गर्दै आएका मृतकका भाइ राजन खड्काको भनाइ उद्धृत गर्दै बस्नेतले जानकारी दिए।
केही दिनपछि नै घर फर्कने तयारीमा रहेका मृतकको साथमा चार हजारभन्दा बढी कतारी रियल रहेको र नेपाली कामदारबाटै उनको हत्या भएको अनुमान गरिएको छ। अहिले खड्काको शवलाई पोस्टमार्टमका लागि प्रहरीले हमाद अस्पतालमा राखेका छन्।
तीन वर्षअघि कतार पुगेका खड्काले कतारमा कम्पनीको कामबाहेक कामदारका लागि मेस पनि सञ्चालन गर्दै आएका थिए। मृतक खड्काको श्रीमती, ६ छोरी र दुई छोरा छन्। रासस

No comments:

Post a Comment