Thursday, August 16, 2012

‘भ्रष्टाचारी’ खुमबहादुरलाई कांग्रेसले काँध थाप्ने

३२ असार, काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गर्ने सर्वोच्च अदालतको फैसला अन्यायपूर्ण र पूर्वाग्रही भएको भन्दै पुनरावलोकनमा जाने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले फैसलाको न्यायीक पुनरावलोनका लागि पहल गर्ने निर्णय गरेको छ । ‘विशेष अदालतबाट सफाई पाएको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट ठहर गरी पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्कालाई सजाय तोकेकामा हामीलाई आश्चर्यचकित र दुःखीत तुल्याएको छ’ बैठकको निर्णयमा भनिएको छ-’सर्वोच्च अदालतबाट भएको उक्त अन्यायपूर्ण फैसलाउपर कानून व्यवसायीहरुसँग सल्लाह गरी न्यायिक पुनरावलोकनको लागि पार्टीले सक्रिय पहल गर्नेछ ।’
केन्द्रीय सदस्य मीन विश्वकर्माका अनुसार न्यायिक पुनरावलोकका लागि खड्काले निवेदन दिनु हुनेछ भने कांग्रेसले त्यसका लागि आवश्यक पहल गर्नेछ । स्रोतका अनुसार देउवापक्षीय नेताहरुकोबिशेष दबाबका कारण कांग्रेसले संस्थागतरुपमै खड्कालाई काँध थाप्ने निर्णय गरेको हो ।
तत्कालिन शाही सरकारले आन्दोलनमा उत्रिएका कांग्रेस नेताहरुलाई छानी छानी मुद्दा चलाएको दावी गर्दै कांग्रेसले त्यही आधारमा अहिले फैसला आउनु अन्यायपूर्ण हुने तर्क गरेको छ । ‘माओवादीका भ्रष्टाचारका कुराहरुमा अहिलेसम्म केही भएको छैन, खाली कांग्रेसका नेताहरुलाई मात्रै लक्षित गरेर मुद्दा चलाउने र फसाउने काम भएको छ’- कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले भन्नुभयो-’सरकार र उसका संयन्त्रहरु पूर्वाग्रही हुने हो भने लोकतन्त्र नै कमजोर हुन्छ भन्ने हाम्रो चिन्ता हो, भ्रष्टाचारीलाई कारवाही गर्ने हो भने सवैलाई हुनुपर्‍यो ।’ उहाँले आफ्नो निर्णयको उदेश्य न्यायालयलाई चुनौती दिनु नरहेको दावी गर्नुभयो ।
यसैवीच बैठकले महासमिति बैठक असोज २० देखि २४ गतेसम्म गर्ने निर्णय गरेको छ । बैठकले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीले थालेको अनसनप्रति ऐक्यबद्धता जनाएको छ । केसीको विग्रदो स्वास्थ्य अवस्थाप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको भन्दै कांग्रेसले उहाँले उठाएको माग तत्काल सम्वोधन गर्न र त्रिविको नियुक्तिमा भैरहेको राजनीतिकरण रोक्न माग गरेको छ ।

No comments:

Post a Comment