Saturday, August 4, 2012

७ थान पेस्तोल बुझाउँदै भगत सिंह समूहले आत्मसमर्पण गर्‍यो

अमर खड्का, इटहरी, साउन २०- तराइमा हिंसात्मक गतिविधि गर्दै आएको जनतान्त्रिक तराइ मुक्ति पार्टी भगत सिंह समूहले सरकारसमक्ष आत्मसमर्पण गरेको छ। सुनसरीको पकलीमा भएको वार्तापछि समूहले ७ थान पेस्तोल र एक थान रिवल्बर जिल्ला प्रशान कार्यालय सुनसरीलाई बुझाएको छ।
वार्तामा भएको ४ बुँदे सहमति अनुसार समूह हतियार बुझाउन राजी भएको हो। सहमतिअनुसार जिल्ला नेता परिचालन गरी २० दिनभित्र पार्टीले आफूसँग भएका अन्य हतियार संकलन गरी सरकारलाई बुझाउनेछ।
स्थानीय प्रशासनको सम्पर्कमा रही यसरी संकलन गरिएका हातहतियारहरु सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरी प्रजिअबाट प्राप्त हतियारहरुको लगत बमोजिमको भर्पाइ आगामी वार्तामा पेश गर्ने सहमति भएको छ।
सहमतिअनुसार सरकारले जनतान्त्रिक तराइ मुक्ति पार्टी भगतसिंह समूहका नेता कार्यकर्ताका मुद्दा, जेल हिरासतको विवरण पार्टीले पेश गरे बमोजिम मुद्दा फिर्ता एवं रिहाइको कारवाही कानुन बमोजिम शीघ्र बनाउनेछ।
वार्तामा सरकारका तर्फबाट शान्ति तथा पुनर्निमाण मन्त्री टोपबहादुर रायमाझी तथा पार्टीको तर्फबाट मनोज मण्डल, प्रवक्ता बल्लु खान सदस्य प्रल्हाद महरा, सदस्य उमेश यादव कामेश्वर सिंह सहभागी थिए। जनतान्त्रिक तराइ मुक्तिमोर्चा ज्वालासिंहबाट भगत सिंह समूह २०६१सालमा अलग्गिएको यो समूहले तराइका जिल्लामा भूमिगत रुपमा हिंसा मच्चाउँदै आएको थियो।
यसैगरी अहिले इटहरीमा सरकारी टोलीले खुम्बुवानसँग वार्ता गर्दैछ। पूर्वी पहाडी जिल्लामा गतिविधि चलाउँदै आएको खुम्बुवानसँग मन्त्री रामायझीकै टोलीले वार्ता गर्न लागेको हो।

No comments:

Post a Comment