Friday, May 18, 2012

भारतीय कन्सुलरको भनाईप्रति तीन दलको कडा आपत्ति

काठमाडौ, जेष्ठ ५ - प्रमुख तीन दलले कुटनीतिक मर्यादा विपरीत काम गरेका वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका राजनीतिक मामिला हेर्ने कन्सुलर एसडी मेहतालाई फिर्ता पठाउन पहल गर्न सरकारसंग आग्रह गरेको छ ।
शुक्रबार बालुवाटारमा बसेको माओवादी, कांग्रेस र एमालेको संयुक्त बैठकले मेहताको गतिविधिप्रतिकडा आपत्ति जनाएको छ । बैठकपछि माओवादी उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले कुटनीतिक नियोगका कर्मचारीको आपत्ति जनक अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारको ध्यानाकर्षण गराइने बताए । उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मधेशी मोर्चा सहित तीन दलको संयुक्त वक्तव्य आउने उनको भनाई थियो ।
मेहताले बुधबार राति बारा र पर्साका केही स्थानीय नेताहरुसंग अनौपचारिक रात्रि भोज गरेर 'मधेसका लागि लड्न' आग्रह गरेका थिए । उनले स्थानीय राजनीतिक नेतृत्वलाई आन्दोलनका लागि उक्साएको समाचार आज सार्वजनिक भएपछि तीनदलले त्यसप्रति कडा शब्दमा आपत्ति जनाएको छ । यसैबीच काठमाडौंस्थित भारतीय दूतावासका प्रवक्ता अपूर्वा श्रीवास्तवले एक प्रेस विज्ञप्ती मार्फत उक्त समाचारको खण्डन गरेकी छन् । उनले समाचार गलत र तथ्यहीन भएको दावी गरेकी छन् । उनले यस्तो समाचारले दुई देशको मैत्री पूर्ण सम्बन्धलाई कमजोर बनाउने उल्लेख गरेकी छन् ।
प्रकाशित मिति: २०६९ जेष्ठ ५ ०१:१६

No comments:

Post a Comment