काठमाडौं, भदौ ७ (नागरिक)- सरकारले यो वर्ष हिउँदमालोडसेडिङलाई दैनिक १२ घण्टामा सिमित राख्न प्रयास गर्ने भएको छ। प्रधानमन्त्री बाबुराम भट्टराईले हिजो ऊर्जा, अर्थ मन्त्रालय र विद्युत प्राधिकरणका अधिकारीहरुलाई लोडसेडिङलाई बढीमा १२ घण्टामा सिमित राख्न निर्देशन दिएका छन्।
विद्युत प्राधिकरणले यो वर्ष २१ घण्टासम्म लोडसेडिङ हुनसक्ने चेतावनी दिएपछि प्रधानमन्त्रीदेखि लिएर संबद्ध अधिकारीहरु सकृय भएका हुन्।
विद्युतको माग वर्षेनी एकसय मेगावाटले बढेपनि नयाँ आयोजनाहरु अघि बढ्न नसकेपछि यो वर्ष भारतबाट थप ७५ मेगावाट ल्याउन पहल गरिने भएको छ। त्यसको लागि प्रशारण लाइन तत्काल निर्माण हुनुपर्ने र केही स्थानमा सुधार समेत गर्नुपर्ने भएकोले आवश्यक बजेट व्यबस्था गर्न ऊर्जा मन्त्रालयले माग गरकेो छ।
'प्रधानमन्त्रीले जसरी हुन्छ हिउँदमा हुने लोडसेडिङको समस्यालाई हल गर्न अहिलेदेखिनै पहल गर्न निर्देशन दिनुभयो,' ऊर्जा सचिव हरिराम कोइरालाले भने। गत वर्षको हिउँदमा पनि सरकारले लोडसेडिङलाई दैनिक १२ घण्टामा सिमित राखेको थियो। नेपालकै जलविद्युत आयोजनाहरुबाट उत्पादन भएको बिजुलीले नपुगेर भारतबाट एकसय २५ मेगावाट आयात गरिएको थियो।
यस पटक दुईसय मेगावाटसम्म बिजुली भारतबाट ल्याउन सके लोडसेडिङलाई गत वर्षको हाराहारीमा राख्न सकिने प्रस्ताव ऊर्जाको थियो। दुहबी र हेटौंडामा रहेका मल्टिफ्यूल प्लान्ट निजी क्षेत्रसँग मिलेर सञ्चालन गर्ने प्रस्ताव समेत ऊर्जाले राखेको छ।
निर्माणाधिन विद्युत आयोजनाहरुलाई समयमै सम्पन्न हुन दिन कुनै अवरोध नगर्ने, सरकारले सुरक्षा दिने लगायतका विषयमा प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका थिए।
यो वर्ष पानी समेत प्रयाप्त नपरेको हुँदा हिउँदको लागि उपयुक्त कुलेखानीको जलाशय भरिएको छैन। गत वर्ष जलाशय भरिएकोले हिउँदमा फारो गरेर बिजुली उत्पादन भएको थियो।
नेपालमा गत वर्षको हिउँदमा बिजुलीको माग एकहजार २५ मेगावाट थियो। यस वर्ष उच्चतम माग एकहजार एकसय ६३ मेगावाट हुने.अनुमान विद्युत प्राधिकरणको छ।
'लोडसेडिङलाई कम गर्न जुन उपाय अपनाउन सकिन्छ, सबैगर्न प्रधानमन्त्रीको निर्देशन छ,' सचिव कोइरालाले भने। भारतसँग १५ किलोमिटर प्रशारण लाइन तत्काल बनाउन सकियो भने लोडसेडिङ १२ घण्टामा सिमित गर्न सकिने विश्वास उनले व्यक्त गरे।
विद्युत प्राधिकरणले मध्य वर्षायाममै लोडसेडिङ दैनिक सात घण्टा पुर्यााएको छ। यसले पनि समयमै उपायहरु नलगाएमा लोडसेडिङ भयावह हुने देखिएपछि प्रधानमन्त्रीले बैठक राखेका हुन्।
No comments:
Post a Comment