काठमाडौं, वैशाख २७ - प्रमुख दलहरु संविधानका विवादित विषयलाई मतदानबाटै टुंग्याउने निष्कर्षमा पुगे पनि सहमति प्रयास जारी छ ।
माओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुबीच विवादलाई सकभर सहमतिमै टुंग्याउने प्रयासस्वरुप संविधानसभा भवन नयाँ बानेश्वरमा छलफल भइरहेको छ । आज रातभर लगाएर भए पनि सहमति गर्ने प्रयत्नमा दलहरु छन् ।
बानेश्वरमा के हुँदैछ ?
पछिल्लो जानकारीका लागि हामीसँग रहनुहोला
..........
राति ९: २५ बजेः कांग्रेस नेता अर्जुन नरसिंह केसीले भने- शासकीय स्वरुपमा पछि मिल्छ भन्ने छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री नजिक छौं । अधिकार बाँडफाटमा सहमति हुन बाँकी छ । राज्य पुनर्संरचनामा छलफल भइरहेको छ । कांग्रेस-एमाले बहु पहिचानका आधारमा ८ प्रदेश बनाउने विषयमा एक छन् । माओवादीले एकल पहिचानका आधारमा ११ प्रदेश भनिरहेको छ । भर्खर ९ बज्यो, आज १२, १ बजेसम्म बसेर सहमति हुन्छ ।
..........
राति ९: २० बजेः भौतिक योजना मन्त्री हृदयेश त्रिपाठीले भने- सहमति अन्तिम प्रयत्न जारी छ । पहिचानसहितको संघीयता मान्न कांग्रेस-एमाले तयार छैनन् । उनीहरु मधेसलाई कुरुप बनाउन चाहन्छन् । तर पनि सहमतिको लागि रातिसम्म छलफल चलिरहन्छ । जसरी पनि सहमति गर्ने प्रयासमा दलहरु छन् ।
..........
राति ९: १५ बजेः चार शक्तिको बैठक सकियो । नेताहरु खानाका लागि भन्दै केही बाहिरिए भने बाँकी भित्रै छन् ।
..........
राति ९ बजेः पुनः संविधानका विवादित विषयमा मुख्य चार शक्तिबीच छलफल सुरु भएको छ ।
..........
साँझ ८ बजेः माओवादीले मधेसी मोर्चासँग संघीयता र राज्य पुनर्संरचनाका विषयमा छलफल गरेको छ । यसबेला एमाले आन्तरिक बैठकमा व्यस्त रहृयो भने कांग्रेस पनि बैठकमै व्यस्त रहृयो ।
..........
साँझ ६ बजेः माओवादीले कांग्रेससँग संघीयता र राज्य पुनर्संरचनाका विषयमा छलफल गरेको छ । यसबेला एमाले आन्तरिक बैठकमा व्यस्त रहृयो भने मधेसी मोर्चा पनि बैठकमै व्यस्त रहृयो ।
..........
साँझ ५: ३० बजेः माओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुबीच विवादलाई सकभर सहमतिमै टुंग्याउने प्रयासस्वरुप संविधानसभा भवन नयाँ बानेश्वरमा छलफल भयो ।
..........
साँझ ५ बजेः संविधानका विवादित विषयमा सहमति खोज्न तीन दलको बैठक बस्नुअघि संविधानसभा भवन नयाँ बानेश्वरमा माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको आन्तरिक बैठक बसेको छ ।
........
प्रमुख दलहरु संविधानका विवादित विषयलाई मतदानबाटै टुंग्याउने निष्कर्षमा पुगे पनि सहमति प्रयास जारी छ ।
माओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुबीच विवादलाई सकभर सहमतिमै टुंग्याउने प्रयासस्वरुप संविधानसभा भवन नयाँ बानेश्वरमा छलफल भइरहेको छ । छलफल मुख्य विवादित शासकीय स्वरुप र राज्य पुनर्संरचना विवादमा केन्द्रित रहेको छ ।
विवाद मिलाउन पटक-पटक विवाद समाधान उपसमितिको म्याद थपे पनि सहमति नभएपछि बुधबार बिहान बसेको संवैधानिक समितिको बैठकले अब संविधानसभामा निर्वाचन प्रक्रियाबाटै टुंगो लगाउने निर्णय गरेको थियो । बिहीबार बिहानसम्म पनि सहमति नभए संविधानसभामा पठाउने निर्णय संवैधानिक समितिमा भएको थियो ।
मुख्य दलहरुबीच विवादित पाँचमध्ये नागरिकता, न्यायप्रणाली र निर्वाचन प्रणालीमा भने सहमति भएको छ ।
No comments:
Post a Comment