Tuesday, July 31, 2012

गेस्ट हाउस र रेस्टुरेन्टमा छापा मार्दै, जोडी पक्रँदै प्रहरी

काठमाडौं साउन १६ (नागरिक)- सार्वजनिक स्थानमा चुरोट सेवनकर्ता पक्राउमा केन्द्रित महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी एक सातादेखि यौन व्यवसायी केन्द्रित भएको छ। परिसरले साउनको पहिलो साताबाट गेस्ट हाउस र यौनकर्मीको चहलपहल हुने सार्वजनिक स्थान केन्द्रित अभियान सुरु गरी एक सय २० लाई पक्रेको छ। प्रहरीले सञ्चालक र यौनव्यवसायी गरी ३० जनालाई मुद्दा चलाएको छ भने अन्यलाई आफन्तको रोहवरमा रिहा गरेको छ।
गेस्ट हाउसको आवरणमा यौनधन्दा चलाएको दाबी गर्दै प्रहरीले असार ३१ देखि साउन १३ सम्म काठमाडौंका एक सय २७ ठाउँमा छापा मारेको छ। प्रहरीले रेस्टुरेन्ट र गेस्ट हाउसलाई छापाको तारो बनाएको छ।
प्रहरीले महाबौद्ध, कलंकी, नयाँबसपार्क, रत्नपार्क, पुरानो बसपार्क, बालाजु, रातो पुल र ठमेल क्षेत्रका रेस्टुरेन्ट र गेस्ट हाउस केन्द्रित अप्रेसन चलाइरहेको छ।
प्रहरीले आफ्नो अभियानमा गेस्ट हाउसका सञ्चालक र कामदारलाई लक्ष्य गरेर पक्राउ गरेको छ। यौन व्यवसायीको चहलपहल हुने रत्नपार्क र महाबौद्धको सार्वजनिक स्थानमा समेत निगरानी बढाएर काठमाडौंको प्रहरीले पक्राउ अभियान तीव्र बनाएको छ।
प्रहरीले असार ३१ गते ठमेलको एभरेस्ट रेस्टुरेन्टमा छापा मारेर रेस्टुरेन्टका सञ्चालकसहित तीन जनालाई पक्रेको थियो।
प्रहरीले साउन ९ गते तीन बजेदेखि चार बजेसम्म बागबजारक्षेत्रका रेस्टुरेन्ट र गेस्ट हाउसमा छापा मारेको थियो। प्रहरीले सो क्षेत्रकोस्वागतम, श्री, सगरमाथा, नासिका, झरना र त्रिवेणी गेस्ट हाउसमा छापा मारेर सञ्चालक र ग्राहकसहित नौ जोडी पक्रेको थियो।
साउन १० गते परिसरका सादा पोसाकका प्रहरीले दिउँसो २ बजेदेखि ४ बजेसम्म पुरानो बसपार्क क्षेत्रको हिमचुली, डाइमन्ड रेस्टुरेन्ट र नौलो होटल पुकारमा छापा मारेर सञ्चालक र ग्राहक गरी ९ जनालाई पक्रेको थियो।
साउन १२ गते महाबौद्धका होटल तथा गेस्ट हाउसमा छापा मारेर १२ जनालाई पक्रेको थियो। प्रहरीले यति गेस्ट हाउसबाट तीन जना, महाबौद्ध क्षेत्रवाट ९ जना पक्रेको थियो।
साउन १३ मा एकै पटक रातोपुल, कलंकी, बालाजु र ठमेल क्षेत्रका होटल र गेस्ट हाउसमा छापा मारेर ५७ जनालाई पक्रेको थियो। प्रहरीले पूर्वेली, प्रतिमा, हिमाली छाया, सनफ्लावर सारसा, रवि, एकान्त, रवि, अन्नपूर्ण, बद्रीनाथ, आस्था मोक्तान, स्वागतम, कोहिनुर, गेस्ट हाउस, होटल कैलाशमा छापा मारेको थियो।
पक्राउ परेका सबैमाथि प्रहरीले 'यौन क्रियाकलाप गराई समाजमा विकृति फैलाएको' अभियोग लगाए पनि व्यवसायीले भने अनावश्यक रूपमा दुःख मात्र दिएको दाबी गरेका छन्।
व्यवसायीहरू आफ्नो परिचय खुलाउन चाहँदैनन्। नाम उल्लेख नगर्ने सर्तमा बागबजारको एक गेस्ट हाउस सञ्चालकले 'क्षणिक लोकप्रियता र रकम असुलीका लागि प्रहरीले छापा मारेको' दाबी गरे।
प्रहरीले होटल, रेस्टुरेन्ट र गेस्ट हाउस सञ्चालक, कामदार र ग्राहकलाई पक्राउ गरे पनि तीनै जनालाई समान अभियोगमा कारबाही गर्ने गरेको छ। यसअघि यौन गतिविधि गराउने गेस्ट हाउस र रेस्टुरेन्टका सञ्चालकमाथि मानव बेचबिखनको अभियोगमा कारबाही अगाडि बढाएपनि यसपटक भने प्रहरीले उनीहरूमाथि समेत सार्वजनिक अपराधको अभियोग लगाएको छ। कामदार र ग्राहकमाथि पनि सोही अभियोगमा प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको छ। उनीहरूलाई दुई सातासम्म हिरासतमा राखेर जिल्ला प्रशासन कार्यालयमा मुद्दाको फाइल बुझाउने गरेकोछ। पक्राउ परेका सबै सहजै धरौटीमा रिहा हुन्छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी धिरजप्रताप सिंह स्थानीयबाट बढी गुनासो आएका स्थानमा छापा मार्ने गरेको बताउँछन्।सार्वजनिक रूपमै यौनकर्मी बढी सक्रिय हुने स्थानमा समेत प्रहरीले छापा मार्ने गरेको उनले बताए।
यस्ता गतिविधि पूर्ण रूपमा नियन्त्रण गर्न नसकिने स्वीकार्दै उनले यस्ता व्यवसायीलाई निरुत्साहित गर्न छापा मार्ने क्रमलाई तीव्र बनाएको दाबी गरे। 'पूर्ण रूपमा नियन्त्रण गर्न त सकिँदैन,' डिएसपी सिंहले भने,'उनीहरूलाई निरुत्साहित गर्नेमात्र उद्देश्य हो।'
छापाको बहानामा प्रहरीले रकमअसुलेको परिसरका प्रहरी स्वीकार गर्दैनन्। आफ्नो गलतगतिविधिलाई ढाकछोप गर्न यस्तो आरोप लगाएको डिएसपी सिंहले दाबी गरे।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete