Sunday, June 9, 2013

मन्दिर प्रवेश गर्न खोज्दा दलितका ६० घर भत्काइए

२६ जेठ, रौतहट । मन्दिर प्रवेशमा रोक लगाएको विरुद्धमा दर्ता गरिएको
मुद्दा दर्ता फिर्ता दिन नमानेपछि रौतहटमा दलित परिवारमाथि कुटपिट हुनुका
साथै ६० घरधुरीमा तोडफोड भएको छ । दलित बस्तीमा गैरदलित समुदायले
शुक्रबार राति गरेको सामूहिक आक्रमणमा दुई दर्जनको संख्यामा दलित
समुदायका सदस्य घाइते भएका छन् ।
रौतहट जिल्लाको पिपरिया दोस्तिया गाविसको भिण्डावर टोलमा रहेको दलित
बस्तीमा गैरदलितले आक्रमण गरेपछि सो बस्तीमा रुवाबासी चलेको छ । गाउँको
मध्यभागमा रहेका चमार समुदायलाई एक महिनाअघि स्थानीय क्षेत्रमा रहेका
मन्दिर प्रवेशमा गैरदलितले रोक लगाएपछि दलित समुदायले गैरदलितविरुद्ध
मुद्दा दर्ता गराएका थिए । स्थानीय रामचन्द्र राय, विजय साह, सिकिन्द्र
पण्डित, पसिन्द्र यादव, रामेश्वर यादव र हृदयनारायण यादवसहितको समूहले
दलित बस्तीमा आक्रमण गरेको थियो ।
गैरदलित समुदायको आक्रमणबाट स्थानीय गुरुदयाल राम, महावीर राम,
पार्वतीदेवी राम, सुनितादेवी राम, जितनीदेवी रामलगायतका १८ जना घाइते
भएका छन् । घाइतेहरूको गरुडास्थित अनामिका अस्पताल र जिल्ला अस्पताल
गौरमा उपचार भइरहेको रौतहटका प्रहरी उपरीक्षक गोविन्द परियारले जानकारी
दिए । अधिकांश घाइतेहरूलाई लाठी र इँटाले प्रहार गरिएको प्रहरीले जनाएको
छ । दलित बस्तीका महिला र केटाकेटीलाई अरूको शौचालय जानसमेत नदिएर दलित
बस्ती नै घेरा हालेर कुटपिट गर्नुका साथै घर तोडफोड गरेको घाइते गुरुदयाल
रामले जानकारी दिए । गैरदलितले दलितका घरमा रहेको भाँडाकुँडा, टिभी,
दराज, घरको भित्ता र छानासमेत तोडफोड गरेका छन् । दलित बस्तीमा रहेका
खानेपानीका ट्युबवेलको ह्यान्डिलसमेत भाँचिदिएका कारण आफूहरूलाई पानी
खानसमेत समस्या रहेको पीडितहरूले गुनासो गरेको नयाँ पत्रिका तथा राजधानी
दैनिकमा खबर छ ।
स्थानीय बासिन्दाले घटना भएको चार घन्टापछि प्रहरी आएको भन्दै आक्रोश
व्यक्त गरेका थिए । इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षकभेषराज
रिजालले घटनाको भएको थाहा पाउनासाथ आफूहरू घटनास्थल पुगेको दाबी गरे ।
योजना नै बनाएर कुटपिट तथा तोडफोड भएको नेपाल उत्पीडित जातीय मुक्ति समाज
रौहतटका अध्यक्ष नाथुराम परियारले बताए । घटनापछि राति नै
चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक नन्दलाल साह र इलाका प्रहरी कार्यालय
गरुडाका प्रहरी निरीक्षक रिजालको नेतृत्वमा गएको प्रहरी टोलीलाई स्थानीय
बासिन्दाले एकले अर्कोको पक्षधर भन्दै पानीसमेत खान दिएका थिएनन् ।
शनिबार बिहान रौतहटका प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरे, प्रहरी
उपरीक्षक गोविन्दराम परियार, सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोख्रेल र
अधिकारकर्मीहरूको टोलीले घटनास्थलको निरीक्षण गरेको थियो ।
घटनास्थलमै पत्रकारहरूसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले
घटनामा संलग्न हुनेलाईकुनै पनि हालतमा नछोडिने बताए । पीडित परिवारलाई
तत्काल रेडक्रसको सहयोगमा त्रिपाल र अन्य आवश्यक वस्तुको प्रबन्ध मिलाउने
उनले जनाए । दलित परिवार घरमा बस्न नसकेको अवस्थामा स्थानीय प्रहरी
प्रशासनले सुरक्षा दिएर भए पनि उनीहरूलाई घरमै बस्न सक्ने वातावरण बनाइने
प्रहरी उपरीक्षक परियारले दाबी गरे । घटनालगत्तै प्रहरीले वडा नम्बर–८ का
रामदेवराय यादव र छोटेलाल यादवलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक
परियारले जानकारी दिए । source onlinekhabar.com

No comments:

Post a Comment