Saturday, June 8, 2013

मधुलाई बधू बनाउने यस्तो छ राजेश हमालको योजना

२५ जेठ काठमाडौं । नायक राजेश हमालको विवाहको विषयमा बजारमा चल्दै आएको
बहस अन्ततः सकिने छनक देखिएको छ । कति फ्यानहरुले राजेश हमालसँग बिहे
गर्न पाऊँ भनेर वर्षौंदेखि धूप हालिरहेका बेला हमालले मिडियामा सार्वजनिक
भएकी धरानकी मधु भट्टराईलाई नै बधू बनाउने भएका छन् ।
पछिल्लो समय प्रेमिकाको विषयमा खुलेरै कुरा गर्न थालेका नायक हमालले अब
चाँडै बिहे गर्ने खुलासा गरेका छन् । युवा ज्योतिष हरिहर अधिकारीले दुई
वर्षपछि बिहे गर्दा राम्रो हुन्छ नभनिदिएको भए सायद यतिबेला हमालको घरजम
भैसक्थ्यो । तर, अब नायक राजेश हमाल सन् २०१४ को सुरुवातसँगै घरजम बसाउने
तयारीमा लागेका छन् ।
हमाल कुनै एकान्तस्थलमा परिवारका केही सदस्य र पत्रकारका साथमा मधुलाई
आफ्नो बनाउने तयारीमा छन् । यो विषयमा अनलाइनखबरसँग कुरा गर्दै नायक
हमालले आफूलाई एकान्त मनपर्ने भएकाले एकान्तमै बिहे गर्ने तयारी गरेको
बताए । 'ठाउँ अहिले नै तय भैसकेको छैन । तर म एकान्त खोज्दै छु ।'- नायक
हमालले अनलाइनखबरसँग भने- 'म भव्य तबरले नाटक गरेर बिहे गर्ने सोचमा छैन
। साधारण तर अनौठो तबरले बिहे होस् भन्ने चाहना छ ।'
हमालका आफन्त र दिदीहरु अमेरिकामा भएकाले पनि बिहेका लागि केही ढिलाइ
भएको हो । चर्चित नायक हमालले भने- यो वर्षभित्र जसरी पनि बिहे गर्छु ।
तर, यस्तो कुरामा पारिवारिक सल्लाह पनि लिनुपर्ने रहेछ ।'
मंसिरपछि बिहे गर्नुका दुई कारण
नायक हमालले आफ्नो बिहेलाई यो बर्षको अन्तिममा सार्नुका पछाडि दुईवटा
कारण छन् । एक त ज्योतिषले सन् २०१४ मा मात्र बिहे गर्नु भनेका छन् ।
यसैले पुस सकिएपछि मात्रै सन् २०१४ लाग्नेछ । दोस्रो, हमालका दिदीहरु
केही समयअघि मात्रै नेपाल आएकाले पुनः अमेरिकाबाट आउन माघसम्म
पर्खनुपर्ने बाध्यता छ ।
त्यो फोटो मधुकै हो
सञ्चारमाध्यममा केही महिनादेखि एक तस्बिरलाई नायक राजेश हमालकै प्रेमिका
भन्दै सार्वजनिक गरिएको छ । तर, यो बिषयमा हमालले मुख खोलेका थिएनन् ।
तर, अनलाइनखबरसँग बिशेष कुरा गर्दै राजेशले बजारमा आएको तस्बीर मधुकै
भएको बताए । हमालले भने- 'तपाईले कुन तस्बीर हेर्नुभयो मलाई थाहा छैन, तर
बजारमा आएका केही तस्बीर मैले पनि हेरेको छु, जुन मधुको नै हो ।
कसरी हुँदैछ बिहेको तयारी ?
नायक राजेश हमाल बिहे कसरी गर्ने भन्नेमा अझै पनि दोधारमा नै छन् । तर,
उनका निकटस्थहरु भने हमाललाईविभिन्न खालका सुझाव दिइरहेका छन् । हमालनिकट
स्रोतका अनुसार, हेलिकोप्टर चार्टर गरेर राराताल या मुक्तिनाथ पुगेर उनको
बिहेको तयारी गर्न लागिएको छ । हमालले एकान्त ठाउँ रुचाउने भएकाले पनि
उनको परिवार काठमाण्डौ बाहिरको कुनै राम्रो स्थल रोज्ने तयारीमा छ । तर,
यो बिषयमा हमाल भन्छन्- 'काठमाण्डौ या मोफसल जहाँ गरे पनि आखिर नेपाल नै
हो नि, हैन र ?'
अनौठोतबरले बिहे गर्न खोजेका हमाल विवाहको पार्टी भने निक्कै भव्य दिने
योजनामा छन् । बिहेको दिन केही पत्रकार र आफन्तलाई हेलिकोप्टरमा राखेर
हमाल काठमाण्डौ बाहिर जाने तयारीमा छन् । चलचित्रकर्मी र आफूनिकटका
साथीहरुलाई भने पनि बिहेको केही दिनपश्चात काठमाण्डौमा भोज खुवाउने
बताइएको छ ।source onlinekhabar.com

No comments:

Post a Comment