Friday, June 21, 2013

दाहालद्धारा एक लाख क्षतिपूर्ति र हेलिकप्टर माग

काठमाडौ, असार ७ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आज मन्त्रिपरिषद्
अध्यक्ष खिलराज रेग्मीलाई भेटेर बाढीका कारण मृत्यु भएको परिवारलाई एक
लाख राहत उपलब्ध गराउन आग्रह गरेका छन् । रेग्मीसँगको भेटमा दाहालले बाढी
आउँनुको कारण पत्ता लगाउन पनि आग्रह गरे ।
भारतले धौलीगङ्गा जलविद्युत् आयोजनाको बाँधको ढोका खोलेका कारण
सुदुरपश्चिमका दार्चुलालगायतका जिल्लामा यस्तो समस्या आएको खबर सार्वजनिक
भएको थियो । दार्चुलाका स्थानीय राजनीतिक दलले यस्तो निश्कर्ष निकालेका
हुन् ।
दाहालले रेग्मीलाई भारतीय पक्षसँग कुरा गरेर सत्यतथ्य पत्ता लगाउँनसमेत
आग्रह गरेका छन् । दाहालले बाढी प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र
घोषणा गरी प्रभावकारी राहत वितरण गर्नुपर्ने बताएका थिए ।
सरकारले बाढीपहिरोग्रस्त क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी रु ५०
करोड छुट्ट्याएर राहत तथा पुनः निर्माणको कार्य सञ्चालन गर्ने निर्णय
गरेको छ ।
दाहालले दार्चुलासहित कालीकोट, कैलाली, कञ्चनपुरलगायतका जिल्ला समेत बाढी
प्रभावित भएकाले त्यस क्षेत्रको अवलोकन भ्रमणमा जान नेपाली सेनाको
हेलिकप्टर व्यबस्था गर्न रेग्मीसँग आग्रह गरेको बताइएको छ ।
त्यस्तै, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल नेतृत्वको टोलीले
पनि आजै अध्यक्ष रेग्मीलाई भेटेर बाढी प्रभावित क्षेत्रमा तत्काल राहत
उपलब्ध गराउन माग गरेका छन् ।

No comments:

Post a Comment