Sunday, August 5, 2012

छोरीकै घरअगाडि ‘दाइजो’ जलाउने तयारी

२१ साउन काभ्रे । ‘राति ११ बजेसम्म जेठानीको कोठामा बस्नुपर्ने रहेछ,’ कुशादेवी–४ दारिमबोटकीसीता भण्डारीकी माइतीले प्रहरीमा दिएको उजुरीमाभनिएको छ, ‘पतिको कोठामा सुत्न जाने समय पनि उनैले निर्धारण गर्ने रहिछन् । देवरलाई पनि उनैले निर्देशन दिएर कोठामा पठाउने गर्दिरहिछन् । त्यसैले छोरीको हत्या भएको हाम्रो निष्कर्ष छ ।’
२४ माघ ०६६ मा दारिमबोटका रोशन थापासँग विवाह गरेका भण्डारीको शव २ असारमा धुलिखेलस्थित शान्ति वनमा फेला परेको थियो । उनी ३० जेठ ०६९ बाट हराइरहेकी थिइन् । शव पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण खुल्न नसकेपछि भण्डारीका आफन्तलेहत्या भएको ठहर गर्दै किटानी उजुरी दर्ता गरेका हुन् । छोरीको हत्या भएको भन्दै उनीहरूले कारबाहीको माग गरेका हुन् । आजको शौर्य दैनिकले समाचार छापेको छ ।
भण्डारीमाथि पारिवारिक ज्यादती थियो । कम दाइजो ल्याएको, उमावि पढ्दा अरू केटासँग सम्बन्ध रहेको आरोप उनले घरमा खेप्दै आइरहेकी थिइन् । पति रोशन ठमेलमा पस्मिनाको पसल सञ्चालक थिए । घरमा आएका बखत भाउजू रमा थापाको कुरा सुनेर पत्नीमाथि कुटपिट हुने गरेको माइती पक्षले बताएका छन् । ज्वरोले थलिएर खेतीपातीमा निस्कन नसक्ने अवस्थामा पुगेका बेला सासू दिलकुमारीलाई मेलापात पठाएको भन्दै रोशनले ३० जेठमा पत्नीलाई कुटपिट गरेपछि उनी हराइरहेकी थिइन् ।
जेठ २९ गते बिदाको समय परेकाले भण्डारी कुशादेवीकै मेडिकलमा जचाउन पुगेकी थिइन् । मेडिकलमा दुईवटा स्लाइन दिएपछि हिँड्न सक्ने भएकी उनलाई ७ सय ६५ रुपियाँको औषधि दिइएको थियो । उनीसँग पाँच सय रुपियाँ मात्र थियो । ३० गते दिउँसो मेडिकलमा तिर्नुपर्ने बाँकी रकम उनले तिरिदिइन् । ३० गते दिउँसो कुशादेवीमै देखिएकी भण्डारीको शव एकाएक धुलिखेलको शान्ति वनमा भेटिएपछि आफन्तले परिवारका सबै सदस्यलाई शंकाकोघेरामा राखेका हुन् । भण्डारी हराएको खबर पति रोशनले गरेका थिए । तर, खोज्ने चासो नदेखाएको माइती पक्षको आरोप छ ।
भण्डारीले आत्महत्या गरेको स्थान भिरालो छ । विष सेवन गरेर मर्न खोजेको व्यक्ति केहीबेर छट्पटाउँदा तल खस्छ । तर, उनको शव रूखको कापमा अड्किएको अवस्थामा फेला परेको थियो । उनीसँगै एउटा च्यातिएको फोटाका टुक्रा र एउटा आफ्नै तस्बिर पनि भेटिएको थियो । छेउमा केरा, समोसा र पानीको बोतल पनि फेला परेको थियो । कानको पछाडि चोट छ । शरीरमा नीलडाम छ । खुट्टामा आलो रगत छ । छेउमा विषको सिसी छ । तत्कालीन अवस्थामा उनको साथमा भएकै १४ महिने छोरी घरमै छ । माइती पक्षको निष्कर्ष परिवारका सदस्यले कसैलाई मार्न लगाएर त्यहाँ पुर्‍याई आत्महत्याजस्तो नाटक गराएको भन्ने छ । त्यही भएर उनीहरू प्रहरीमा पुगेका छन् ।
कुशादेवीमा दिउँसो भएकी भण्डारी एक्कासि कसरी, कहिले र कुन अवस्थाबाट धुलिखेलको जंगलमा पुग्न सकिन् ? माइती पक्षले मेडिकलबाट घर जान नसक्ने अवस्थाकी बिरामी त्यहाँ गएर आत्महत्या गर्न सक्ने कुरा पत्याएका छैनन् । आत्महत्या नै गर्नुपर्ने भए घरवरिपरि भएको जंगल किन रोजिनन् छोरीले ? उनी हिँडेको वा बस चढेर गएको कसैले नदेखेकाले पनि हत्याको आशंका माइती पक्षले गरेका हुन् ।
धुलिखेल जाने भए भण्डारीले नजिकै रहेको दिदीको घरमा पनि केही बताउँथिन् । बेपत्ता आफँ नभएर बनाएको आशंका, आत्महत्या नभई हत्याको शंकामा माइती पक्षका ७८ महिलाले दिएको जाहेरीमा भण्डारीकी पति रोशन, सासू दिलकुमारी, ससुरा धर्मबहादुर, जेठाजु राजेन्द्र, जेठानी रमाको मिलेमतोमा मारिएको उल्लेख छ । प्रहरीले सुरुमा उजुरी लिन नमानेपछि राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय सूचना आयोग, गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी प्रधान कार्यालय, वाग्मती अञ्चल प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय काभ्रे र महिला आयोगलाई बोधार्थ दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले माइती पक्षको दबाबपछि उजुरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ । भण्डारीका पति रोशनलाई दुई साताअघि पक्राउ गरेर हिरासतमा राखिएको छ । च्यातिएको तस्बिरमा संलग्न व्यक्तिलाई बोलाएर बयान लिने काम भइरहेको प्रहरीले बताएको छ । तर, भण्डारीका आफन्तले प्रहरीको अनुसन्धान फितलो भएको आरोप लगाएका छन् । रिपोर्टमा मृत्युको कारण नखुलेपछि प्रहरीले कुन कारण मृत्यु भएको हो भन्दै शिक्षण अस्पतालमा पत्र पठाएको छ ।
माइती पक्ष आफ्नै छोरी नभएपछि दिएको दाइजोको के अर्थ भन्दै शुक्रबार फिर्ता लिन कुशादेवी पुगेका थिए । विवाहमा दिएको सिक्री, औँठी, तिलहरी, गाग्री, करुवा, ग्यास चुलो, दराज, सोफा, पलङ, लत्ताकपडा सबैको लिस्ट तयार गरेर कुशादेवी प्रहरी चौकीमा दिएका छन् । उनीहरूको तयारी सुन १७महिने छोरीको नाममा राखिदिएर बाँकी सबै सामान छोरीकै घरअगाडि जलाउने तयारी गरेका छन् । प्रहरीले दुवै पक्षको झडप हुने सम्भावना देखेर शुक्रबार दाइजो डढाउने तयारी पूरा हुन रोकेको थियो । माइती पक्षका सरिताका अनुसार कुनै पनि दिनभण्डारीका नामको दाइजो डढाउने तयारी छ । ‘बहिनी अनाहकमा जल्नुपरेपछि उनको नामको दाइजो उसकै घरअगाडि जलाउन केको आपत्ति,’ सरिताले भनिन् ।
कुशादेवी गाविस पछिल्लो समयमा महिला हिंसामा अग्रपंक्तिमा छ । बहुविवाह, दाइजो, पतिको हत्या, अनैतिक सम्बन्धका घटनाको संख्या दिनानुदिन बढ्दै गएको छ ।

No comments:

Post a Comment