काठमाडौ, जेष्ठ १४ - पार्टी सुदृढीकरण अभियानअन्तर्गत जेठ ६ को साँझ
रुकुमको सदरमुकाम मुसिकोट पुगेँ । कांग्रेसले कार्यक्रम गर्न नसकेका कतै
१६ त कतै १८ वर्ष भइसकेका गाउँहरूमा पुगियो । त्यहाँको आश्चर्यजनक
सहभागिता उत्साहजनक थियो । भाषण सुनेपछि त्यही मञ्चमा प्रवेशको लहर
चल्थ्यो, प्रायः सबै गाउँमा । प्रवेश गर्नेमा एकाध स्वतन्त्रबाहेक सबै
एमाओवादी समर्थक थिए ।म थुप्रै गाउँ जाने गरेको छु । द्वन्द्वको समयमा
प्रायः गाउँमा दुवैको क्षति भएको पाइन्छ । रुकुमले मलाई यसपाला भावविह्वल
बनायो । माओवादी 'जनयुद्ध' सुरु हुनुअघि २०५१ मा गणेश शाह मारिएका थिए ।
त्यसअघि पार्टी प्रवेशका लागि दबाब दिन एक जना हाम्रा समर्थक दलित
कार्यकर्ताको खुट्टा काटिएको थियो । यो कार्यक्रममा आउने कसैको एउटा हात
छैन, कसैको खुट्टा छैन । कसैले श्रीमान्, कसैले श्रीमती गुमाएको
कार्यकर्ता हामीसँग थिए । केही न केही नगुमाएका कार्यकर्ता विरलै थिए ।
तीन महिनाअघि टुली गाविसका पार्टी सभापति कविराम खत्री मारिएको घटनाले
द्वन्द्व सुरु हुनु अघिदेखिको आतंक अझै जारी रहेको देखाउँछ । त्यसो त,
रुकुममा द्वन्द्वका बेला माओवादीले पनि धेरै क्षति बेहोरेको छ । अघिल्लो
संविधानसभा चुनावमा रुकुममा कांग्रेसलाई अवरोध गरिएको थियो । यसपाला
गरैला बेलटापुमा अन्तिम कार्यक्रम थियो । त्यसमाउल्लेख्य रूपमै एमाओवादी
कार्यकर्ता, समर्थक, लडाकु, वाईसीएल कांगेस प्रवेश गर्ने सूचना रहेछ ।
त्यही भएर कार्यक्रमको एक दिनअघि नै वाईसीएलले त्यही ठाउँमा मार्चपास गरे
। संविधान विरोधीलाई प्रवेश गर्न नदिने भन्दै मार्चपासको सूचना स्थानीय
रेडियोमा आइरह्यो । जिल्ला नेताहरू पनि त्यही सक्रिय भए । त्यसैले होला,
अघिल्लो कार्यक्रममा नभए पनि त्यहाँ इन्स्पेक्टरको कमान्डमा सुरक्षा थियो
। सभा पनि अत्यन्त ठूलो भयो, यसअघिका सबै जोडेजति । मान्छे रोएका छन्,
थप्पडी बजाएका छन् । पीडा र उत्साह दुवै देखिन्थ्यो । कार्यक्रमस्थल नजिक
चौतारीमा माओवादीका कार्यकर्ता बसेका थिए । हाम्रोजुलुस आयो । साथीहरू
बोले । अलिअलि हुटिङ भयो । कालो झन्डा वा सानातिना विरोध स्वाभाविक थियो
। मेरो पालो आयो । १ घन्टा १० मिनेट बोलेँ । त्यसपछि सुरु भयो पार्टी
प्रवेश । उद्घोषकले नाम पढ्दै थिए । म माला लगाउँदै स्वागत गर्न थालेँ ।
१०/१२ जनाको नाम भनेपछि एकजनाले गेटको झन्डा तानेर घिसार्दै लग्यो ।
हाम्रा कार्यकर्ताले झन्डा खोसे । त्यसपछि उनीहरू एक्कासि ढुंगा हान्न
थाले । त्यतिबेला माओवादी समर्थकको ठूलो संख्या डाँडामा चढिसकेको रहेछ ।
एकैपल्ट माथिबाट ढुंगा बर्साउन थालियो । भागाभाग मच्चियो । उनीहरू केही
अघि बढ्न खोज्दा हाम्रा साथीहरूले प्रतिरोध मात्र गरे । तर अचम्मको कुरा
फिल्डका प्रहरी मूकदर्शक भयो । नहान्नुस् भन्नेमात्र भयो । लाठी लिएर
बस्नेलाई प्रहरीले पक्राउ गर्नुपर्ने होइन ? प्रहरीको डर नै भएन
उनीहरूलाई । कार्यकर्तालाई संयमित हुन भन्यौं । थप घटना हुन दिएनौं ।
संयमित भएर फर्कदै थियौं । केही अगाडि पुगेपछि प्रहरीले असुरक्षित हुन्छ
भन्दै मलाई गाडीमा बस्न आग्रह गरे । अतिरिक्त सुरक्षा मागेका थिएनौं ।
ढुंगा हान्नेहरूलाई नियन्त्रण गर्नुपथ्र्यो । त्यो नगर्ने प्रहरीको
विश्वास भएन । त्यसैले जान मानेनौं । हामी पर पुगेर आफ्नैगाडी चढ्यौं ।
हासिवाङ भन्ने ठाउँमा पुगेपछि डाँडामाथिबाट गाडीमा ढुंगा प्रहार भयो ।
भाग्यवश छतमा बस्ने ७/८ जनामध्ये कसैलाई लागेन । उहाँहरू हाम फालेर गाडी
चढे । चालकले जोडले गाडी हुँइक्याएकाले हामी जोगियौं । संगठित हिंसा
प्रयोग गर्दै आएको एमाओवादीले अझै त्यो छोडेको छैन भन्ने यसले देखाउँछ ।
अस्ति भर्खर प्रचण्डले सल्यानको बफुखोला भन्ने ठाउँमा प्रशिक्षण दिएका
थिए, जुन नजिकै पर्छ त्यहाँबाट । म गएको बसैलाई थाहा छ । त्यसैले अकस्मात
भएको घटना होइन यो, योजनाबद्ध थियो । भोलिका दिनमा आफ्नो ठाउँका
प्रतिस्पर्धी दलहरूसँग यसैगरी व्यवहार गर्नुपर्छ भनेर एमाओवादी अध्यक्ष
प्रचण्डले प्रशिक्षण दिएको संकेत यसले गर्दैन ? अर्को कुरा, दुई तिहाइ
बहुमत आउने दाबी छ एमाओवादीको । पहिला राप्ती पूरै जितेको हो । जनआधार
त्यस्तै हो भने मैले गएर १० वटै आमसभा गरे पनि, ५ सय कार्यकर्ता कांगे्रस
प्रवेश गरे पनि किन डराउनु ? रोक्नुपर्ने थिएन । यो अत्ताल्लिएको र
हतोत्साही भएको उदाहरण पनि हो । रुकुममा कांग्रेस भएर वा माओवादीको
समर्थक नभएर पनि बाँच्न पाउने, बोल्न पाउने अधिकार संविधानले दिएको छ ।
युद्धको कालमा त हनन भयो भयो, तर अहिले पनि यसलाई सामान्य रूपमा लिनु
हुँदैन । तर यो सबका बीच पनि म उत्साही छु । यहाँ माओवादी छ, धेरै योद्धा
उत्पादन गर्यो भनेर पनि हेरियो ।लोकतन्त्रवादी भएबापत मान्छेले
त्यतिबेला गुमाउनु पथ्र्यो । काठमाडौंमा के गुमेको छ र ? तैपनि हजारौंको
संख्यामा मान्छे कांग्रेस भएर बसिरहेका छन् । स्वतन्त्रताप्रति आस्था छ ।
कांग्रेस भएर न पेन्सन पाउँछ, न तक्मा पाउँछ, बरु कांग्रेस भएबापत जीवन,
सम्पत्ति वा केही न केही गुमाउनुपर्छ अझै पनि त्यहाँ । विपन्न छन् ।
त्यस्तो सन्त्रासमा पनि अडिग भएर बस्नुको एकमात्र कारण लोकतन्त्रप्रतिको
विश्वास र भरोसा नै हो । मेरो प्रेरणा यही हो । अझ महत्त्वपूर्ण कुरा यो
घटनाले निर्वाचन निष्पक्ष हुन्छ वा हुँदैन भन्नेमा ठूलो प्रश्नखडा भएको छ
। यो एमाओवादीले कांग्रेसको कार्यक्रम बिथोलेको मात्र होइन । म ढुंगा
बोकेर लड्न गएको थिइनँ । हरेक नागरिकलाई शान्तिपूर्वक देशको हरेक कुनामा
पुग्ने अधिकार छ । सवाल कांग्रेसको मात्र होइन, त्यसैले यो आक्रमण गलत
थियो, आपराधिक थियो र असंवैधानिक थियो भनेर हरेक लोकतन्त्रवादीले आवाज
उठाउनुपर्छ । मसँग जो पनि असहमत हुन सक्छ, तर असहमतिको जवाफ त्यस्तो होइन
। त्यसैलेयो अपराध थियो, झडप होइन । (कुराकानीमा आधारित)
प्रकाशित मिति: २०७० जेष्ठ १४ ०९:३८ source ekantipur.com
No comments:
Post a Comment