Monday, March 18, 2013

ट्याक्टर दुर्घटनामा एसएलसी दिएर फर्कंदै गरेका ३१ विद्यार्थी घाइते, एकको मृत्यु

सल्यान, चैत ५ - सल्यान सदरमुकाम खलङ्गादेखि श्रीनगरतर्फ जाँदै गरेको
ट्याक्टर सल्यान अस्पताल नजिकैको सडक खण्डमा आज बिहान दुर्घटना हुँदा एक
छात्राको घटनास्थलमै मृत्यु भएको छ भने अरु ३१ विद्यार्थी घाइते भएका
छन्।
एसएलसी परीक्षा दिएर फर्किरहेका ती विद्यार्थीमध्ये ६ जनाको अवस्था
गम्भीर छ। रा१च १९७ नम्बरको ट्याक्टर सदरमुकाम खलङ्गानजिकै रहेको
त्रिभुवन जनता माध्यमिक विद्यालयबाट परीक्षार्थीलाई लिई हिँडेको २०
मिनेटमै दुर्घटनामापरेको थियो।
दुर्घटनामा परी एसएलसी परीक्षा सकेर घर फर्कंदै गरेकी खलङ्गा- १ काफ्लाकी
१९ वर्षीय मीना योगीको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका कजेरी गाविसका सौगात डिसी, खलङ्गा
गाविसका शिव रेउले, टेकराज कुमाई, स्यानीखाल गाविसका सुशील थापा,
ताराप्रकाश डाँगी, पारस गिरी, रमेश बुढाथोकी र वीरेन्द्र बुढाथोकीलाई थप
उपचारका लागि जिल्ला बाहिर लगिएको छ। बाँकीको सल्यान जिल्ला अस्पतालमा
उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
स्थानीयवासीले दिएको जानकारीअनुसार खलङ्गाबाट हिँडेको ट्याक्टर परीक्षा
चलिरहेको विद्यालय प्राङ्णमा पुगी परीक्षार्थीलाई बोकेर श्रीनगरतर्फ
लागेको थियो।
ट्याक्टरको ट्रलीमा करिब ४० जना विद्यार्थी रहेको र अत्यधिक गतिका कारण
दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्। ट्याक्टरको एक्सेल
भाँच्चिएपछि ट्रली एक्कासी घोप्टो परेको थियो। रासस

No comments:

Post a Comment