Wednesday, August 29, 2012

प्रत्येक दुर्इ घन्टामा एकको आत्महत्या !

१३ भदौ, काठमाण्डौं । पत्याउन गाह्रो हुन्छ तर नेपालमा प्रत्येक दुई घन्टामा एकजनाले आत्महत्या गर्ने तथ्य भेटिएको छ । प्रहरीका अनुसार पछिल्लो एक वर्षमा मात्रै तीन हजार नौ सय ७७ जनाले आत्महत्या गरेका छन् । प्रत्येक वर्ष आत्महत्या गर्नेको संख्या बढिरहेको छ ।
मध्यपुर ठिमी–१७ की ५० वर्षीया चित्रकुमारी धिताल सोमबार घरको ढोकामा झुन्डिरहेको अवस्थामा भेटिइन् । सोमबार नै कञ्चनपुर भीमदत्त नगरपालिका–१८ गोबरिया बस्ने २० वर्षीया सरिता रैखोलाले पनि कोठाको सिलिङमा झुन्डिइन् । आइतबार रौतहट औरैया–७ की २५ वर्षीया उषादेवी साह र धनुषाको धनुषाधाम–७ का ३५ वर्षीया रामपृत यादव पनि मृत अवस्थामा फेला परे । प्रहरीको अनुसन्धानपछि दुवैजनाले आत्महत्या गरेको खुलेको सौर्य दैनिकमा खबर छ ।
यी त भए फाट्टफुट्ट समाचारमा आउने घटना । तर, अधिकांश आत्महत्याका घटना समाचार पनिबन्दैनन् । प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०६८/६९ मा मात्रै मुलुकभर तीन हजार नौ सय ७७ जनाले आत्महत्या गरेका थिए । यो संख्या अघिल्लो वर्षको तुलनामा दुई सय ७८ ले धेरै हो ।यही तथ्यांकलाई आधार मान्दा प्रत्येक दिन औसत ११ जनाले आत्महत्या गरेको देखिन्छ । अघिल्लो वर्ष आत्महत्या गर्नेको संख्या मुलुकभर तीन हजार ६ सय ९९ थियो । प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०६६/६७ मा तीन हजार तीन सय नौ र आर्थिक वर्ष ०६५/६६ मा तीन हजार ६० ले आत्महत्या गरेका थिए ।
झुन्डिएर आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै रहेको पाइएको छ । प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार चार वर्षमा मुलुकभर आठ हजार एक सय ६७ ले झुन्डिएर आत्महत्या गरे । दोस्रोमा विष खाएर आत्महत्यागर्नेको संख्या धेरै देखिन्छ। गएको चार वर्षको अवधिमा पाँच हजार दुई सय ३९ ले बिषसेवन गरी आत्महत्या गरेकाथिए । आत्महत्या गर्नेहरूले अपनाउने अन्य तरिकामध्ये शरीरमा आगो लगाउने, भीरबाट हाम फाल्ने, करेन्ट लगाउने, हतियार प्रयोग गर्ने, खोलामा हाम फाल्ने प्रमुख हुन् । सबैगरी गएको चार वर्षमै मुलुकभर १४ हजार ४५ ले आत्महत्या गरेका छन् । यो संख्या १० वर्षे माओवादी जनयुद्धमा ज्यान गुमाउनेहरूको संख्याभन्दा धेरै छ । १० वर्षे जनयुद्धमा दुवैतर्फ गरी १३ हजारले ज्यान गुमाएका थिए ।
प्रहरीको तथ्यांकअनुसार काठमाडौं जिल्लामा गत वर्ष दुई सय ५३ ले आत्महत्या गरे । यसैलाई आधार मान्दा काठमाडौंमा मात्रै प्रत्येक ३६ घन्टामा एकजनाले आत्महत्या गर्छन् । महानगरीयप्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी जयबहादुर चन्दका अनुसार आत्महत्या गर्नेमा पुरुषभन्दा महिला धेरै छन् । त्यसमध्ये पनि अधिकांश १५ देखि २५ वर्ष उमेरसमूहका युवायुवती धरै रहेको एसएसपी चन्दको भनाइ छ ।
डिआईजी विनोद सिंहका अनुसार आत्महत्या गर्ने मुख्य कारण गरिबी हो । उनले भने, ‘मुलुकमा बेरोजगारी बढ्ने क्रममा छ, धनी र गरिबबीचको खाडल अप्रत्यासित रूपमा बढेको छ, सामाजिक संरचना भत्किँदै बन्दै गएको छ र आत्महत्या गर्ने धेरैमध्ये यिनै मुख्य कारण हुन् ।’ यसबाहेक असफलता, दीर्घरोग, तनाव, भौगोलिक वातावरण, मौसमले पनि मानिसलाई आत्महत्या गर्न प्रेरित गर्ने डिआइजी सिंहलेबताए । अन्य महिनामा भन्दा चैत महिनामा आत्महत्या गर्नेको संख्या धेरै हुने गरेको उनको भनाइ छ ।

No comments:

Post a Comment