Tuesday, December 18, 2012

‘मरे’ भनिएका ३९ सय मान्छे जिउँदै !

३ पुस, काठमाडौं । कस्तो अचम्म ! नेपाल सरकारले बेपत्ता भएका र मरिसकेका
व्यक्तिहरुको सूचिमा राखेका ३ हजार ९ सय मानिस जिउँदै फेला परेका छन्
।शान्ति मन्त्रालयअन्तर्गतको 'द्वन्द्व प्रभावित व्यक्ति परिवार तथा
संरचनाको लगत संकलन कार्यदल'ले तयार पारेको प्रतिवेदनमा मृतक एवं बेपत्ता
भनिएका ३ हजार ९ सय व्यक्तिहरु जीवितै रहेको पुष्टि भएपछि शान्ति
मन्त्रालयले धेरै वर्ष लगाएर तयार पारेको द्वन्द्वपीडितहरुको प्रतिवेदन
झुठको पुलिन्दामा परिणत भएको छ ।सशस्त्र द्वन्द्वका क्रममा प्रभावित
भएकाहरुको विवरण संकलन गर्ने जिम्मा पाएको कार्यदलको प्रतिवेदनमा समावेश
गरिएको विवरण झुठो प्रमाणित भएपछि शान्ति मन्त्रालयले यसलाई तुरुन्त
सच्याउन निर्देशन दिएको छ । 'कार्यदलको प्रतिवेदनमा समावेश विवरण गलत
पाइएपछि सच्याउन निर्देशन दिएका छौं,' -मन्त्रालयका उपसचिव प्रेमप्रसाद
सञ्जेलले भन्नुभयो ।
मृतक र वेपत्ता भनेर समावेशगरिएका व्यक्तिका परिवारका सदस्य लामो समयसम्म
पनि राहत लिन सम्पर्कमा नआएपछि मन्त्रालयले तथ्य पत्ता लगाउन विभिन्न
जिल्लामा अनुगमन गरेको थियो । अनुगमनका क्रममा प्रतिवेदनमा जिउँदा
मानिसको नाम पनि मृतक भनी समावेश भएको पाइएको सञ्जेलले बताउनुभयो । साथै
प्रतिवेदनमा अधिकांश व्यक्तिको नाम दोहोरो र तेहोरो रहेको उहाँले
बताउनुभएको छ ।सरकारले सम्वन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् मृतक र
वेपत्ता परिवारका सदस्यलाई प्रतिपरिवार तीन लाख रुपैयाँसम्म राहत वितरण
गर्दै आएको छ ।
'प्रतिवेदन सच्याउने काम जारी'
मन्त्रालयको निर्देशनपछि कार्यदलले आफ्नो प्रतिवेदन सच्याउन सुरु गरेको छ
। सम्वन्धित जिल्लाप्रशासन कार्यालयमा पत्र पठाएर वा टेलीफोनमार्फत्
जानकारी लिएर विवरण सच्चाउन सुरु गरिएको द्वन्द्व प्रभावित व्यक्ति
परिवार तथा संरचनाको लगत संकलन कार्यदलका सदस्यसचिव ध्रुव गैंडाले
जानकारी दिनुभयो ।'जिल्ला प्रशासन कार्यालयकै सिफारिसअनुसारप्रतिवेदनमा
नाम समावेश गरेका हौं,' सदस्य सचिव गैंडाले भन्नुभयो, 'सिफारिसभएर
आएकामध्ये केही विवरण गलत पाइएकाले सच्याउने काम भैरहेको छ ।' कार्यदलबाट
माग भएअनुसार जिल्ला प्रशासन कार्यालय रोल्पाले मात्रै ६२ जनाको गलत
विवरण हटाउन भन्दै पत्रपठाएको छ ।
कार्यदलले सशस्त्र युद्ध सुरु भएको २०५२ फागुन १ देखि शान्ति सम्झौता
भएको अवधि २०६३ मंसिर ५ गतेभित्रका घटनालाई द्वन्द्वको अवधि मानेर २०६४
देखि तथ्याङ्क संकलन गर्दै आएको छ । कार्यदलले मृतक, वेपत्ता, टुहुरा,
अपाङ्ग, घाइते, सम्पत्तिक्षति, अपहरण, कैद हिरासत र विस्थापित गरी ९
शीर्षकमा विवरण संकलन गर्दछ ।

No comments:

Post a Comment